व्यक्तिगत ठगी घट्यो, संस्थागत भने उस्तै

पछिल्लो समय वैदेशिक रोजगारीमा पठाउने भन्दै युवासँग पैसा लिइ ठगी गर्नेमा संस्थागत रूपमा सरकारबाट स्वीकृत लिएका म्यानपावर कम्पनी नै अगाडि देखिएका छन् । पछिल्लो समय व्यक्तिगत रूपमा ठगीका उजरी ५० प्रतिशतले घटे पनि संस्थागत भने घट्न सकेको छैन ।
गत वर्ष १ हजार १ सय व्यक्तिगत ठगीका उजुरी वैदेशिक रोजगार विभागमा परेकोमा चालू आर्थिक वर्षको जेठसम्म भने यो संख्या घटेर ७०० सयमा झरेको छ । यसैगरी, म्यानपावर कम्पनी अर्थात संस्थागत उजुरीको संख्या गत आवमा १ हजार २० रहेकोमा चालू आर्थिक वर्षको जेठसम्म १ हजार ९२ पुगेको छ । यसरी हेर्दा संस्थागत उजुरी चालू आवको एक महिनामा थप बढ्ने देखिन्छ । सरकारले वैदेशिक रोजगारीका विभिन्न क्षेत्रमा सुधार गर्दै लगे पनि सरकारबाट स्वीकृत लिएका म्यानपावर कम्पनी ठगीमा उद्यत रहेको देखिन्छ ।
सरकारबाट स्वीकृति लिएका म्यानपावर कम्पनीबिरुद्ध परेको उजुरीको संख्याका आधारमा व्यक्तिगतभन्दा संस्थागत ठगी मौलाउँदै गएको देखिन्छ । वैदेशिक रोजगारीका क्रममा पैसाको लेनदेन गरी युवालाई बिचल्लीमा पार्नेमा दर्तावाला म्यानपावर कम्पनी नै बढी देखिएका छन् । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपाली ठगीने क्रम बढेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । विदेशिने कति नेपाली ठगीन्छन् भन्ने सबै यकिन तथ्यांक कसैसँग नभए पनि वैदेशिक रोजगार विभागको मासिक तथ्यांकले करोडौंको ठगी हुने गरेको देखाएको छ । आर्थिक वर्ष २०७५-७६ को जेठ महिनासम्म वैदेशिक रोजगारीका क्रममा ठगीमा परेको भन्दै संस्थागत रूपमा उजुरी दिनेको संख्या १ हजार ९२ पुगेको छ ।
प्रगति विवरण हेर्ने हो भने व्यक्तिगत तथा संस्थागत उजुरी दिनेहरूको सख्या १ हजार ८१३ पुगेको छ । उजुरीबाट करिब ७४ करोड १७ लाख ११ हजार ५५८ रुपैयाँको बिगो रकम दाबी गरिएको छ । विभागका निर्देशक भोलानाथ गुरागाईंका अनुसार “पछिल्लो समय दावी गरिएको रकम पीडित पक्षसम्म पुगेको र अहिले पनि अनुसन्धान गरेर दावी गरिएका बिगो रकम पीडित पक्षसम्म पु-याउने लक्ष्य छ ।”
वैशाखसम्म व्यक्तिगत परेको उजुरी ६८ र संस्थागत उजुरीको संख्या ९१ रहेको छ । व्यक्तिगत र संस्थागत उजुरीको संख्या र दावी रकम हेर्दा व्यक्तिगत तर्फको ठगी डरलाग्दो देखिन्छ । वैदेशिक रोजगार विभागका अनुसार संस्थागत उजुरीअन्तर्गत स्वीकृतप्राप्त वैदेशिक रोजगार कम्पनीबाट हुने कमजोरीका कारण तथा कामदारमा पर्न जाने असुविधा र आर्थिक नोक्सानीविरुद्ध रहेका छन् । यस्तै व्यक्तिगततर्फका उजुरीमा विदेश पठाइदिन्छु भन्दै लाखौं रकम असुल्ने तथा ठग्नेको विरुद्ध उजुरी गरिएको हो ।
केही नेपाल ऐन संशोधन गरेर सरकारले म्यानपावरहरूलाई मर्ज प्रक्रियामा लैजाने निर्णय गरेको छ । अहिले १५ सय म्यानपावर छन् । धरौटी रकम बढाएर मर्ज प्रकियामा गए म्यानापवरको संख्या ७ सयमा झर्न छ । नेपाल सरकारले अनुमति दिएका व्यक्तिका एजेन्ट हुने तर पछिल्लो समय एजेन्टहरूको बोलीमा आएर धेरै नेपालीहरू ठगिने गरेका छन् । एजेन्टबाहेकका ठगीका मुद्दाहरू विभागअन्तर्गत नपर्ने विभागको भनाइ छ ।
विभागका निर्देशक भोलानाथ गुरागाईंका अनुसार वैशाखसम्म विभागमा दर्ता भएका उजुरीमध्ये ६९ उजुरीको फरफारक भएको छ । उजुरीकर्ताले गरेको उजुरीउपर विभागले हालसम्म अदालतमा १०१ मुद्दा दायर गरेको छ । मुद्दामार्फत् अदालतको बिगो दाबी व्यक्तिगत र संस्थागत गरेर १४ करोड ४९ लाख ५७ हजार ३७१ रुपैयाँ रहेको छ ।
मनिका खतिवडा-गोपाल संग्रौला