गाउँपालिकाले ६ सय रोजगारी सिर्जना गर्ने

पर्वतको महाशीला गाउँपालिकाले ६ सय बेरोजगारलाई रोजगारी दिने भएको छ । ‘एक घर एक रोजगार’ अभियान थालेको गाउँपालिकाले चालू आर्थिक वर्षमै ६ सय जनालाई तालिम दिएर रोजगारी दिने भएको हो । गाउँपालिकाभित्र रहेकमा १८ वर्षदेखि ५५ वर्ष उमेर समूहका बेरोजगार युवालाई रोजगारी दिने तयारी भएको छ । उनीहरुलाई सुरुका तीन महिना तालिम दिने र क्षमताअनुसारका क्षेत्रमा रोजगारी दिइने जनाइएको छ । यसका लागि गाउँपालिकाले चालू आवमा ९५ लाख रुपैयाँ लगानी गर्नेछ ।
प्लम्बर र खानेपानी मिस्त्री, सहकारी, लेखा र बैंक, वन व्यवस्थापन, विद्यालय कर्मचारी, शिक्षक, स्वास्थ्य संस्था अनमी, स्वास्थ्य सहयोगी कार्यकर्ता, पशु स्वास्थ्य कार्यकर्ता, कृषि कार्यकर्ता, जेष्ठ नागरिक सहयोगी, चिया तथा कफी खेतीलगायतका क्षेत्रमा रोजगारी दिनेगरी स्वयंसेवकको रुपमा कर्मचारी राख्न थालिएको हो । यस्तै, अलैँची खेती, वडा कार्यालय व्यवस्थापक, सडक रक्षक, पर्यटन, विद्युत, सिकर्मी डकर्मी जस्ता विधामा गरी ६ सय जना बेरोजगारलाई रोजगारी दिने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार एक जना कर्मचारीले मासिक जम्मा १५ दिन काम गर्नुपर्ने प्रावधान राखिएको छ । उसलाई ६ हजार रुपैयाँ तलब दिने बताइएको छ । उक्त जागिर गर्न र तलब सुविधा लिनका लागि इच्छुक युवाले बाँकी १५ दिनमा आफ्नो घरमा विभिन्न उद्यम समेत गर्नुपर्ने सर्त गाउँपालिकाले तयार गरेको छ । जुन क्षेत्रमा आफूले रोजगारी गर्ने हो सोही उद्यम घरमै पनि सञ्चालन गर्नुपर्ने अध्यक्ष पौडेलले जानकारी दिए ।
गाउँपालिकामा झण्डै २ हजार घरधुरी रहेका छन् । तीमध्ये एक हजार घरधुरीका बासिन्दा बेरोजगार रहेको अनुमानका आधारमा यो वर्ष ६ सयलाई र बाँकी बेरोजगारलाई आगामी वर्ष समावेश गर्नेगरी कार्यक्रम सुरु गरिएको हो । उनीहरुको दिगो व्यवस्थापनका लागि गाउँपालिका र तीनै रोजगारका लागि छनौट हुने युवाको साझेदारीमा सहकारी स्थापना गर्ने सोही सहकारीमार्फत आयआर्जनमूलक कार्यक्रम गर्नेगरी व्यवस्थापन गरिएको पौडेलले जनाए । एक घर एक रोजगार चाहाना जनजनमा, गतिशीलता, स्वस्थ्य व्यक्ति र स्वयंसेवी भावना भन्ने मूल नाराका साथ यो कार्यक्रम सुरु गरिएको पौडेलले बताए ।
रोजगारी दिने व्यक्तिहरुमध्ये सवैभन्दा बढी सडक रक्षकमा २ सय ५० जना र अन्य विधामा ४ सय ५० जनाबाट आवेदन माग गरी सूचनासमेत जारी गरिसकिएको छ । जनशक्ति तयारीका लागि मात्रै ९५ लाख खर्च हुने र आगामी आर्थिक वर्षदेखि उनिहरुको तलब सुविधा लगायतमा वार्षिक २ करोड ५५ लाख रुपैयाँ खर्च हुने अनुमान गाउँपालिकाले गरेको छ । तालिम अवधिमा उनीहरुलाई मासिक ३ हजार रुपैयाँ सुविधा र खाजा खर्चवापत दैनिक २५ रुपैयाँसमेत प्रदान गरिने भएको छ । उनीहरुलाई सिकर्मी, डकर्मी, दक्ष मिस्त्री, बाटो निर्माण, स्वास्थ्य, खेलकुद, विभिन्न विधामा नृत्य, गायन, नाटक, होटल व्यवस्थापन शिक्षासँग सम्बन्धित तालिम, पशुपाालन, कृषि, साथै परम्परागत काठ र बाँसका सामाग्री निर्माण,व्यावसायिक उद्यम विकास लगायतका विधामा तालिम दिइने पनि बताइएको छ ।
घरको कुनैपनि सदस्य सरकारी रोजगारीमा नभएको र आर्थिक अवस्था कमजोर भएकाहरुलाई पहिलो प्राथमिकता दिइने भएको छ । यससँगै महाशीला गाउँपालिकाका ६ वटै वडामा बेरोजगारीको समस्या अन्त्य हुने अनुमान गरिएको छ ।
लक्ष्मीप्रसाद सापकोटा