Logo

लामाबगर सुरुङमार्गमा गाडी चल्यो, हिमालीपारि ट्याक्टर

सरकारले अध्ययन गरेर आर्थिक लाभ नहुने भन्दै फाइल नै थन्क्याएर राखेको लामाबगर सुरुङमार्ग निजी क्षेत्रले निर्माण गरेको छ । दोलखाको विगू गाउँपालिका वडा नं. १ लामाबगरमा रहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बाँध क्षेत्रको दायाँतर्फको कठिन भीरमा बाहिरी सतहबाट सडक निकाल्न कठिन भएपछि सुरुङमार्ग निर्माण गरेको हो ।

तीन महिनाअघि खुलेको सुरुङमार्गमा अहिले गाडी ओहोर दोहोर गर्न थालेको छ । सी आकारमा निर्माण गरेको सुरुङमार्गको लम्बाइ ११ सय मिटर छ । यो सुरुङमार्ग अहिलेसम्मकै नेपालको सबैभन्दा लामो सुरुङमार्ग हो । ६ मिटर उचाइ र ७ मिटर गोलाइको सुरुङमार्ग छ । यसअघि लामाबगरसम्म पुग्ने सडक भूकम्पले क्षति भएपछि काब्रेभीरमा माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले ३४० मिटर सुरुङमार्ग निर्माण गरी सञ्चालन भइरहेको छ ।

नासा हाइड्रोपावर कम्पनीले बनाउन प्रस्ताव गरेको लप्ची खोला जलविद्युत आयोजनाले लामाबगर सुरुङमार्ग निर्माण सुरु गरेको हो । लप्ची खोलामा १६० मेगावाट क्षमताको आयोजना निर्माणका लागि तयारी थालेको छ । अहिले सुरुङमार्गको अन्तिममुखबाट पाँच सय मिटर टाढासम्म गाडी पुग्न सक्छ । त्यसपछिको माथिल्लो भेगका अत्यन्तै कठिन भीर सानो देउराली, अंगेरी खोला र हुरहुरेनजिक सडकको ट्रयाक खोल्ने काम जारी रहेको एमभी दुगड ग्रुपअन्तर्गतका सुमो कन्ट्रक्सनका अधिकृत हेमराज तामाङले जानकारी दिए ।

लामाबगरबाट २० किलोमिटर उत्तरमा रहेको आयोजना निर्माणको हेडबक्स रहेको छ । हेडबक्ससम्म पुग्न पहुँचमार्गको रूपमा यही सुरुङमार्ग आवश्यक भएकाले स्वदेशी जनशक्ति र सीपबाटै सुरुङमार्ग निर्माण गरेको हो । लामाबगरको सुरुमै कठिन भीर भएकाले हेलिकप्टरमार्फत् स्काभेटर र तेल लुम्नाङ र थाम्चेम्बुमा पुर्‍याएर हेडबक्स र आयोजनास्थलमा १२ किलोमिटर सडक ट्रयाक खोलिएको छ । लुम्नाङ र लप्ची हिमालपारिको गाउँ हो ।

लामाबगरसँग सडकले नजोडिए तापनि हिमालपारिको गाउँ १२ किलोमिटर सडकमा हेलिमार्फत् नै लगेको ट्याक्टर र २ वटा मोटरसाइकल चल्छ । लप्ची जाने पर्यटक र स्थानीयले बेलाबेलामा यही ट्याक्टरको सेवा लिएरै भए पनि हिमालपारिको गाउँमा गाडी चढ्ने रहर पूरा गरेका छन् । लप्ची तिब्बत सिमाना नजिकको अन्तिम गाउँ पनि हो । लामाबगर आउनै कठिनभीरको बाटो भएर दुई दिन हिँड्नु पर्ने बाध्यता रहेको लप्चीबासीले आफ्नै पालामा यस्तो कठिन भीरमा सडक बन्ला भन्ने आश गरेका थिएनन् ।

तर अहिले भीरभर सडक निर्माणको काम भइरहेको र गाउँमा पनि ट्याक्टर पुगेपछि उनीहरूलाई अब लप्चीसम्म पनि सडक पुुग्ला भन्ने आश रहेको स्थानीय कोन्जोक शेर्पाले बताए । आयोजनाले सडक निर्माण गरेपछि स्थानीयलाई पनि सहज महसुस गरेका छन् । भीरबाट सडक छिचोल्नु चुनौतीपूर्ण छ । लामाबगरपछि चार किलोमिटर अगाडि हुरहुरे भीरमा पनि ६ सय मिटरको अर्को सुरुङमार्ग बनाउने तयारी गरेको छ । ठाडो चिप्लो भीर तल तामाकोसी नदी, गोरेटो त बनाउन नसकेर स्थानीय बुटा र भर्‍याङ चढेर हिँड्नु पर्छ ।

त्यस्तो ठाउँमा ज्यानको माया मारेर मजदुरले भीरमा ड्रिलिङ गरी प्वाल खोप्ने र विस्फोटपछि चट्टान फाल्नु पर्छ । भीरमा जाँदा पनि मजदुरहरू डोरीकै सहायताले जाने गरेको साइटमा भेटिएका विगू गाउँपालिका–५ का भवीन्द्र खड्काले बताए । सुरुङमार्ग खुलेपछि निर्माण उपकरण र निर्माण सामग्री ढुवानीमा सहज हुने हुँदा सडक निर्माणमा पनि सहज हुनेछ । ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माणका लागि कठिन भीर छिचोल्दै सिंगटीदेखि लामाबगरसम्म २८ किलोमिटर सडक निर्माण गरेको थियो ।

दोलखादेखि सिंगटीसम्म पनि माथिल्लो तामाकोसीले नै सडक स्तरोन्नति गरेको हो । लामाबगरसम्म सडक आएपछि एक दर्जन बढी जलविद्युत आयोजना यही क्षेत्रमा अध्ययन र निर्माण भएका छन् । दैनिक सयौं पर्यटक लामाबगर पुग्छन् । अब लप्चीसम्मको कठिन क्षेत्रमा पनि जलविद्युत आयोजनाले नै सडक बनाउँदैछ ।

प्रतिक्रिया दिनुहोस्