Logo

छाला जुत्ता तथा वस्तुको प्रदर्शनी सुरु

काठमाडौंको भृकुटीमण्डपमा आठौं बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तुको प्रदर्शनी सुरु भएको छ । नेपाल छाला जुत्ता उत्पादक संघद्वारा बुधवारदेखि कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो भन्ने नारासहित बुधबारदेखि आठौं बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तुको प्रदर्शनी शुरु गरेको हो ।

फागुण ९ गतेसम्म चल्ने प्रदर्शनीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले उद्घाटन गरिन् । मन्त्री चौधरीले नेपाली छाला जुत्ता उद्योगीहरुलाई प्रोत्साहन गरी उत्पादन बढाउने पक्षमा सरकार रहेको बताइन् । उनले पछिल्लो समय बजारमा देखिएको तरलता अभाव लगायतका समस्याबात तत्काल उद्योगी व्यवसायीहरु निराश नहुन आग्रह गरिन् ।

वर्तमान सरकार व्यवसायीहरुको समस्या समाधान गर्ने र अर्थतन्त्रलाई चलायमान बनाउने पक्षमा रहेको भन्दै उनले छाला जुत्ताको उत्पादन वृद्धि गरी निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने बताइन् । प्रदर्शनीमा नेपाल छाला जुत्ता उत्पादित कम्पनी आवद्ध विभिन्न उद्योगहरुले शतप्रतिशत छालाको प्रयोग गरी उत्पादन गरेका जुत्ताहरु राखिएको छ ।

छाला जुत्ता उत्पादनमा नेपाल आत्मनिर्भर बन्दै गएको संघले जानकारी दिएको छ । प्रदर्शनीको मुख्य उद्देश्य लघु घरेलु उद्योगलाई वैज्ञानिक रुपमा अधुनिकीकरण गर्दै विदेशमा निर्यात गर्ने वातावरण बनाई राष्ट्रिय अर्थतन्त्रलाई परिर्वतन ल्याउने रहेको छ । मेलामा करिव ७० देखि ८० हजार दर्शक भित्र्याउने लक्ष्य संघको रहेको छ ।

मेलामा छालाका नयाँ डिजाइनका आधुनिक जुत्ता, चप्पल तथा छाला जन्य वस्तुहरु राखिनेछ । मेलामा नेपाली उत्पादन महिला,पुरुष र बालबालिकाका लागि जुत्ता लगायत अल्लो र हेम्पबाट बनेका वस्तुहरुको प्रदर्शनीमा राखिएको छ । मेलामा अपाङ्ग व्यक्तिलाई विशेष छुटको व्यवस्था समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्