Logo

मौरीपालनबाट मनग्य आम्दानी

दमौली-कम लगानीमा मनग्य आम्दानी गर्न सकिने भएपछि पछिल्लो समय तनहुँको व्यास–९ मियाँवारीका कृषकहरू मौरीपालनतर्फ आकर्षित भएका छन् ।
तीन वर्षअघि प्रधानमन्त्री कृषि आधुनीकरण परियोजनामार्फत मौरीपालन पकेट क्षेत्र विस्तार गरिएको सो क्षेत्रका २२ जना कृषकले व्यावसायिक मौरीपालनबाट राम्रो आम्दानी गर्दै आएको क्यामिन मौरीपालन कृषक समूहका अध्यक्ष कृष्णबहादुर गुरुङले जानकारी दिए । ४५ घरधुरी गुरुङको बसोबास रहेको सो गाउँका ३२ भन्दा बढी घरमा ७ सयभन्दा बढी गोला मौरीपालन गरिएको गुरुङले जानकारी दिए ।
व्यक्तिगत लगानीमा उनले गाउँमै क्यामिन मौरी उद्योगसमेत सञ्चालन गरेका छन् । उनले उद्योगमार्फत मह, मौरी मैन उत्पादन गर्छन् । सिजनअनुसार मौरीपालनबाट मात्रै उनले वार्षिक १० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । स्थानीय कालिका प्राविका शिक्षकसमेत रहेका ५८ वर्षीय गुरुङले सिजनमा महिनाको ५ पटकसम्म मह काट्ने गर्छन् । लामो समयदेखि परम्परागत घारमा मौरीपालन गर्दै आएका गुरुङले विगत ४ वर्षदेखि व्यावसायिक मौरीपालन थालनी गरेका हुन् ।
हाल उनले २ सयवटा उन्नत घारमा मौरीपालन गरिरहेका छन् । वैशाख, जेठ महिनालाई मह काट्ने अति उपयुक्त सिजन मानिने भए पनि गाउँमा मौरीका लागि प्रशस्त आहर, गाउँ वनजंगलको नजिक भएकाले मौरीले राम्रो चरन वातावरण पाएकाले प्रायः सबै महिनामा मह उत्पादन हुने गरेको गुरुङले बताए । “सिजनमा मैले एउटै घारबाट २० मानासम्म मह काढ्ने गरेको छु,” गुरुङले भने । एक मना महलाई ७ सयमा धमाधम बिक्री हुने गरेको उनले बताए । उनको मह काठमाडौं, पोखरा, चितवन, दमौली लगायतका क्षेत्रहरूबाट माग हुन्छ ।
सिजन नहुँदा उनलाई खाली बस्न पर्दैन, पछिल्लो समय गुरुङ मह उत्पादनमा भन्दा मौरी उत्पादानमा व्यस्त बनेका छन् । तनुंगे मौरी अभियानमा जुटेका गुरुङले गाउँको प्रत्येक टोलमा २–३ सय गोला मौरीपालनको उद्देश्यका साथ मौरी उत्पादनमा जोड दिएका हुन् । गुरुङले वार्षिक ५ सय मौरीको गोला उत्पादन गरी घारसहितको मौरी बेच्ने गरेका छन् ।
उत्पादित मौरीको गोलालाई गैंडाकोटबाट घार ल्याएर व्यवस्थापन गर्दै आएको उनले बताए । एउटा घार ८ हजारसम्म बिक्री हुन्छ ।
मौरी घारको अत्याधिक माग भएको हुन्छ, आफू शिक्षक भएकाले बिहान बेलुका र बिदाको समयमा मात्र काम गर्न पाउने हुँदा माग पु¥याउन नसकेको उनले बताए । “जिल्ला कृषि विकास कार्यालयको माग, वडा कार्यालयको माग र केही कृषक समूहको मागअनुसार उनले घार बिक्री गर्दै आएका छन् ।
उनले समय–समयमा मौरीपालक कृषकहरूलाई मौरीको घारमा आधार चाका कसरी राख्ने, मौरीको मेन बनाउने, रानी मौरी चिन्ने लगायतका विषयमा प्राविधिक ज्ञानसमेत दिँदै आएका छन् ।
त्यस्तै वडा कार्यालयले पनि विभिन्न समयमा कृषकहरूलाई आवश्यक प्राविधिक ज्ञान दिने उद्देश्यले तालिमहरू, उन्नत जातका मौरीको गोला र घार वितरण गर्दै आएको वडा अध्यक्ष सुरेश थापाले जानकारी दिए । हालै वडाका ६८ जना कृषकलाई ७५ प्रतिशत अनुदानमा मौरीको गोला सहितको घार वितरण गरेको थापाले बताए ।
गुरुङले मौरीपालनसँगै वार्षिक रूपमा उन्नत जातका खसी, बोकासमेत उत्पादन गर्छन् । त्यस्तै उनले निरन्तर रूपमा बोइलर पनि पाल्ने गरेका छन् । मौरीका लागि राम्रो चरन क्षेत्र बनाउन गाउँको निजी तथा सार्वजनिक जग्गामा २ हजारभन्दा बढी फूल फुल्ने बिरुवा रोपण गरिएको र ५ हजार बिरुवा रोप्ने लक्ष्य राखिएको समूहका सचिव चिजकुमार गुरुङले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्