सडक विस्तारसँगै बजार विस्थापित «

सडक विस्तारसँगै बजार विस्थापित

खोटाङमा सडक विस्तारसँगै पुराना बजार विस्थापित हुँदै गएका छन् । मानिस ओहोरदोहोर गर्ने नाका तथा चोकमा बसेर वर्षांैदेखि पसल तथा होटल सञ्चालन गर्दै आएका व्यवसायी सडक विस्तारसँगै विस्थापित हुने भएका हुन् ।
व्यापारी तथा व्यवसायी बसोबास गरिरहेको बजारभन्दा अन्यत्र स्थानबाट सडक सञ्चालन तथा पुल निर्माण भएपछि उनीहरूलाई समस्या भएको छ भने, कतिपय स्थानीयवासीले सडकतिरै व्यापार–व्यवसाय गर्न थालेपछि पुराना बजार तथा बस्ती रित्तो बन्दै गएका हुन् ।
कुनै समय अति नै चल्तीमा रहेको खोटाङको दिपु्रङ गाउँपालिका बतासेस्थित सुनकोसी किनारमै रहेको भण्डारेघाटमा स्थापित पुरानो बजार अहिले उराठ लाग्दो देखिन्छ । त्यो समयको झकिझकाउ लाग्ने पसल राखिएको घरभित्र हाल गाईगोठ, बाख्रा खोर, कुखुरा खोर र कतै सुँगुर राखेको देखिन्छ । अन्तैबाट सडक सञ्जाल जोडिएपछि कतिपय घर संरक्षण नहुँदा भत्किसकेका छन् ।
स्थानीयवासी राजेन्द्र राई भन्छन, “नुन–तेलको जोहो गर्ने जिल्लावासी होस् या साहुको भारी बोक्ने भरिया सबै बास बस्नका लागि तथा एक बिसाउनी बिसाउनमात्र भए पनि यही ठाउँमा आउने गर्थे, अहिले गाडीमा चडेर सिधै गन्तव्य पुग्छन् यस ठाँउमा कोही आउँदैनन् ।”
गाईघाट हुँदै काठमाडौंलगायतका सहर आवतजावत गर्ने यात्रु पनि भण्डारेघाटमा बसेर थकाइ मार्थे, खाजा, नास्ता खान्थे उस्तै परे बासै बस्थे । ठूलै विपत्तिमा परेर बसाइँ सरेको जस्तो लाग्ने यस स्थानका कतिपय घरपरिवार हाल सडक पछ्याउँदै सडक किनारमा स्थापित भएका छन् भने बाहिरबाट आएर व्यापार गर्ने व्यापारी अन्यन्त्रै गएको पाइएको छ ।
महुरे–फोक्सिङ्टार सडक खण्डमा पर्ने सो स्थानमा पसल तथा होटल व्यवसायलाई नै निरन्तरता दिइरहेको स्थानीयवासी बताउँछन् । नेपाल सरकार र स्विस सरकारको आर्थिक लगानीमा २०६७ सालदेखि निर्माण सुरु गरिएको सडक २०७० देखि नै आंशिक रूपमा सञ्चालनमा आएको थियो ।
हाल कालोपत्रको तीव्र काम भइरहेको सो सडक सञ्चालनमा आएसँगै विकासको रेखा कोरिएको छ । बतासेको भण्डारेघाट मात्र होइन जिल्लामा निर्मित सडकलगायत अन्य नयाँ संरचनाका कारण कतिपय बजार तथा बस्ती नयाँ स्थानमा सर्न थालेका छन् । कतिपय व्यवसायी अन्यत्र लगानी गर्ने क्षमता नभएका कारण अन्य पेशा अँगाल्न बाध्य भएका छन् । यस्तै, जिल्लाको प्रमुख नाकाका रूपमा रहेको जयराममा पनि कुनै समय झकिझकाउ अवस्थामा रहेका होटल तथा पसल विस्तारै विस्थापित हुने अवस्थामा पुगेका छन् । निर्माणकार्य सुरु भएको ८ वर्षपछि पक्की पुल निर्माण भएसँगै सिधा यातायात भएपछि त्यस क्षेत्रका होटल तथा पसलमा यात्रु नबस्ने भए पनि विस्थापित हुँदै गएका हुन ।
काठमाडौँ लगायतका तराईका जिल्ला जानका लागि सदरमुकाम दिक्तेलदेखि गाडी चडेपछि खाना खान जयरामघाटमा पुगिन्थ्यो, त्यसपछि जयरामघाटमा ओर्लिएर खाना खाएर गाडी परिवर्तन गरेर अर्को गाडीमार्फत यात्रा तय गर्नुपर्थ्यो तर पुल निर्माणभएपछि सरासर यात्रुहरू गन्तव्यतर्फ जाने गरेका कारण त्यहाँका बजारमा समस्या भएको हो । जयरामघाटमा पुल निर्माण भएपछि यात्रुहरूका भारी बोक्ने भरियासमेत बेरोजगार भएका छन् । पुल नबन्दाको समयमा नदी वारिपारि यात्रुका झोला बोक्ने काममा भ्याइनभ्याइ हुने उनीहरूलाई अहिले जीविकोपार्जनमा समस्या भएको जनाइएको छ ।

उत्तम चौलागार्इं

प्रतिक्रिया दिनुहोस्