ग्रामीण भेगमा डेरी उद्योग फस्टाउँदै

अर्घाखाँचीको ग्रामीण भेगमा धमाधम डेरी उद्योग स्थापना हुन थालेका छन् । जिल्लामा दर्जनौं दूध संकलन गर्ने डेरी सञ्चालनमा आएका हुन् । सञ्चालित डेरीबाट दैनिक सयौं लिटर दूध बिक्री हुने गरेको छ ।
पाणिनी गाउँपालिका–५ मैदानको नेटामा रहेको सफल दुग्ध डेरीले गतवर्षको ११ महिनामा ५६ लाख २२ हजार ३ सय रूपैयाँको दूध बिक्री गरेको छ । ९४ हजार ९ सय ५ लिटर दूध संकलन गरेको डेरीले विजुली बत्ती नियमित नआउँदा १२ सय ५ लिटर दूध नष्ट ग¥यो । ग्रामीण भेगमा विद्युत्को समस्याका कारण दूध बिग्रिएर पोख्नु परेको सफल दूध संकलन केन्द्रका अध्यक्ष देवीलाल न्यौपानेले बताए ।
“प्रतिलिटर ६० रूपैयाँमा निगालीमा रहेको देउराली छुर्पी उद्योगलाई दूध बिक्री गरेका छौं,” न्यौपानेले भने, “वर्खामा पनि पहिरो गएका कारण यातायातको समस्या भयो, मोटरसाइकलमै बोकेर दूध बिक्री गर्ने प्रयत्न गरेका छौं ।” कृषकले दूध बिक्री गरेर ५० लाख ९९ हजार ३ सय ९२ रूपैयाँ पाएका छन् । गाडी ढुवानी खर्च, कर्मचारीलाई तलव, कार्यालय सञ्चालन खर्च गरी ९८ हजार २ सय ३२ रूपैयाँ डेरीले बचत गरेको छ । पाणिनी गाउँपालिकाको पुरानो डेरी मध्येको सफल डेरीले विगत २ वर्षदेखि पुनः सञ्चालनमा आएको हो । डेरीमा दूध बिक्री हुन लागेपछि कृषकहरू पशुपालनमा प्रेरित भई दूध बिक्रीबाट राम्रो आम्दानी गर्दै आएका छन् ।
डेरीको वार्षिक साधारणसभामा प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य रामजी घिमिरेले ५ नम्बर प्रदेश समृद्धिको आधार पशुपालन र कृषि मात्रै रहेको बताएका छन्् । सफल दूध संकलन समूह पाणिनी गाउँपालिका–५ मैदान नेटाको दोस्रो वार्षिक साधारणसभाको उद्घाटन गर्दै घिमिरेले प्रदेश सरकारले कृषि र पशुपालन केन्द्रीत कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए । उनले प्रदेशका जनतालाई सुखि र समृद्ध बनाउन कृषि र पशुपालनका कार्यक्रम प्रदेश सरकारले अगाडि बढाएको बताए । पाणिनी गाउँपालिकाको विकासका लागि कृषि र पशुपालननै मुख्य आधार रहेको भन्दै प्रदेशबाट लाखौं रूपैयाँ कृषि र पशुपालनमा छुट्याएको बताए ।
पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले गाउँपालिका दूधमा आत्मनिर्भर बनेको बताइन । उनले उत्पादनका आधारमा गतवर्ष प्रतिलिटर २ रूपैयाँ दूधमा अनुदान दिइको बताइन् । गाउँपालिकामा करिब दर्जन दूध डेरी सञ्चालन छन् । गाउँपालिकाभित्र उत्पादन भएको दूध पाल्पा, बुटबल, सन्धिखर्कलगायतका ठाउँमा बिक्री भएको उनले बताइन् ।