मनाङमा ३ करोडका १२ खानेपानी आयोजना

भौगोलिक कठिनाइका बाबजुत हिमाली जिल्ला मनाङमा तीन करोड रूपैयाँभन्दा बढीका खानेपानी आयोजना सम्पन्न हुने चरणमा पुगेका छन् । चालू आर्थिक वर्षमा सम्पन्न हुने गरी जिल्लाका विभिन्न क्षेत्रमा १२ वटा आयोजना निर्माणको अन्तिम चरणमा पुगेका हुन् ।
मनाङको ङिस्याङ, चामे, नारफु र नासोङ गाउँपालिकाअन्तर्गत ३ करोड ४० लाख रूपैयाँ लागतका १२ वटा वटा खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा पुगेको खानेपानी डिभिजन कार्यालय गोरखाअन्तर्गत बेसीशहर इकाइले जनाएको छ । दुर्गम र भौगोलिक कठिनाइका बाबजुत पनि कामले गति लिएको डिभिजन कार्यालय बेसीशहर इकाईका प्राविधिक विष्णु मिश्रले बताए ।
चालू आर्थिक वर्षमै सम्पन्न हुने गरी सुरु भएका आयोजनाको करिव ८० प्रतिशत काम सकिएको कार्यालयको दाबी छ । मनाङको ङिस्याङअन्तर्गत खाङसार, भ्राका, पिसाङ, ढिकुरपोखरी र ङावलमा गरी ६ वटा आयोजना निर्माण हुँदैछन् । यस्तै नारफुअन्तर्गत नार गाउँमा दुई आयोजना छन् भने चामेको कोतो र तिमाङमा गरी दुईवटा आयोजना निर्माणाधीन अवस्थामा छन् । यसैगरी नेस्याङको ताल गाउँमा एउटा खानेपानी आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेको कार्यालयले जनाएको छ ।
खानेपानी आयोजनामा संघीय सरकार र प्रदेश सरकारको छुट्टाछुट्टै लगानी छ । प्रदेश सरकारले मनाङको ङिस्याङअन्तर्गत ३० लाखको लागतमा भ्राका खानेपानी आयोजना, ४५ लाखको ङावल खानेपानी आयोजना, ६० लाखको लागतमा पिसाङ खानेपानी आयोजना, चामेअन्तर्गत ४० लाखको लागतमा तिमाङ खानेपानी आयोजना छन् । यसैगरी प्रदेश सरकारकै लागतमा नारफु गाउँपालिकामा ४० लाख र ३५ लाखको लागतमा दुई वटा नार खानेपानी आयोजना निर्माण सम्पन्नको चरणमा पुगेका छन् ।
यस्तै संघीय सरकारले ङिस्याङअन्तर्गत १५ लाखको लागतमा खाङसार खानेपानी आयोजना, ८ लाखको लागतमा पिसाङ खानेपानी आयोजना (ख), १० लाखको लागतमा ढिकुरपोखरी खानेपानी आयोजना, १२ लाखको लागतमा ङावल खानेपानी आयोजना (ख) निर्माण गरेको छ । यस्तै चामे गाउँपालिकाअन्तर्गत १५ लाखको लागतमा कोतो खानेपानी आयोजना र नासोङ गाउँपालिकाअन्तर्गत तालमा ३० लाख रूपैयाँको लागतमा ताल खानेपानी आयोजना निमाणाधीन अवस्थामा रहेको इकाइले जनाएको छ ।
जिल्लाका बाक्लो बस्ती र पर्यटकीय क्षेत्रमा ती आयोजना निर्माण भइरहेको हो । निर्माण गरिएका खानेपानी आयोजनामा २० हजारदेखि ५० हजारसम्मका रिजर्भ ट्याँकी ढलान गरी निर्माण गरिएको प्राविधिक मिश्रले बताए ।
पानीको पर्याप्त स्रोत भए पनि व्यवस्थित नहुँदा स्थानीयसँगै पर्यटकलाई पनि समस्या हुँदै आएको थियो । निर्माणाधीन खानेपानी आयोजनाबाट मनाङका करिव पाँच सय घरधुरी लाभान्वित हुने भएका छन् । सो बाहेक स्थानीय सार्वजनिक ठाउँ र पर्यटक लक्षित क्षेत्रमा पनि खानेपानीको व्यवस्थापन गरिएको छ ।
सन्देश पौडेल