विद्यार्थीलाई नेपाल बैंकको वित्तीय साक्षरता «

विद्यार्थीलाई नेपाल बैंकको वित्तीय साक्षरता

नेपाल बैंक लिमिटेड दाङ शाखाले वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम गरेको छ । विश्वव्यापी मुद्रा सप्ताह २०२३ अन्तर्गत दाङ शाखाले घोराही उपमहानगरपालिका–५ धर्नामा रहेको महेन्द्र माध्यमिक विद्यालयमा एक दिने वित्तीय साक्षरता कार्यक्रम गरेको हो । बदलिँदो समयमा वित्तीय कारोबार अनिवार्य र अपरिहार्य बन्दै गएकाले विद्यार्थीहरूलाई वित्तीय जानकारी गराउने उद्देश्यले विद्यालयमा कार्यक्रम गरिएको थियो ।

उक्त कार्यक्रममा पछिल्लो समयमा अर्थतन्त्रसम्बन्धी देखिएका समस्या समाधानका लागि हरेक व्यक्तिमा वित्तीय चेतना हुनुपर्ने नेपाल बैंक दाङ शाखाका कर्मचारी संजय पाण्डेले जानकारी दिए । कार्यक्रममा बोल्ने वक्ताले आर्थिक बचतले जीवनमा पुर्‍याउने सहयोग र वित्तीय साक्षरताले दिने फाइदा, डिजिटल कारोबारलगायतका बारेमा विद्यार्थीलाई जानकारी दिइएको थियाे ।

बैंकका शाखा प्रबन्धक केशव सुवेदीको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक ऋषिराज अधिकारीको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतबहादुर केसीको आतिथ्यतामा भएको कार्यक्रममा शाखाका कर्मचारी दिपक वलीलगायतले बोलेका थिए । कार्यक्रममा विद्यालयमा अध्ययनरत करिब एक सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्