Logo

समयमै पुल नबन्दा बर्खामा विपद्को जोखिम

विकास निर्माणका काम समयमै सम्पन्न नहुँदा बर्खामा प्रत्येक वर्ष सास्ती हुँदै आएको छ । विशेषगरी यातायातको सुविधाका लागि सडकको विस्तार र खोलामा पक्की पुल निर्माण गर्न ढिलासुस्ती हुनाले समग्र विकास निर्माण पछाडि धकेलिएको हुन्छ । यसको ज्वलन्त उदाहरण मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–सिमलटारी सडकखण्डका पाँच पक्की पुल निर्माणको काम हो ।

जसअन्तर्गत झर्ना खोलामा पुल बने पनि बाँकी हुलाके खोला, धनार्जी खोला, फुलबारी खोला र घमिर खोलामा पुल निर्माणको काम नसक्नाले अब वर्षायामको समयमा जोखिम बढ्ने पक्का छ । यी चार खोलामा पक्की पुलको निर्माण सुरु भएको छ । तर, काममा निकै ढिलासुस्ती हुँदा पुलको आधार निर्माण पनि हुन नसकेको हो ।

इस्मा गाउँपालिका–६ अम्मरपुरका रामप्रसाद पाण्डेले हिउँदको समयमा पुल निर्माणमा तीव्रता नदिँदा बर्खाको समयमा विपद् निम्तने खतरा निश्चय भएको गुनासो गरे । उनले खोला किनारका घर, आवतजावत गर्ने सवारी र यात्रुलाई समेत वर्षायाममा निकै सास्ती हुने बताए । “हालसम्म १५/२० प्रतिशत पनि काम हुन सकेको छैन,” उनले भने, “समयमै काम सम्पन्न नहुँदा नागरिकलाई थप सास्ती हुने भयो ।” जोखिम क्षेत्रमा संवेदनशील रुपमा समयमै काम हुनुपर्ने पाण्डेको भनाइ छ ।

इस्मा गाउँपालिका–५ हुलाकेका गंगा मुखिया वर्षायामलाई सम्झेर चिन्तित छन् । असार सुरु भएसँगै खोला उर्लेर आउँदा घर नै बगाउने पीडामा मुखिया रहेका छन् । “पुल निर्माणको कामले तिव्रता लिएन,” उनले भने, “यो वर्षायाममा बढी जोखिम मोल्नुपर्ने भयो ।” पुल निर्माण गर्न खोलाको आधा भाग थुनिएको छ । जसका कारण खोला किनारमा रहेका घरहरु जोखिममा परेको उनको भनाइ छ ।

मासिक पाँच हजार जमिनको भाडा तिर्दै संरचना बनाएर बसेका उनले खोलाले संरचना बगाउने भएकोले समयमै केही उपाय खोज्नुपर्नेमा छन् । तर, पुल निर्माणको ढिलासुस्तीले गर्दा जोखिम मात्र नभई विपद् नै आइलाग्ने उनको गुनासो छ ।
पुल निर्माण गर्ने क्रममा यी चार खोलामा वैकल्पिक बाटो खुलाइएको छ । तर, त्यो बाटो एक झर पानी परे बगरको रूपमा परिणत हुन्छ । जसले गर्दा सवारी आवतजावतमा समस्या हुने निश्चय नै छ ।

मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घासबाट धनार्जी खोलामा ३५, फुलबारी खोलामा २० र घमिर खोलामा १५ मिटरका पुलको निर्माण हुन लागेको छ । जसअन्तर्गत हुलाके खोला पुल र धनार्जी खोला पुलको निर्माण सुनिल समिर निर्माण सेवा प्रालि गुल्मीले गरिरहेको छ । फुलबारी खोला पुल र घमिर खोला पुलको निर्माण पन्थ निर्माण सेवा प्रालिले गरिरहेको कार्यालयका इन्जिनियर वीरेन्द्रप्रकाश तेलीले बताए ।

इन्जिनियर तेलीका अनुसार यी हुलाके, धनार्जी, फुलबारी र घमिर चार खोलाको क्रमशः भौतिक प्रगति १०, २, १५ र १० प्रतिशत मात्र भएको छ । अघिल्ला दुई पुल निर्माणको काम पछिल्लो म्याद अनुसार वि.सं २०८० मंसिर २६ र पछिल्ला दुईको वि.सं २०८० भदौ १ मा सक्नुपर्नेछ । तर, यो समयावधिमा निर्माणको काम नसकिने स्पष्ट भइसकेको छ । पुल निर्माण वर्षायामसम्म नसकिने भएपछि विपद्को जोखिम बढ्नेमा इस्मा गाउँपालिका अध्यक्ष भगत सिंह खड्का अवगत छन् ।

उनले सम्भावित जोखिम कम गर्न गाउँपालिकाले मात्र नसक्ने भएकोले राजमार्ग योजना कार्यालयलाई आग्रह गरेको बताए । “वर्षायाममा चार खोलामा जोखिम बढ्ने निश्चय नै छ,” उनले भने, “राजमार्ग योजना कार्यालयले खोला किनारमै डोजर राखेर समाधान खोजिहाल्नुपर्छ ।” उनले विपद्को पूर्वतयारी नगरे यसले विकराल रूप लिने भएकाले समन्वयका लागि जिल्ला समन्वय समितिको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्