भीमदत्त, वेदकोट र पुनर्वास नगरपालिकाले ल्याए बजेट

कञ्चनपुरको भीमदत्त नगरपालिकाको १३औं नगरसभाले आर्थिक वर्ष २०८०/०८१ का लागि एक अर्ब ८१ करोड बराबरको बजेट सार्वजनिक गरेको छ । नगरसभा सदस्य भीमदत्त नगरपालिका–६ का नगर प्रवक्ता महेन्द्र खड्काले उक्त बजेट सार्वजनिक गरेका हुन् ।
नगर प्रवक्ता खड्काले सार्वजनिक गरेको बजेटको स्रोतअन्तर्गत आन्तरिक स्रोतबाट २६ करोड ५८ लाख, वित्तीय समानीकरण अनुदान संघीय सरकारबाट २३ करोड ७१ लाख, वित्तिय समानीकरण अनुदान प्रदेश सरकारबाट दुई करोड २२ लाख ४३ हजार, संघीय सरकारबाट सशर्त अनुदान ५२ करोड ८५ लाख, संघीय सरकारबाट राजस्व बाँडफाँटको १७ करोड एक लाख ९२ हजार र प्रदेश सरकारबाट राजस्व बाँडफाँटको ८४ लाख प्राप्त हुने अनुमान गरेका छन् ।
त्यसैगरी समपूरक अनुदान संघीय सरकारबाट १ करोड ६५ लाख, समपूरक अनुदान प्रदेश सरकारबाट एक करोड १४ लाख, विशेष अनुदान संघीय सरकारबाट ५० लाख, विशेष अनुदान प्रदेश सरकारबाट ५० लाख, सडक बोर्ड नेपालबाट ८० लाख, सामाजिक सुरक्षातर्फ ५० करोड र अन्तरसरकारी अख्तियारीबाट तीन करोड पाँच लाख बजेट रहने नगर प्रवक्ता खड्काले बताए ।
नगरपालिकाको आर्थिक वर्ष ०७९/०८० को नीति कार्यक्रम तथा बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, विपद् व्यवस्थापन, सिँचाइ व्यवस्थापन, स्वच्छ खानेपानी, वातावरण सरसफाइ, सडक, पुल तथा यातायात, भूमि व्यवस्थापन, सूचना प्रविधि तथा सञ्चारलाई बढी प्राथमिकता दिइएको छ ।
बेदकोट नगरपालिकाको बजेट ९२ करोड
त्यसैगरी कञ्चनपुरको बेदकोट नगरपालिकाले पनि १३औँ नगरसभामा आर्थिक वर्ष २०८०/०८१ का लागि ९२ करोड २० लाख बजेट सार्वजनिक गरेको छ । वेदकोट नगरपालिकाका मेयर भोजराज बोहराको सभाध्यक्षमा सञ्चालन गरिएको नगरपालिकाको १३औँ नगरसभामा नगर उपप्रमुख तुलसी जोशीले नगरको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेकी हुन् ।
नगर उपप्रमुख जोशीले सार्वजनिक गरेको बजेटको स्रोतअन्तर्गत समानीकरण अनुदान १४ करोड आठ लाख, राजस्व बाँडफाँट १२ करोड ४६ लाख रहेको छ । संघीय सरकारबाट प्राप्त सशर्त अनुदान २८ करोड ६१ लाख, संघीय विशेष अनुदानबाट एक करोड २० लाख, संघीय समपूरकबाट ७० लाख रहेको छ । प्रदेश सरकार वित्तीय समानीकरणबाट एक करोड २६ लाख ४४ हजार, विशेष अनुदानअन्तर्गत ६० लाख, सवारी साधन कर बाँडफाँट ८१ लाख १२ हजार प्राप्त हुने अनुमानित गरिएको छ ।
त्यसैगरी घरजग्गा रजिस्ट्रेसन दस्तुर एक करोड रहेको छ भने, आन्तरिक आयस्रोत तीन करोड रहेको नगर उपप्रमुख जोशीले बताइन् । चालु आर्थिक वर्षबाट खर्च नभई बाँकी रहन सक्ने अनुमानित रकम ६ करोड ६२ लाख, सामाजिक सुरक्षा २१ करोड रहने अनुमानित गरिएको छ ।
पुनर्वास नगरपालिकाको बजेट ७७ करोड
कञ्चनपुरको पुनर्वास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ७४ करोड ८१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । १३औं नगरसभाले उक्त बजेट ल्याएको हो । नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आर्थिक विकास, पर्यटन प्रवर्द्धन क्षेत्रको विकास, सामाजिक विकास, विद्युतीय समस्या समाधान, स्वास्थ्य, शिक्षा, सरसफाइ, खानेपानी, कृषि, भौतिक पूर्वाधार, स्वरोजगारमूलक उद्यमशीलता लगायतका योजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको नगर उपप्रमुख भुलियाकुमारी रानाले बताइन् ।
त्यसैगरी प्रत्येक वडालाई न्यूनतम् ४० लाखदेखि अधिकतम् ५६ लाखसम्म रकम विनियोजन गरिएको उनले बताइन् । पुनर्वास नगरपालिकाको अधिवेसनमा नगर उप-प्रमुख रानाले उक्त नगरको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् । उक्त नगरपालिकाले बजेटको स्रोतअन्तर्गत आन्तरिक स्रोत तीन करोड ८५ लाख, संघीय सरकार वित्तीय समानीकरणबाट १४ करोड ७७ लाख प्राप्त हुने अनुमान गरेको छ ।
प्रदेश सरकार वित्तीय समानीकरण एक करोड ३१ लाख ३३ हजार, नेपाल सरकार ससर्त अनुदान चालु २४ करोड ३७ लाख अनुमान छ । नेपाल सरकार ससर्त अनुदान पुँजीगत दुई करोड ४९ लाख, राजस्व बाँडफाँट १२ करोड ३२ लाख ३१ हजार रहेको छ । संघीय सरकार विशेष अनुदानबाट दुई करोड, संघीय सरकार समपूरक अनुदान एक करोड २० लाख अुनमान गरिएको छ ।