Logo

एलिट क्यापिटललाई मर्चेन्ट बैंकरको लाइसेन्स

नेपाल धितोपत्र बोर्डले एलिट क्यापिटल लिमिटेडलाई धितोपत्र व्यवसायी अर्थात् मर्चेन्ट बैंकरको लाइसेन्स प्रदान गरेको छ । गत वर्ष पुँजी बजारका सक्रिय लगानीकर्ता र गैरआवासीय नेपालीहरुको लगानीमा स्थापित संस्थाले कान्छो मर्चेन्ट बैंकरको रूपमा लाइसेन्स प्राप्त गरेको धितोपत्र बोर्डले जानकारी दिएको छ ।

बोर्डका अध्यक्ष डा. रमेशकुमार हमालले बुधबार एक समारोहका बिच मर्चेन्ट बैंकर अनुमतिपत्रको प्रमाणपत्र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यलाई हस्तान्तरण गरेका हुन् । क्यापिटलले आगामी साता औपचारिक उद्घाटन गरी कारोबार सुरु गर्ने जानकारी दिएको छ । एलिट क्यापिटलले लाजिम्पाट उत्तरढोकास्थित मेट्रो पार्कमा कार्यालय स्थापना गरिसकेको छ ।

सोही स्थानबाट व्यक्तिगत तथा संस्थागत लगानी व्यवस्थापन, कर्पोरेट एडभाईजरी, धितोपत्र प्रत्याभूति र डीपी सेवासमेत दिने क्यापिटलले जनाएको छ । २२ करोड ५० लाख पुँजी रहेको क्यापिटलले थप प्रक्रिया पूरा गरेर निकट भविष्यमै प्राइभेट ईक्विटी तथा भेन्चर क्यापिटल र म्यूचुअल फण्डको समेत व्यवस्थापन गर्ने योजना रहेको अध्यक्ष आचार्यले जानकारी दिए ।

व्यावसायिक व्यक्ति तथा संस्थाहरूको लगानी र दक्ष व्यवस्थापनमार्फत् कारोबार सुरु गरेको पनि बताइएको छ । क्यापिटलले बजारमा चलिरहेको भन्दा आकर्षक स्किमहरू ल्याउने जनाएको छ । हाल सञ्चालनमा रहेका ३९ वटा मर्चेन्ट बैंकर छन् । बोर्डले लामो समयदेखि मर्चेन्ट बैंकरको लाइसेन्स दिएको थिएन ।

प्रतिक्रिया दिनुहोस्