रामपुर र तानसेन नपाले गरे जग्गा वर्गीकरण «

रामपुर र तानसेन नपाले गरे जग्गा वर्गीकरण

पाल्पा जिल्लाका दुईवटा स्थानीय तहले जग्गाको वर्गीकरण गरेर स्वीकृतिका लागि सम्बन्धित निकायमा पठाएका छन् । जिल्लाको तानसेन र रामपुर नगपालिकाले आफ्नो क्षेत्रभित्रका जग्गाको वर्गीकरण गरेर स्वीकृतिका लागि सम्बन्धित निकायमा पठाएका हुन् । दुवै नगरपालिकाको भू–उपयोग परिषद्को बैठकले नगरभित्रका जग्गाको वर्गीकरण गरेको हो ।

तानसेन नगरपालिकाको बैठकले नगरभित्रका जग्गाको ६ वटा क्षेत्रमा वर्गीकरण गर्ने निर्णय गरेको छ । तानसेनभित्रका जग्गाको कृषि, आवास क्षेत्र, खानी क्षेत्र, सिमसार क्षेत्र, खानी उत्खनन् क्षेत्र, वन क्षेत्र र व्यावसायिक क्षेत्रमा वर्गीकरण गरेको नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले जानकारी दिए ।

नगरभित्रका सडक, वनजंगल तथा खानी क्षेत्रलाई विशेष आधार मानेर जग्गाको वर्गीकरण गरिएको उनको भनाइ छ । जग्गाको वर्गीकरण गरेर स्वीकृतिका लागि सम्बन्धित निकायमा पठाइएको सूचना अधिकारी आचार्यले बताए । यस्तै जिल्लाको रामपुर नगरपालिकाले पनि आवास, कृषि, व्यावसायिक, औद्योगिक क्षेत्र समेटेर जग्गाको वर्गीकरण गरेको जनाएको छ ।

नगरपालिकाले ६ मिटर चौडाइ भएको बाटोको दाँया–बाँया ५० मिटर, आठ मिटर बाटोको दाँया–बाँया ७० मिटर, १० मिटर बाटोको दाँया–बाँया ८० मिटर र १० मिटरभन्दा माथिका मापदण्ड भएका बाटोको दाँया–बाँया एक सय मिटरसम्मलाई आवासीय क्षेत्र निर्धारण गरेको छ । अंशबण्डा गर्दा आवास थप्नुपर्ने भए आपसी समझदारीमा मापदण्डअनुसार बाटो विस्तार गरी आवास बनाउन सकिने निर्णय गरेको नगर प्रमुख रमणबहादुर थापाले जानकारी दिए ।

यस्तै नगरपालिकाअन्तर्गत समथर भू–भाग छोडी अन्य पहाडी क्षेत्रमा बाटोको ३० मिटर दाँया–बाँया क्षेत्रलाई आवासीय क्षेत्र तोकेको छ । यसैगरी कालिगण्डकी करिडोरबाट एक सय मिटर दाँया–बाँयाको क्षेत्रलाई व्यावसायिक क्षेत्र तोकेको छ । रामपुर नगरपालिका–७ किसानबारीदेखि तुरुन्दीखोलासम्मको मूलबाटोमा पर्ने वीरेन्द्रटारको उत्तरतर्फको ९६ रोपनी जग्गालाई औद्योगिक क्षेत्र निर्धारण गरेको नगरपालिकाले जनाएको छ ।

नगरभित्र रहेका खानी तथा खनिज क्षेत्र, नदी, खोला, ताल, सिमसार क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्रबाहेकका अन्य क्षेत्रलाई कृषि क्षेत्र निर्धारण गरेको नगर प्रमुख थापाले बताए । जिल्लाका अन्य पालिकाले पनि जग्गाको वर्गीकरणको काम थालेको जनाएका छन् । माथागढी, पूर्वखोला, वगनासकालीले जग्गाको वर्गीकरण गर्न प्रारम्भिक छलफल गरेको जनाएका छन् ।

जिल्ला मालपोत कार्यालय पाल्पाका प्रमुख दुर्गाप्रसाद खनालले हालसम्म रामपुर र तानसेन नगरपालिकाले जग्गाको वर्गीकरण गरेर सकेको बताए । अन्य पालिकाहरूले जग्गाको वर्गीकरणका लागि छलफल गरिरहेको उनले बताए । जग्गाको वर्गीकरण नहुँदा पाल्पामा कित्ताकाट ठप्प भएको मालपोत कार्यालय प्रमुख खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्