लघुवित्तको साधारण सेयर बिक्री हुँदै

लघुवित्त संस्थाको साधारण सेयर बिक्री गर्नेक्रम बढ्दै गएको छ । आइतबारदेखि आँधीखोला लघुवित्त वित्तीय संस्थाको साधारण सेयर बिक्री सुरु भएको छ । यस्तै शुक्रबारदेखि घोडीघोडा लघुवित्त वित्तीय संस्थाको साधारण सेयर बिक्री भइरहेको छ ।
यही क्रममा आगामी साउन १ गतेदेखि सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) बिक्री गर्ने भएको छ । संस्थाले सोमबार एक आह्वानपत्र प्रकाशित गरी आगामी साउन १ गतेदेखि ५ करोड ३० लाख रुपैयाँ बराबरको ५ लाख ३० हजार कित्ता साधारण सेयर बिक्री गर्न लागिएको उल्लेख गरेको छ ।
आह्वानपत्र अनुसार सेयर बिक्री बन्द छिटोमा आगामी साउन ५ गतेसम्म तोकिएको छ । संस्थाका कर्मचारीलाई ८ हजार २ सय ५० कित्ता र सामूहिक लगानी कोषलाई २६ हजार ५ सय कित्ता सुरक्षित गरिएको छ । संस्थाको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड छ । सो संस्थाको साधारण सेयरमा न्यूनतम १० देखि अधिकतम २ हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।
यसैबीच सहयोगी विकास बैंकको सेयर कारोबार रोक्का भएको छ । सिटिजन बैंक इन्टरनेसनलले उक्त विकास बैंकलाई प्राप्ति गर्नेभएपछि कारोबार रोक्का गर्ने निर्णय गरेको हो । आइतबार सिटिजनले सहयोगी विकास बैंकलाई प्रापित गर्ने सम्झौता गरेको छ । दुई संस्था गाभिएर एकीकृत कारोबार नहुँदासम्म सेयर कारोबार रोक्का राख्ने निर्णय भएको र सोको जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराइएको विकास बैंकका कम्पनी सचिव राजेशकुमार मल्लिकले जानकारी दिए ।
यस्तै स्टकमा आज सूर्योदय लघुवित्त वित्तीय संस्थाको सेयर लाभांश सूचीकृत भएको छ । कुल ३ लाख २३ हजार १ सय ९० कित्ता सेयर लाभांश सूचीकृत भएको हो ।