सातबिसेमा झोलुंगे पुल निर्माण

म्याग्दीको मंगला गाउँपालिका-२ सिम र वडा नम्बर ३ सातबिसे जोड्ने झोलुंगे पुल निर्माण भएको छ । म्याग्दी नदीमा बनेको झोलुंगे पुल निर्माणले करिब एक घण्टा लाग्ने बाटो पाँच मिनेटमा छोटिएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत् उक्त १ सय १० मिटर पुल निर्माण गरेको हो ।
निर्माण व्यवसायीले निर्धारित समयमै पुल निर्माणकार्य सम्पन्न गरेको कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले बताए । २ फागुन २०७८ मा सम्झौता गरेको जुम्ली निर्माण सेवाले सस्पेन्सन प्रविधिको प्रयोग गरी टावर निर्माण गरेर पुल निर्माण गरेको हो । पुल निर्माणमा सामानबाहेक ३७ लाख ३४ हजारमा ठेक्का सम्झौता भएको थियो ।
पुल निर्माणको आवश्यक सामग्री भने झोलुंगे पुल शाखाले उपलब्ध गराएको थियो । पुल निर्माण भएपछि म्याग्दी नदीको वारिपारिका बस्तीका नागरिकलाई वारपारमा सहज भएको सिमका स्थानीय अगुवा धु्रव केसीले बताए । सिमबाट पर्यटकीयस्थल टोड्के र झाँक्रेपानी जोड्ने पदमार्गसमेत रहेकाले पुल निर्माण भएसँंगै पर्यटकलाई समेत आवतजावत गर्न सहज हुने केसीको भनाइ छ ।
सिम र सातबिसेका स्थानीयबासीले यसअघि ताराखेत र पखेरको पुल प्रयोग गरी घुमाउरो बाटोबाट वारपार गर्दै आएका थिए । म्याग्दी नदीमा बनेका पक्की पुल र झोलुंगे पुलले यात्रालाई सहज गराएको छ । कालिगण्डकी, म्याग्दी र रघुगंगा नदीमा पछिल्लो समय बनेका झोलुंगे पुलले एक गाउँदेखि अर्को गाउँसम्मको यात्रालाई सहज बनाएको छ ।