सिन्धुपाल्चोकमा पुनर्निर्माणका लागि डेढ अर्ब «

सिन्धुपाल्चोकमा पुनर्निर्माणका लागि डेढ अर्ब

प्राप्त बजेटमध्ये नेपाल सरकारको स्रोतबाट ५८ करोड ६६ लाख र वैदेशिक सहायताबाट ८८ करोड ५५ लाख रुपैयाँ छ ।

सिन्धुपाल्चोक-भूकम्पले सर्वाधिक क्षति पु-याएको सिन्धुपाल्चोकमा पुनर्निर्माणका लागि करिब डेढ अर्ब बजेट छुट्याइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चालू आर्थिक वर्षका लागि जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जिमाली)लाई १ अर्ब ४७ करोड रुपैयाँ बजेट पठाएको हो ।
प्राधिकरणले पठाएको बजेट जिमालीले भूकम्पपीडितका निजी आवास, विभिन्न सम्पदा निर्माणका साथै घडेरी व्यवस्थापनमा खर्चिनेछ । सिन्धुपाल्चोकका लागि प्राधिकरण पठाएको बजेट नेपाल सरकारको स्रोत, वैदेशिक सहयोगबाट जुटाइएको सहयोगबाट प्राप्त भएको जिमालीले जनाएको छ । चालू आर्थिक वर्षका लागि यो नै अन्तिम बजेट भने होइन ।
“पुनर्निर्माणका लागि चालू आर्थिक वर्षमा जिल्लाका लागि छुट्याइएको बजेट आवश्यक परेको खण्डमा थप निकासा पनि आउँछ,” आयोजना व्यवस्थापक लक्ष्मणकुमार सेठले भने । प्राप्त बजेटमध्ये नेपाल सरकारको स्रोतबाट ५८ करोड ६६ लाख र वैदेशिक सहायताबाट ८८ करोड ५५ लाख रुपैयाँ छ । सेठका अनुसार वैदेशिक सहायतातर्र्फ विभिन्न दातृ मुलुक तथा निकायबाट ५१ करोड ५५ लाख र भारतको एजिएम बैंकबाट ३७ करोड रुपैयाँ ऋण सहयोग जुटाइएको छ ।
प्राधिकरणले पठाएको बजेटमध्ये जिमाली सिन्धुपाल्चोकले भूकम्पले ढालेका निजी आवासमा सबैभन्दा बढी खर्चनेछ । भूकम्पपछि सिन्धुपाल्चोकमा हालसम्म ८२ प्रतिशत आवास निर्माण भइसकेको तथ्यांक छ । थप आवास निर्माणका लागि अहिलेको बजेटबाट एक अर्ब भन्दा बढी रुपैयाँ छुट्याइएको आयोजना व्यवस्थापक सेठले जानकारी दिए । उनकाअनुसार जिल्लामा अब १६ हजारको हाराहारीमा निजी आवास निर्माण बाँकी छ ।
समयमै अनुदान सम्झौता नगरेका तथा पहिलो किस्तासमेत नलिएका लाभग्राहीको नाम कटौतीपछि अहिले जिल्लामा लाभग्राहीको संख्या साढे ८५ हजारमा झरेको छ । प्राधिकरणले २ हजार ६ सयको नाम लाभग्राहीको सूचीबाट हटाएको थियो । आफूहरू लाभग्राहीबाट छुटेको भन्दै सिन्धुपाल्चोकमा साढे १८ हजारले गुनासो भरेका छन् । गुनासोकर्ताका क्षतिग्रस्त संरचना पुनः सर्वे र छुट सर्वे भए पनि अन्तिम सूची नआएकाले यसबाट लाभग्राहीको संख्या बढ्ने जिमालीले जनाएको छ ।
प्राप्त बजेटमध्ये भूकम्पपीडितका आवास पुनर्निर्माणका लागि अनुदानपछि सम्पदा पुनर्निर्माणलाई दोस्रो प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ । त्यसका लागि ४२ करोड ५३ लाख रुपैयाँ छुट्याइएको हो । यो बजेट १ सय ९० गुम्बा पुनर्निर्माण तथा मर्मत, सम्भारका खर्चिइने छ । त्यस्तै भूकम्पपीडितका लागि घडेरी व्यवस्थापनअन्तर्गत मुआब्जाका लागि १८ लाख रुपैयाँ छुट्याइएको सेठले बताए ।

किशोर बुढाथोकी

प्रतिक्रिया दिनुहोस्