Logo

कामदार भिसा प्रक्रियामै भष्टाचार

मलेसियाका पूर्व उपप्रधानमन्त्रीविरुद्ध मुद्दा

मलेसिया जाने नेपाललगायत विदेशी कामदारको भिसा प्रक्रियामा भष्टाचार गरेको अभियोगमा मलेसियाका पूर्व उपप्रधानमन्त्री डा. अहमद जाहिद हमिदीलाई पक्राउ गरिएको छ । नेपाल सरकार र वैदेशिक रोजगार व्यवसायीले समेत अनियमित तरिकाले भीएलएन प्रणाली लागू गरी नेपाली कामदारबाट चर्को शुल्क असुलेको आरोप लगाइरहेको बेला रोजगारदाता मुलुककै उच्च तहका अधिकारीमाथि मुद्दा लागेको हो ।
मलेसियाको भष्टाचारविरुद्धको आयोगले पूर्व उपप्रधानमन्त्री हमिदीले पदको दुरूपयोग गरी अनियमिता गरेको मुद्दा चलाएको जनाएको छ । मलेसियाको स्टार अनलाइनले हमिदीले पदको दुरूपयोग गरी विदेशी नागरिकलाई उपलब्ध गराइने भिसा प्रणालीमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गरिने जनाएको छ । त्यहाँको भ्रष्टाचारविरुद्धको आयोगले हमिदीविरुद्ध बुधबार अभियोग दर्ता गराउनका लागि महान्यायाधिवक्ताको कार्यालयबाट अनुमति लिइसकेको मलेसियाली सञ्चारमाध्यमले जनाएका छन् । उनलाई यसअघि पनि त्यहाँको सरकारले व्यक्तिगत रूपमा बयान लिएको थियो । त्यसमा चित्तबुझ्दो कारण दिन नसकेका हमिदीलाई अब भने मुद्दा चलाइने भएको छ ।
मलेसियाको भ्रष्टाचारविरुद्धको आयोगले विज्ञप्ति जारी गदै हमिदीविरुद्ध राजधानी क्वालालम्पुरस्थित सेसन्स कोर्टमा बुधबार मुद्दा दर्ता गराउने जनाएको छ । यसैगरी शाह आलम सेसन्स कोर्टमा बिहीबार मुद्दा दर्ता गराउने तयारी गरेको स्टार अनलाइनले जनाएको छ । उनलाई सोमबार गिरफ्तार गरिएको र पछि जमानतमा रिहा गरिएको समेत द स्टारले जनाएको छ । मलेसियाको मानव संशाधन मन्त्रालयलाई श्रमिक स्रोत मुलुकले विदेशी कामदार दिने सम्बन्धमा अन्तर्राष्ट्रिय श्रम कानुन मान्न दबाब दिइरहेका बेला उच्च तहका अधिकारी पक्राउ परेका हुन् । हालै जेनेभामा सम्पन्न आईएलओ शतवार्षिकको अवरमा समेत विदेशी श्रमिकमाथि मर्यादित श्रम व्यवहार गर्न आवाज उठाइएको थियो । विदेशी श्रमिकमाथि रोजगारदाता मुलुकले गर्ने व्यवहारका सम्बन्ध श्रम गन्तव्य मुलुकमाथि दबाब पर्दै आएको छ । यसको फलस्वरूपमा पछिल्लो समय मलेसियाले समेत विदेशी कामदारमाथि आर्थिक र शारिक शोषणविरुद्ध रोजगारदातामाथि कडाई गर्दै आएको छ ।
नेपालमा भीएलएन प्रक्रियाअन्तर्गत सुरुमा ७ सय रुपैयाँ लिँदै आएकोमा एक्कासी शुल्क बढाएर ३ हजार ९ पु¥याएको थियो । पछि वानस्टप सेन्टरको नाममा सो रकम बढाएर ६ हजार ८ सय रुपैयाँ पु-याएको थियो । नेपालमा पनि विभिन्न शीर्षकमा मलेसिया जाने कामदारमाथि भिसा प्रक्रियाका नाम चरम ठगी हुँदै आएको थियो । नेपालस्थित भीएलएनका सञ्चालकलाई गत वर्ष २ अर्बभन्दा बढी ठगीको अभियोगमा प्रहरीले पक्राउ गरी मुद्दा चलाए पनि धरौटीका रिहा भएका थिए । नेपालमा भीएलएन कार्यलयले ४ वर्ष अघिदेखि काम गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्