अर्थतन्त्र सञ्चालनको विधि नै परिर्वतन गर्नुपर्छ «

अर्थतन्त्र सञ्चालनको विधि नै परिर्वतन गर्नुपर्छ

अरुणराज सुमार्गी/ केन्द्रीय सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ संयोजक, कृषि उद्यम केन्द्र

आजबाट सुरु भएको मेलालाईयहाँले कसरी हेर्नु भएको छ ?

मकवानपुर उद्योग वाणिज्य संघ भनेको मकवानपुरको सबैभन्दा जेठो र संगठित रूपमा व्यवसायीहरूको हकहितका लागि काम गर्दै आएको संस्था हो । यसले यस क्षेत्रको विकासका लागि उत्पादन, राजनीतिक सामाजिक सबै क्षेत्रसँग सरोकार राखिरहेको हुन्छ । उद्योग वाणिज्य संघले आयोजना गर्ने महोत्सव भनेको यस क्षेत्रमा सम्भावनाको सर्भे गर्ने कसीको रूपमा लिइन्छ । यहाँ मनोरञ्जनमा कति खर्च गर्न सक्छन्, दर्शकहरूको भीड कत्तिको लाग्न सक्छ, कस्तो कस्तो व्यापारमा लगानी गर्न सकिन्छ भन्ने कुरा पनि महोत्सवबाट उजागर हुन्छ ।

नेपालका नाम कहलिएका कलाकार कति चर्चित छन् र उनीहरूको क्रेज कति छ भन्ने कुराको पनि मापन हुन्छ । राजा वीरेन्द्रलाई प्रमुख अतिथि बनाएर महोत्सव गरिएको इतिहास मकवानपुर उद्योग वाणिज्य संघसँग छ । महोत्सवमा सबै प्रकारको व्यवसायलाई लगातार १३ दिनसम्म एकै स्थलमा राखेर हामीले प्रदर्शन र बिक्री वितरण गर्छौं । मकवानपुर जिल्लाको क्रयशक्तिको मापनको रूपमा पनि महोत्सवलाई लिन सकिन्छ । मेलालाई हामीले परम्पराकै रूपमा लगिरहेका छौं ।

मकवानपुर नेपालकै ठूलो औद्योगिक क्षेत्र, ठूला बहुराष्ट्रिय उद्योगहरू भएको जिल्ला भएको हुँदा हेटौंडामा कुनै एक जमिन खोजेर औद्योगिक प्रदर्शनीस्थलकै रूपमा निर्माण गरी महोत्सव तथा प्रदर्शनी गर्नेतिर पनि हामीले सोच बनाएका छौं । भोलिका दिनमा कस्ता प्रकारका क्षेत्रमा लगानी गर्न सकिन्छ भन्ने कुराको ज्ञात पनि महोत्सवबाट हुन्छ । यो महोत्सव उद्योगी व्यवसायीहरूका लागि मात्रै नभई सबै क्षेत्रको एउटा चाड हो । सबैले मिलेर यसलाई सफल पारौं ।

अर्थतन्त्र समस्यामा छ यस्तो मेलाले अर्थतन्त्रलाई चलायमान गर्न कस्तो सहयोग पुर्‍याउँछ ?

सरकारले आयात गरेर व्यापार गर्नलाई भन्दा नेपालमा उद्योग स्थापना गर्न र उत्पादकत्व वृद्धि गर्नका लागि सहजीकरण गरेको अवस्थामा अर्थतन्त्रलाई मजबुद बनाउन सकिन्छ । कुन क्षेत्रमा उत्पादन भएका वस्तु तथा सेवालाई कस्तो नीतिगत सहजीकरण गरेर उत्पादकत्व वृद्धि गर्नसक्छ, कुनकुन वस्तुको निर्यात गर्न सकिन्छ यसमा सरकारले प्रष्ट नीति नियम बनाउनु आवश्यक छ ।

यसका लागि सरकारले छुट्टै नीति बनाउन लागि पर्नुपर्छ । नेपालको अर्थतन्त्रलाई मजबुद बनाउनका लागि सार्वजनिक खरिद भनेको जस्तै सार्वजनिक बिक्री ऐन बनाउनुपर्छ तबमात्र अर्थतन्त्रमा सुधार ल्याउन सकिन्छ । उद्योग धन्दा चलाउनका लागि सार्वजनिक खरिद ऐन छ, तर उद्योगले उत्पादन गरेको वस्तु बिक्री गर्नका लागि छुट्टै सार्वजनिक बिक्री ऐन छैन । हामीले उपभोग गर्ने वस्तुमा आत्मनिर्भर हुन चाहन्छौं, तर नीतिगत व्यवधानका कारण आत्मनिर्भर हुने अवस्था छैन ।

भएका ऐन नियमपनि समयसापेक्ष नहँुँदा थप समस्या उत्पन्न भएको छ । यसका लागि हामीले समयसापेक्ष लागू हुने खालको विशेष ऐन जारी गर्न सकेको अवस्थामा मात्र नेपालको आर्थिक विकास र आर्थिक समृद्धि हुन्छ । यस्तो विशेष ऐनलाई कुनै पनि सरकारी तवरबाट नीतिगत तथा व्यावहारिक अवरोध हुनु हँदैन । यसो भएमा आर्थिक समृद्धि हुन्न । सरकारले जारी गर्ने नीति नियममा कुन समयमा कहाँको गन्तव्यमा पुग्ने दीर्घकालीन योजना भएको अवस्थामा व्यापार व्यवसाय र उद्योग फस्टाउँछ ।

