नेपालमा पहिलो चोटी डिजिटल ठेगाना प्रणाली सुरु

ठेगाना सर्भिसेजले ‘ठेगाना’ मोबाइल एप सार्वजनिक गरेको छ । नेपाली नयाँ वर्षसँगै ‘लन्च’ गरिएको आईओएस र एन्ड्रोइड दुवै अपरेटिङ सिस्टममा चलाउन सकिने ‘ठेगाना एप’ निःशुल्क डाउनलोड गर्न सकिने भन्दै कम्पनीले हाललाई सो एप एन्ड्रोइड अपरेटिङ सिस्टममा चलाउन सकिने र आईओएसमा एक सातापछि उपलब्ध हुने पनि जनाएको छ ।
ठेगाना एप ‘रि–इन्जिनियरिङ’ गरिएको यस्तो ठेगाना प्रणाली हो, जसमा नेपालको सतहलाई ८५ करोड १४ गुना १४ वर्गमा विभाजित गरिएको हुन्छ र हरेकवर्ग पहिचान गर्न विशिष्ट कोड दिइएको हुन्छ ।
यी कोडहरूले सबैका निम्ति नेपालभरि ठेगाना उपलब्ध गराउँदछ, जसमार्फत डेलिभरी सेवा प्राप्त गर्न, आपतकालिन सुविधा लिन, बैंक खातामा ठेगाना दर्ता गर्न, पैदल वा सवारी साधनबाट एक ठाउँबाट अर्काे स्थानमा पुग्न सहज डिजिटल सुविधा प्रदान गर्दछ ।
ठेगानाको कोडमा ९ वटा अक्षर वा नम्बरहरू दिइएका हुन्छन् । पहिलो ३ नम्बर वा अक्षरले सम्बन्धित जिल्ला जनाउँछ भने बाँकी ६ वटा नम्बर वा अक्षरहरूले तोकिएको स्थान जनाउँछ ।
अहिले चलाइरहेको ठेगाना प्रणाली निकै अव्यवस्थित र कमजोर रहेको हुनाले ठेगाना सेवालाई सक्दो सहज र भरपर्दाे बनाउन विभिन्न माध्यमहरूबाट तथ्यांक बटुलेर त्यसलाई ध्यानपूर्वक जाँची ‘डिजिटलाइज्ड’ गरेको ठेगाना सेवाका प्रमुख कार्यकारी अधिकृत विशाल केसीले बताए ।
हामीले स्मार्ट सिटीको चर्चा गर्न थालेको धेरै भइसक्यो भन्दै उनले स्मार्ट सिटीको जग नै स्मार्ट ठेगानाबाट सुरु हुनुपर्ने बताए । केसी भन्छन्– “हामी ठेगाना एपमार्फत स्मार्ट सिटीको जग हाल्दै स्मार्ट नागरिक तयार पार्ने अभियानमा हेलिन पाउँदा सुखानुभूति गरेकाछौं ।”