बाढीले भत्किएका ९ दर्जन सिँचाइ कुला अझै बनेनन् «

बाढीले भत्किएका ९ दर्जन सिँचाइ कुला अझै बनेनन्

गत असोजको १९ देखि २५ गतेसम्म भएको अविरल वर्षापछि आएको बाढी पहिरोले जुम्लाको कृषि क्षेत्रमा ठूलो क्षति पुर्‍यायो । १८ हेक्टर मार्सीफाँट बगरमात्र बनेन् भित्र्याउन ठिक्क पारेको धानसमेत बाढीसँंगै बग्यो भने जिल्लाभर दर्जनाैं सिँचाइ कुला भत्किए । सरकारले जुम्लासहित साविक कर्णालीका पाँच जिल्लालाई संकटग्रस्त क्षेत्र पनि घोषणा गर्‍यो ।

संकटग्रस्त क्षेत्र घोषणा गरेसंँगै भत्केका सिँचाइ कुला मर्मत हुने, राहत पाउनुका साथै विस्थापित भएकाहरू पुनःस्थापना हुने आशामा थिए । तर सात महिना बितिसक्दा पनि विपद् पीडितलाई राहत उद्दार र पुनःस्थापना त परै जावस् भत्किएका सिँचाइ कुलोसमेत मर्मत नहुँदा बिउ बेर्नादेखि जेठको रोपाइँसमेत प्रभावित हुने देखिएको छ ।

बेर्नामा बिउँ छर्नु पहिले बेर्ना तयारी अवस्थामा हुनुपर्छ । तर यसवर्ष जुम्लामा अधिकांश गाउँका किसानले सिँचाइ नहुँदा बेर्ना राख्नै अलमल भएको बताएका छन् । तातोपानी–२ का दत्त बुढा भन्छन्, “झण्डै १० मुरी खेतभरि बालुवा भरिएको छ । बाँकी रहेका थोरै खेतमा धान रोप्न बिउ राखौं भनेको बेर्ना बनाउन सिँचाइ छैन । क्षति भएको सात महिना बित्दा पनि भत्किएका कुला मर्मत हुन सकेनन् । नत राहत पायौं । नत भत्किएका कुला बने । यस वर्ष किसानले संकट भोग्नु पर्ने बाध्यता छ ।”

बाढी पहिरोबाट नराम्ररी प्रभावित भएको जुम्लाको तातोपानी, तिला, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाका झण्डै डेढ सय बढी सिँचाइ कुला बाढीले भत्काएको थियो । चैतको १२ गते अर्थात् (बारुवा) पर्व जुम्लामा मार्सीधानको बिउ राख्ने दिन । १२ गते बिउ राख्ने, १६ गते निकाल्ने र २० गते बेर्नामा छर्ने कृषि क्यालेण्डर छ । कर्णाली प्रदेश सरकारले चैत १२ गते जुम्लाका लागि धान दिवसका रूपमा सार्वजनिक बिदा दिँदै आएको छ ।

सात महिनासम्म पनि विपद्ले क्षतविक्षत भएका सिँचाइ कुला तथा नहरको मर्मत गर्न बेवास्ता गरेर बिदा दिनुको कुनै औचित्य नरहेको नागरिक अगुवा राजबहादुर महत बताउँछन् । जुम्लाबाट प्रतिनिधित्व गर्ने संघ र प्रदेशका सांसदले पनि चैत १२ गतेसम्म सिँचाइ नपुग्दा जुम्लाको कृषि क्षेत्रमा पर्ने असरका विषयमा गम्भीरतापूवर्क नलिएको उनको आरोप छ ।

विश्वकै अग्लो स्थानमा मार्सीधान फल्ने र विश्व बजारमा माग बढ्दै गएको जुम्ली मार्सीधानको पहिचान नै संकटमा पर्ने खतरा छ । चैत १२ गते घर नफर्किएको जुम्ली मर्‍यो भनी जान्नु भन्ने उखान भए पनि यस वर्ष कृषि क्षेत्रमा भएको क्षति र राहत पुनःस्थापना तथा पुनर्निर्माणमा भएको ढिलासुस्तीले किसान विरक्त भएका छन् ।

