Logo

डेकोचा चाँगु हुँदै साँखु सलम्बुटार जोड्ने सडक विस्तार हुने

भक्तपुरको डेकोचा चाँगु हुँदै साँखु सलम्बुटार जोड्ने सडक विस्तार हुने भएको छ । पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोक अन्तर्गत साढे आठ किलोमिटर लामो भक्तपुरको डेकोचा चाँगु हुदै साँखु सलम्बुटार जोड्ने सडक विस्तार हुने भएको छ ।

आइतबार बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले सडकखण्डको शिलान्यास गरे । शिलान्यास कार्यक्रम सम्पन्न गरेपछि मन्त्री दुलालले सो सडक खण्ड भक्तपुरलाई मध्यपहाडी लोकमार्ग र पुष्पलाल लोकमार्गसँग जेड्ने महत्वपूर्ण सडकको रुपमा रहेको भन्दै निर्माणको कामलाई समयमा नै सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

उनले यो सडक निर्माण सम्पन्न भएसँगै काभ्रे, सिन्धुपाल्चोक, रामेछाप जोड्ने र भक्तपुर आउन सहज हुने बताए । कार्यक्रमको अवसरमा मन्त्री दुलालले बागमती प्रदेशको समग्र विकासका लागि प्रदेश सडक पूर्वाधार गुरुयोजना निर्माणको काम अन्तिम चरणमा रहेको पनि जानकारी दिए । उनले उक्त गुरु योजनामा निर्माणको काम सम्पन्न भएसँगै प्रदेशले हेर्ने सडकखण्डको सूचीसहित योजनावद्ध ढंगले काम अगाडी बढाउने पनि प्रतिबद्धता जनाए ।

दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त सडक देव र सायर/ज्ञानज्योति/क्षितिज जेभीले संयुक्त रुपमा ३९ करोड ५५ लाख रुपैयाँ लागतमा निर्माण गर्न लागेका हुन् । १२ मिटर चौडाईको निर्माण हुने सडक खण्डमा ठेक्दार कम्पनीले सडक चौडा, डामर कंक्रीट, रिटिनिङ वाल, प्लम ड्रेन लगायतका काम गर्ने छन् । सडक कालोपत्र गर्ने काम भने ५ किलोमिटरको मात्रै हुने आयोजनाले जनाएको छ ।

यस अवसरमा बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेलले उक्त सडकखण्ड निर्माणको काम सम्भौता समाप्त हुने भन्दा छ महिना अगाडि नै सम्पन्न गर्न ठेक्दार कम्पनीलाई आग्रह गरे । उनले यो सडक खण्डको काम पनि नगरकोट जाने सडक खण्ड जस्तै ढिलाई नहुने विश्वास समेत व्यक्त गरे ।

स्थानीयहरुले भक्तपुरदेखि नगरकोट हुँदै सिपाघाट जोड्ने सडक निर्माणको काममा भएको ढिलाई जस्तै डेकोचा चाँगु हुँदै साँखु सलम्बुटार जोड्ने सडकमा पनि हुने हो की भन्दै चिन्ता व्यक्त गर्दै आएका छन् । ठेक्दार कम्पनी शैलुङ कन्स्ट्रक्सनले निर्माण गर्न लागेको कमलविनायक–नगरकोट सडकखण्ड सम्झौता भएको १० वर्ष बित्न लाग्दा समेत अलपत्र अवस्थामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्