बुटवल पावर कम्पनीको १२.५ प्रतिशत लाभांश पारित

बुटवल पावर कम्पनीले सेयरधनीलाई १२.५ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको साधारणसभाले सेयरधनीलाई आव २०७८/०७९ को मुनाफा तथा संचित नाफाबाट चुक्त पुँजीको ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने तथा ५ प्रतिशत बोनस सेयर जारी गर्ने निर्णय गरेको छ ।
नेपाल सरकारको आंशिक लगानी रहेका कारण कम्पनी ऐन, २०६३ बमोजिम सरकारको स्वीकृति लिएर सेयरधनीलाई नगद लाभांश यथाशक्य छिटो वितरण गरिने बताइएको छ । कम्पनीले सञ्चालन गर्दै आएका ९.४ मेगावाटको आँधीखोला र १२ मेगावाटको झिमरुक जलविद्युत केन्द्रहरु नियमित रुपमा सञ्चालन भइरहेका छन् ।
साथै सहायक तथा सम्वद्ध कम्पनीमार्फत सञ्चालित ४ मे.वाको खुदी जलविद्युत केन्द्र र ६० मे.वा.को खिम्ति प्रथम जलविद्युत केन्द्रको सञ्चालन सुचारु हुँदै आएको छ । खिम्ति प्रथम जलविद्युत केन्द्रको स्वामित्वको आधा हिस्सा जुलाई २०२० देखि नेपाल विद्युत प्राधिकरणमा गएको छ । लमजुङमा ३० मे.वाको न्यादी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भई २०७९ वैशाख २७ देखि सञ्चालनमा आएको छ ।
प्राधिकरणबाट निर्माण हुनु पर्ने प्रशारण लाइन निर्माणमा ढिलाई भएका कारण आयोजनाले वैकल्पिक प्रशारण लाइन निर्माण गरी विद्युत आपूर्तिको व्यवस्था गरिएको छ । ३७.६ मे.वाको कावेली ए जलविद्युत आयोजनाको स्थानीय रुपमा वित्तीय लगानी जुटाएर निर्माण कार्य पुनःसुचारु गर्नका लागि तयारी भरहेको कम्पनीले जनाएको छ ।
तीन चिनियाँ लगानीकर्तासँगको संयुक्त लगानीमा मस्र्याङदी नदीमा निर्माणको चरणमा रहेका अयोजनामा १३५ मेगावाटको मनाङ मस्र्याङदी जलविद्युत आयोजना, १३९.२ मेगावाटको तल्लो मनाङ मस्र्याङदी जलविद्युत आयोजना र ३२७ मेगावाटको माथिल्लो मस्र्याङदी दोश्रो जलविद्युत आयोजना क्यासकेड अर्ध जलाशययुक्त अवधारणामा (कुलजम्मा ६०१ मेगावाट) अगाडि बढाउने क्रममा छन् ।
मनाङ मस्र्याङदी जलविद्युत आयोजनाको निर्माण कार्य चालु आ.व. भित्रै शुरु हुनेछ । त्यस्तै ७.९ मेगावाटको चिनोखोला जलविद्युत आयोजना पनि निर्माणको तयारीमा रहेको छ । १६० मे.वाको मुगु कर्णाली जलविद्युत आयोजना र ७ मे.वाको झिमरुक सौर्य आयोजना पनि सम्भाव्यता अध्ययनकै क्रममा रहेका छन् ।