जलविद्युत आयोजना : खोलै रित्तो बनाएर पानी प्रयोग «

जलविद्युत आयोजना : खोलै रित्तो बनाएर पानी प्रयोग

खोटाङको ६.६ मेगावाट क्षमताको साप्सु खोला जलविद्युत आयोजनाले खोलै सुकाएर पानी प्रयोग गरेको पाइएको छ । हलेसी–तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सु खोलाबाट विद्युत उत्पादन गर्नेक्रममा आयोजनाको प्रवर्द्धन कम्पनी थ्रिस्टार हाइड्रोपावर कम्पनी लिमिटेडले सिंगो खोला नै सुकाएर पानी प्रयोग गरिरहेको पाइएको हो ।

कम्तीमा १० प्रतिशत पानी खोलामा छाड्नुपर्नेमा खोलामा भएको पानी ड्यामतर्फ फर्काएर लगेको पाइएको खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईंले बताए । जलविद्युत आयोजनाका लागि राजापानीकै वसुवास्थित साप्सु खोलामा ड्याम हालिएको छ । २०७८ मंसिर १४ गतेदेखि परीक्षण उत्पादन सुरु गरिएको जलविद्युत आयोजनाबाट उत्पादित विद्युत २०७८ पुसमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो ।

जलविद्युत आयोजनाको डिसेन्डर, क्यानल र पानी जमाउने रिजर्भवयर वरपर हालसम्म तारबार नलगाइएकाले मान्छेदेखि जनावर डुब्ने जोखिम उत्तिकै छ । प्रजिअ सेडाईले कम्पनीका प्रोजेक्ट इन्चार्ज प्रदिप दाहाललाई १५ दिनभित्र रिजर्भवयर वरपर घेरावारा गरिसक्न दिर्नेशन दिएका छन् । व्यक्ति तथा जनावर रिजर्र्भवयरभित्र परेको खण्डमा उद्धारका लागि लाइफ ज्याकेटको व्यवस्था गर्न र तालिम प्राप्त उद्धारकर्मी तयारी अवस्थामा राख्न भनिएको छ ।

यसबाहेक ड्यामदेखि पावरहाउसको बीचमा गेटभल्ब खोल्दा खोलामा झर्ने पानीबाट स्थानीयलाई जोगाउन पूर्वजानकारी दिने ‘साइरन’को व्यवस्था गर्न निर्देशन दिइएको प्रजिअ सेडाईंले बताए । प्रोजेक्ट इन्चार्ज दाहालले कमजोरी स्वीकार गर्दै अधुरो कामलाई पूर्णता दिने जवाफ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्