Logo

८ महिनामा ५ लाख १४ हजारले लिए श्रम स्वीकृति

दैनिक औसत २२ सय युवा विदेसिँदै

स्वदेशमा रोजगारीका क्षेत्र बढ्न नसकेपछि बाध्यकारी वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या अझ बढेको छ । गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या १ लाख २० हजार भन्दा बढी पुगेको छ । गत वर्षको फागुनसम्म वैधानिक तरिकाले विदेश जानेको संख्या ४ लाख ४ हजार रहेकोमा चालू आवको सोही अवधिमा यो संख्या ५ लाख २४ हजार पुगेको छ ।

चालु आर्थिक वर्षको ८ महिनामा वैदेशिक रोजगारीमा जान ५ लाख १४ हजार युवाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ । विभागले सार्वजानिक गरेको बिगत ८ महिनाको तथ्यांकले यो वर्ष रोजगारीका लागि जानेको संख्या ८ लाख भन्दा बढी देखाएको छ । गत वर्ष वैदेशिक रोजगारीमा जान ६ लाख ३५ हजारले श्रम स्वीकृति लिएकोमा चालू आवको फागुनसम्म ५ लाख २४ हजार पुगेको छ ।

विभागको २ आर्थिक वर्षको ८ महिनाको तथ्यांक हेर्दा चालू आवमा मासिक औसत २ हजार २ सय भन्दा बढी युवाले श्रम स्वीकृति लिएका छन् । गत वर्षको फागुनसम्म मासिक औसत ५० हजार युवाले श्रम स्वीकृति लिएका थिए भने चालू आवमा यो संख्या मासिक ६५ हजार ५ सय रहेको छ । चालु आवको साउनमा ६३ हजार, भदौमाा ७६ हजार, असोजमा ५६, कात्तिक र मंसिरमा ६८ हजार, पुसमा ६५ हजार, माघमा ६४ र फागुनमा ६१ हजारले श्रम स्वीकृति लिएका छन् ।

विभागका महानिर्देशक उमाकान्त आचार्यले मलेसिया लगायतका प्रमुख श्रम गन्तव्यले कोरोनापछि विदेशी श्रमिकको माग वृद्धि गरेका कारण नेपालबाट जानेको संख्या बढेको बताए । गत आवको यो अवधिको तुलनामा चालु आवमा १ लाख २० हजारले श्रम स्वीकृति लिएको विभागको पछिल्लो तथ्यांकमा उल्लेख छ । विगत ३ महिनायता खाडी जानेको संख्या घटेर मलेसिया जानेको संख्या वृद्धि हुँदै गएको छ ।

लकडाउन पछि आन्तरिक रोजगारीमा संकुचन आएपनि विगत एक वर्षयता वैदेशिक रोजगारमा जानेको संख्याले रेकर्ड नै कायम गर्न थालेको छ । साउनपछि लगातार उकालो लागेको विदेश जाने क्रम हालसम्म पनि कायम रहेको छ । नेपाल र नेपाली युवाको प्रमुख आयस्रोतको रुपमा रहेको वैदेशिक रोजगार विगतका २ वर्षमा घटेको देखिएपनि अबका दिनमा भने यसले गति लिने विज्ञको भनाइ छ ।

अघिल्ला २ आर्थिक वर्षमा प्रमुख श्रम गन्तव्यमा रोजगारीमा जाने युवाको संख्या क्रमशः घटदो दरमा रहेको थियो । तर गत आवबाट वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढदै गएको छ । गत आर्थिक वर्षमा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएर ६ लाख ३६ हजार पुगेको थियो ।

गत वर्ष श्रम स्वीकृति लिनेको संख्या अघिल्ला आव वर्षको सोही अवधिको तुलनामा तेब्बर बढी छ । अघिल्लो आवमा १ लाख ६६ हजार ६९८ युवाले विदेशमा रोजगारीमा जाने जनाउँदै श्रम स्वीकृति लिएका थिए । यस्तै आव २०७६/०७७ मा श्रम स्वीकृति लिएर विदेश जानेको संख्या ३ लाख ६५ हजार ४३३ रहको विभागको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्