९ दर्जन कुला मर्मत भएनन्, बिउबेर्नादेखि रोपाइँ प्रभावित

जुम्लाका आठ स्थानीय तहमध्ये तातोपानी, तिला, हिमा, सिंजा र कनकासुन्दरीमा बाढीले ठूलो क्षति गर्‍यो । झण्डै १८ हेक्टर मार्सीफाँट बगर बन्दा करिब नौ दर्जन बढी सिँचाइ कुलो तथा नहरमा क्षति पुर्‍याएको थियो । जसमध्ये तातोपानीका ३३ वटा, तिलाका ४० वटा, हिमाका ११ वटा र सिंजाका १९ वटा गरी गरी १०३ वटा साना ठूला सिँचाइ कुला भत्किएका थिए । करिब नौ दर्जन सिँचाइ कुला क्षतिग्रस्त भएकोमा हालसम्म कुनै सिँचाइ कुला मर्मत हुन सकेका छैनन् ।

किसानहरू काठ लगाएर प्लास्टिक बेरेर भए पनि मार्सीधानको बिउबेर्ना राख्ने तयारीमा छन् । बेर्नालाई चौबिसै घण्टा सिँचाइ चाहिन्छ । थोरै सुक्का भए पनि बिग्रिन्छ । तर जिल्लामा सिँचाइ कुला मर्मत भएका छैनन् । बिउ जोगाउ नै मस्किल हुने यसको असरपछि उत्पादनमा देखिने कृषि विज्ञहरू बताउँछन् । पालिकासंँग भत्केका कुला मर्मत गर्न धेरै बजेट थिएन । संघ प्रदेशमा माग गर्दा सुनुवाइ भएन् ।

तिला गाउँपालिकाकी उपाध्यक्ष गोरीकला बुढाले भनिन्, “पालिकाका वडा नं. ९ र ६ बाहेक अन्य ७ वटा वडाका करिब ४० सिँचाइ कुला भत्किएका छन् । सिँचाइ कुला मर्मत नहुँदा चैत १२ गते बिउ राख्ने दिनमा समेत किसान निरास छन् । कुलो मर्मत गर्न किसानले दबाब दिइरहेका छन् । स्रोत छैन । अन्तिममा कुनै विकल्प नभए काठ, प्लाष्टिक प्रयोग गरेर पनि तत्कालीन सिँचाइ पुर्‍याउने योजना छ ।”

संघ प्रदेशले सिँचाइ कुलो मर्मतमा सहयोग गरे आगामी रोपाइँ हुन मुस्किल हुने उनको भनाइ छ । यता तातोपानीका अध्यक्ष नन्दप्रसाद चौलागाईं सिँचाइ अभावमा बिउ बेर्ना र रोपाइँ प्रभावित हुन नदिने बताउँछन् । क्षति भएका ३३ सिँचाइ कुलामध्ये केही कुला गाउँपालिकाले मर्मत गरिरहेको र केही कुला सिँचाइ कार्यालयले मर्मत गर्नेछ । उनले भने, “तर दिगो समधान नभए समस्या निम्तिनेवाला छ । किसान निकै चिन्तामा छन् । त्योभन्दा बढी कुलो मर्मत गर्न र सिँचाइ पुर्‍याउन हामी चिन्तित छांै । स्रोत नहुँदा कसरी मर्मत गर्ने भन्ने समस्या छ ।”

उता सिंजा र हिमामा पनि पालिकामा सिँचाइ कुलो मर्मतका लागि पर्याप्त बजेट नभएको र माग गर्दा कतैबाटै सम्बोधन नभएपछि बिउराख्ने र रोपाइँ गर्ने दिन नजिकिएपछि कुलो मर्मतको टुंगो नलागेको बताउँछन् । यद्यपि, तत्काल कुलो मर्मतका लागि सबै ठाउँमा पहल भइरहेको हिमाका अध्यक्ष लक्ष्मणबहादुर शाहीको भनाइ छ ।

खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाका प्रमुख अनुप श्रेष्ठले दुई करोड ८० लाख लगानीमा जिल्लाभरका भत्किएका २२ वटा कुलो मर्मत गरिने बताए । सयौंको संख्यामा भत्किएका सबै कुला मर्मत गर्न सम्भव छैन । उनले भने, “हामीले स्थलगत अनुगमन गरेका र पालिकाबाट माग भएकामध्य अत्यावश्यक २२ वटा कुलो निर्माण गर्दैछौं । प्रदेशमा ६ करोड ३८ लाख बजेट माग गरे पनि दुई करोड ८० लाख बजेट उपलब्ध हुनेछ ।” बाढीपीडित जुम्लाका १२ सय किसानले अझै उचित राहत पाउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्