सरकार परिर्वतन भएपिच्छेको नीतिगत परिर्वतनले उद्योग धन्दा सञ्चालन गर्न, व्यापार व्यवसाय गर्ने वर्गलाई समस्या परेको छ ।यसका लागि सरकारले दीर्घकालीन योजनासहितको नीति तथा कार्यक्रम ल्याउन जरुरी छ । लगानी गर्न, कर तिर्न र व्यापार व्यवसाय गर्न सरकारले रातो कार्पेट बिच्छाउनु पर्छ । यसका लागि सरकारले अर्थतन्त्र सञ्चालन गर्ने विधि तथा पद्धति नै परिर्वतन गर्नुपर्छ । हाल भएको नीति नियम र अर्थतन्त्र सञ्चालन गर्ने विधि प्रकृयाले नेपालको अर्थतन्त्रमा सुधार ल्याउँदैन ।

स्थानीयस्तरमा हुने यस्ता मेलाको मुख्य उद्देश्य के हो ?

स्थानीयस्तरमा हुने मेला महोत्सवले स्थानीयस्तरमा नै उत्पादन हुने वस्तु तथा सेवालाई उपभोगका लागि खरिद गर्न र जानकारी दिन मेला आयोजन हुने गरेको छ । गाउँमा उत्पादन भएका वस्तु तथा सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्छ । मेला महोत्सवले स्थानीयस्तरका उत्पादनलाई राष्ट्रियस्तरमा बिक्री वितरण विस्तार गर्न तथा नयाँ वस्तु तथा सेवाको एकै थलोमा जानकारी प्रदान गर्छ ।

जसका कारण उनीहरूको उत्पादकत्वमा वृद्धि भएर आयआर्जनमा समेत वृद्धि हुन्छ । मेलाको अर्काे रूप भनेको महल हो । एकै थलोमा सबै वस्तु तथा सेवा पाउने खरिद तथा बिक्री गर्न पाउँछन् । स्थानीयउत्पादनहरूको प्रमोट हुन्छ । यसका लागि सार्वजनिक प्रदर्शनी केन्द्र हुनु आवश्यक छ । यसले सरकारको आर्थिक विकास र स्थानीय उत्पादन उपभोग गर्नमा टेवा पुर्‍याउँछ ।

कोभिडकालमा सबैभन्दा बढी समस्या परेको क्षेत्र घरेलु तथा साना उद्योग हो यस्ता मेलाले यो क्षेत्रलाई पुर्नःस्थापना गर्न सहयोग पुर्‍याउला ?

मेला महोत्सवले स्थानीय उत्पादनको बिक्री गर्न यसको उपभोगका लागि उपभोक्तालाई अभिप्रेरित गर्न सहयोग पुर्‍याउँछ । सानो लगानीमा स्थापना भएका सानो उद्योगले प्रचारप्रसार गर्न ठूलो धनराशी खर्च गर्नुपर्ने भएकाले गर्दा पनि मेला महोत्सवले प्रचारप्रसारमा सहयोग पुर्‍याउँछ भने साथै कोभिड–१९का कारण मारमा परेका साना तथा मझौला उद्योगको पुनरुत्थान र उपझोक्तामा ताजकिपन दिन पनि मद्दत पुर्‍याउँछ । यसले गर्दा मेला महोत्सवले अवश्य पनि पुनःस्थापना गर्न सहयोग गर्छ ।

मेला आयोजना गर्दा के कस्ता समस्या छन् ? सरकारी निकायबाट मेला आयोजना गर्नमा सहयोग पाउनु भएको छ ?

स्थानीय सरकार, प्रदेश तथा केन्द्र सरकारको सहयोगमा मेला महोत्सव आयोजना हुँदैछ । हेटौंडा हाल बागमती प्रदेशको राजधानी हो । हेटौैंडा पुरानो प्रशासनिक अड्डामात्रै होइन,६० वर्षभन्दा बढीको औद्योगिक संस्कार रहेको क्षेत्र पनि हो । क्षेत्रफलको हिसाबमा मुलुककै ठूलो औद्योगिक क्षेत्रको रूपमा हेटौंडामा हेटौंडा औद्योगिक क्षेत्र अवस्थित छ ।

२० मंसिर २०२० सालबाट हेटौंडा औद्योगिक क्षेत्रले सेवा सुरु गरेपछि मकवानपुरमा औद्योगीकरणको विकास र विस्तार हुँदै गएको हो । जिल्लामा उद्योग व्यापार क्षेत्रको विकास गरी समग्रमा देशकै आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले आज ११ माघ (बुधबार) देखि २३ माघसम्म मकवानपुर उद्योग वाणिज्य संघले बृहत् औद्योगिक व्यापार महोत्सवको आयोजना गर्दैछ । मेलामा सबै स्थानीय सरकारका वडाहरूले सहकार्य गरेका छन् ।

महोत्सव सबैको साझा कार्यक्रमहो यसमा सकारका सबै निकायबाट समन्वय र सहयोग गरेकाछन् । यसको अलवा छिमेकी जिल्लासहित तीनै तहको सरकारको सहयोग प्राप्त भएको छ । समस्या भनेको नेपथ्यमा रहेको दबाब समूहहरूले मेलामा सहभागिता जनाउनलाई बाधा अवरोध गरेका छन् । अदृश्य शक्ति तथा दबाबमूलक समूह जुन अदृष्य रूपमा संगठित समूहले भने केही व्यवधान गरेको छ । जुन विस्तारै निवारण गर्नैपर्ने चुनैती छ ।

प्रतिक्रिया दिनुहोस्