साउदीमा अलपत्र परेर फर्कनेको संख्या बढ्दो «

साउदीमा अलपत्र परेर फर्कनेको संख्या बढ्दो

Riyadh skyline at night #1, Showing Olaya Street Metro Construction

साउदी अरबमा अलपत्र परेर नेपाल फर्किने नेपाली श्रमिकको संख्या बढेको छ । सन् २०२३ को हालसम्म ५४५ जना नेपाली श्रमिक विभिन्न कारणले स्वदेश फर्किएको साउदीस्थित नेपाली दूतावासले जानकारी दिएको छ । यो वर्षको जनवरीमा २३१ जना, फेब्रुअरीमा ९८ जना र मार्चको हालसम्म २१६ जना नेपाली बहिर्गमन भिसा प्राप्त गरेर स्वदेश फर्किएको दूतावासको तथ्यांक छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले विगत एक वर्षयता साउदी अरबबाट विभिन्न कारणले फर्कने श्रमिकको संख्या उल्लेख्य रहेको बताए । पछिल्लो समय मलेसियाको रोजगारीमा आकर्षण बढ्न थालेपछि साउदी अरबबाट फर्कने नेपालीको संख्या उच्च देखिएको छ । रोजगारीका लागि साउदी जाने युवासँग म्येनपावर र एजेन्टले चर्को शुल्क उठाउने र सम्झौताविपरीत काममा पठाएपछि त्यहाँ अलपत्र पर्ने श्रमिकको संख्या बढिरहेको छ ।

केही समयअघि साउदीस्थित नेपाली दूतावासले पछिल्ला दिनहरूमा साउदी अरबमा रोजगारीमा आएका उल्लेख्य संख्याका नेपाली युवालाई मेनपावर र एजेन्टले तोकिएको शर्त पालना नगरी काममा पठाएको जनाएको थियो । दूतावासले रोजगारीका लागि त्यहाँ गएका युवाले काम र तलब नपाएको, तोकिएभन्दा बढी पैसा तिरेर गएको जनाउँदै युवाले दुःख पाएको गुनासाहरु आएको जनाएको छ । दूतावासले आफ्नै कार्यालय वा महावाणिज्य दूतावासले श्रमिकको एक्जिट भिसा प्रोसेसिङ गरिदिने जनाउँदै ठगीमा नपर्न सचेत समेत गराएको छ ।

तर, एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने दूतावासले जनाएको छ । साउदी अरबस्थित नेपाली दूतावासले इकामाको म्याद सकिएको ३ महिनाभन्दा बढी भइसकेको वा साउदी आएको ३ महिनाभन्दा बढी समयसम्म पनि कम्पनीले इकामा बनाई नदिएको तथा कम्पनीले हुरूब (भगौडा) लगाइदिएको अवस्थामा बहिर्गमन भिसा जारी गरेर फर्कन सकिने जनाइएको छ । इकामाको म्याद भएकाहरूको एक्जिट भिसा प्रोसेसिङ दूतावासबाट गर्न नमिल्ने दूतावासले बताएको छ ।

त्यसैगरी जुन ठाउँबाट आफ्नो इकामा बनेको हो, त्यही ठाउँको श्रम कार्यालय र अध्यागमन कार्यालयमा मात्र एक्जिट भिसाको लागि प्रोसेसिङ गर्नुपर्ने साउदी नियम रहेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो प्रगति विवरणमा समेत साउदी अरबबाट धेरै नेपालीलाई उद्धार गर्नु परेको जनाएको छ । विभागका अनुसार गत वर्ष सबैभन्दा बढी साउदी अरबबाट उद्धारको लागि उजुरी आएको छ । दूतावासले एक्जिट भिसा अनुमति पाएका श्रमिकले अनुमति पाएको ६० दिनभित्र अनिवार्य रूपमा साउदी अरब छोड्नुपर्ने जनाएको छ ।

आफ्नै चिनजानका मानिस एजेन्ट बनेर ठगी गरेका घटनाहरू पनि धेरै देखिएका दूतावासको भनाइ छ । नेपाल सरकारले वैदेशिक रोजगारीमा कामदार पठाउन एजेण्टको भूमिकालाई गैरकानुनी मानेको भए पनि पछिल्लो समय समूह नै बनाएर युवासँग करोडौं असुलेको पाइएको छ । साउदी जाने युवामा ठगीका घटना बढ्न थालेपछि दूतावासले एजेण्टको पछि नलाग्न अनुरोध गर्दै राम्रा म्येनपावर कम्पनी मार्फत प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ ।

विदेशी श्रमिक लैजान साउदी रोजगारदाताले ठूलो धनराशी खर्च गर्ने भएकाले रोजगारदाताले करार सम्झौता नसकी स्वदेश फर्कन अनुमति दिने गरेको छैन । नेपाल सरकारले साउदी अरब जाने नेपाली कामदारका विभिन्न पदहरूका लागि पद अनुसारको पारिश्रमिकको व्यवस्था गरेको छ । जस अनुसार अदक्ष कामदारका लागि न्यूनतम मासिक पारिश्रमिक साउदी रियाल १ हजार र खाना सुविधा वापत साउदी रियाल ३ सय तोकिए पनि न्यून सुविधामा समेत काम गर्नु परेको त्यहाँँ कार्यरत नेपालीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्