Logo

परिसंघ र इण्डियन चेम्बर अफ कमर्सबीच सम्झौता

नेपाल उद्योग परिसंघ र इण्डियन च्याम्बर अफ कमर्सबीच लगानी, व्यवसाय प्रवर्द्धनलगायतमा सहकार्य गर्न समझदारी भएको छ । समझदारी पत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र इण्डियन च्याम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अमेय प्रभुले हस्ताक्षर गरेका छन् ।

दुई संस्थाबीच लगानी तथा व्यावसाय प्रवर्द्धन, अध्ययन तथा अनुसन्धान, आपसी सहयोग, सूचना तथा जानकारीहरुको आदानप्रदानलगायतमा सहकार्य हुनेछ । काठमाडौंमा आयोजित समझदारी पत्र हस्ताक्षर कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले भारतको सबै भन्दा पुरानो संस्था इण्डियन च्याम्बर अफ कमर्ससँगको सहकार्यले दुुई देशबीच व्यवसायिक सम्बन्ध थप बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उनले परिसंघले अगाडि बढाइरहेको मेक इन नेपाल स्वदेशी अभियान, स्टार्टअप एवं उद्यमशीलता प्रवर्द्धनलगायत दुई देशका उत्पादन तथा सेवाहरुको प्रवर्द्धनमा दुई संस्थाबीच सहकार्य हुने जानकारी दिए । इण्डियन च्याम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अमेयले यस किसिमको सहकार्यले नेपाल र भारतबीचमा उद्योग, व्यापार र लगानीका क्षेत्रहरुमा नयाँ सम्भावनाहरु खोज्न महत्वपूर्ण हुने बताए ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले परिसंघ र इण्डियन च्याम्बर अफ कमर्सबीचको सहकार्यले उद्योगीका समस्या, चुनौतीको पहिचान एवं समाधानका लागि दुवै संस्थाले लविङ गर्ने र दुई मुलुकबीचको आर्थिक हितमा काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्