खजुरा र कोहलपुर साक्षर घोषणा «

खजुरा र कोहलपुर साक्षर घोषणा

बाँके- प्रदेश नम्बर ५ मा साक्षरता दरमा पछाडि परेको बाँके जिल्लामा ढिलै भएपनि साक्षर नगर घोषणा गर्न सुरु गरिएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये न्यूनतम मापदण्ड पूरा गरेका खजुरा गाउँपालिका र कोहलपुर नगरपालिकालाई साक्षर घोषणा गरिएको हो ।
शनिबार खजुरा गाउँपालिकालाई साक्षर घोषणा गर्दै प्रदेश नं. ५ की भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले बाँके र कपिलवस्तु साक्षर भएपछि प्रदेशलाई साक्षर घोषणा गरिने बताइन् । मन्त्री पौडेलले शिक्षाले जीवनलाई उज्यालो पार्ने बताउँदै साक्षरता अभियानमा आआफ्नो ठाउँबाट लाग्न सम्बन्धित सबैलाई आग्रह गरिन् ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतीले खजुराका ८ वटै वडामा १५ वर्षदेखि ६० वर्षसम्मका उमेर समूहका ९६.९९ प्रतिशत मानिस साक्षर रहेकाले खजुरा गाउँपालिकालाई साक्षर घोषणा गरिएको बताए । खजुरा गाउँपालिका साक्षर घोषणा प्रतिवेदन प्रस्तुत गर्दै उनले १५ वर्षदेखि ६० वर्षसम्मका ३८ हजार ९ सय १ जनसंख्या रहेकोमा ३७ हजार ८ सय १६ जना मानिस साक्षर रहेको बताए । उनले अब पूर्ण साक्षर बनाउन अगाडि बढ्ने जनाउँदै शिक्षाको मूलगेट खोल्ने काम साक्षरताले गर्ने भनाइ राखे ।
अध्यक्ष कक्षपतिले खजुरा गाउँपालिकाको शैक्षिक अवस्था बारे जानकारी दिँदै ३० वटा सामुदायिक, १७ मदरसा, १८ संस्थागत विद्यालय गरी ६५ विद्यालय, १ सामुदायिक क्याम्पस, १ निजी क्याम्पस २ वटा प्राविधिक धारका नमूना विद्यालय सञ्चालन भइरहेको र निकट भविष्यमा विएससीएजीको पढाइ हुने बताए । विभिन्न तहमा अध्ययन गर्ने करिब १७ हजार ८४९ विद्यार्थी रहेको खजुरा क्षेत्रलाई शैक्षिक हबको रुपमा समेत अगाडि बढाउन थालिएको उनले बताए ।
यसअघि दुई साताअघि कोहलपुर नगरपालिकालाई बाँकेको पहिलो साक्षर नगर घोषणा गरिएको थियो । नगरपालिकाभित्रका ९६.८५ प्रतिशत साक्षरताको संख्या रहेको भएपनि आगामी आर्थिक वर्षभित्रै सबै नगरवासीलाई साक्षर बनाउने गरी अभियान सञ्चालन गरिने कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले बताए । नगरपालिकाको कुल ९० हजार ९५६ जनसंख्यामा ३.१५ प्रतिशत अर्थात् २ हजार ८६९ नागरिकमात्र साक्षरताको समूहभन्दा बाहिर रहेको बताइएको छ ।
कोहलपुर नगरपालिकाका नगर शिक्षा शाखा प्रमुख अनन्तकुमार पौड्यालका अनुसार साक्षर घोषणाका १२ वटा मापदण्ड पूरा गरेर कोहलपुरलाई साक्षर नगरपालिकाका घोषणा गरिएको बताए । १५ वर्षदेखि ६० वर्षसम्मका उमेर समूहलाई कायम गरिएको सर्वेक्षणमा नगरभित्रका ३ वटा वडाले साक्षरताको अंक प्राप्त नगरेकाले कोहलपुरलाई पूर्ण साक्षर घोषणा गर्न नसकिएको उनको भनाइ छ । नगरभित्रका १५ वडामध्ये वडा नम्वर ४, ८ र १४ साक्षर घोषणा गर्न बाँकी रहेका छन् । “बाँकी रहेका तीनवटा वडालाई समेत साक्षरताको दायरामा ल्याएर केही समयभित्रै कोहलपुरलाई पूर्ण साक्षर नगरपालिकाका रुपमा घोषणा गर्ने योजनामा छौं,” उनले भने ।
यी दुई स्थानीय तहमा साक्षर घोषणा गरिएसँगै बाँकेलाई साक्षर प्रदेश घोषणा गर्न पनि बाटो खुलेको छ । प्रदेश नम्बर ५ का १२ जिल्लामध्ये बाँके र कपिलवस्तु साक्षर घोषणामा ढिलाइ हुँदा समग्र ५ नम्बर प्रदेश घोषणामा ढिलाई भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्