Logo

विपद् व्यवस्थापनमा महानगर सक्रिय २ सय घर खरमुक्त बनाइँदै

भरतपुर महानगरपालिकाको विपद् तथा जलवायु उत्थानशील योजना बनाउने काम अन्तिम चरणमा पुगेको छ । तीन महिनापछि योजनाको मस्यौदा तयार हुने क्रममा छ । २९ वटै वडा तहबाट विपद्को जोखिम क्षेत्र पहिचान गर्ने काम सकिएको छ । जेठ ७ देखि १५ गतेसम्म संकटासन्नता क्षमता लेखाजोखा गर्न स्वयंसेवक परिचालन भएका थिए । सर्वेक्षणलाई आधार बनाएर उत्थानशील योजना बनाइँदैछ ।
“विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य, उद्धार, राहत, पुनर्निर्माण लगायतका काम समेटर योजना बनाइँदैछ,” भरतपुर महानगरपालिका विपद् व्यवस्थापन शाखाका प्रमुख झलककुमार श्रेष्ठले भने, “मस्यौदा बन्दैछ, नगरसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।” यही योजनालाई आधार मानेर १५ वर्षसम्म महानगर क्षेत्रमा विपद् व्यवस्थापनको काम हुनेछ । “योजनामा ३ वर्षमा हुने काम बजेटसहित उल्लेख हुनेछन्,” उनले भने, “विपद्का सबै सूचकलाई सम्बोधन गरिनेछ, सुरक्षित सहर बनाउन सहयोग पुग्नेछ ।” उत्थानशील योजना विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाभन्दा बृहत् क्षेत्र समेटर तयार हुने उनको दाबी छ । “यस्तो योजना अतिथोरै स्थानीय तहले मात्रै बनाएका छन्,” उनले भने, “विपद् व्यवस्थापनको काम प्रभावकारी बनाउन योजना अतिआवश्यक हुन्छ ।”

उनले नगरसभाबाट योजना पारित भएपछि साउनदेखि नै कार्यान्वयनमा आउने बताए । भरतपुर महानगरमा विपद् व्यवस्थापनका लागि हाल २ दमकल चालू अवस्थामा छन् । आगो निभाउन फायर एक्सटिङ्गुइसर, ट्रयाक्टर, जेसीभी ३–३ थान छन् । अन्य विपद्का बेला उद्धारका लागि चाहिने सामग्री थोरैमात्रै छन् । महानगरले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन गत नगरसभाबाट पारित गरिसकेको छ । दमकल सञ्चालन कार्यविधि, विपद् कोष सञ्चालन कार्यविधिको मस्यौदा निर्माणको चरणमा छन् । विपद् व्यवस्थापनका लागि नगरस्तरीय र वडास्तरीय समिति बनिसकेको छ । बाढी तथा डुबानमा उद्धार गर्न रबर बोट खरिदको प्रक्रिया अघि बढेको छ ।
“तथ्य र तथ्यांक नहुँदा काम गर्न अप्ठ्यारो थियो,” उनले भने, “अब सहज बनेको छ, खोज तथा उद्धारका सामग्रीसमेत खरिद गर्दैछौं ।” महानगरले उत्थानशील योजना बनाउन भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) लाई परामर्शदाताका रूपमा काम दिएको छ । “जोखिम के छ, घटाउन कस्तो क्षमता चाहिन्छ, के गर्नुपर्छ भनेर ती योजनामा समेटिनेछ,” एनसेटका निर्देशक विजयकृष्ण उपाध्यायले भने, “योजना पूरै लगानी गरेर काम भएमा अर्थपूर्ण बन्छ, योजनामा मात्रै सीमित गरेमा यसले पनि काम गर्दैन ।” उनका अनुसार महानगर बाढी र वन्यजन्तु आक्रमणको उच्चजोखिममा छ ।
भरतपुर महानगरका उपमेयर पार्वती शाह ठकुरीले विपद् जोखिम कम गर्न महानगरले विशेष योजना बनाउन लागिरहेको बताइन् । “विपद् बाजा बजाएर आउँदैन, तर पूर्वतयारी भएमा जोखिम कम गर्न सकिन्छ,” उनले भनिन्, “महानगरलाई सुरक्षित सहर बनाउन विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएका छौं ।” प्रमुख प्रशासकीय अधिृकत नेत्रप्रसाद सुवेदीले महानगरले विपद् व्यवस्थापनका लागि आगामी वर्ष दोब्बर बजेट विनियोजन गर्ने तयारी गरेको बताए । यो वर्ष विपद् व्यवस्थापनका लागि १ करोड १० लाख मात्रै बजेट थियो । महानगर कार्यपालिका सदस्य पवित्रा केसीले विपद् व्यवस्थापन गर्न वडा तहबाटै अभियान चलाउनुपर्ने बताइन् ।
सबै वडामा अग्नि नियन्त्रक यन्त्र
महानगरले २९ वटै वडामा अग्नि नियन्त्रक यन्त्र जडान गर्ने भएको छ । आगामी वर्ष सबै वडा कार्यालयमा अग्नि नियन्त्रक यन्त्र (फायर एक्सटिङ्गुइसर) राखिने शाखा प्रमुख श्रेष्ठले बताए । हाल ३ थान महानगर कार्यालयमा मात्रै थिए । उनले सबै घरमा यस्ता यन्त्र जडान गर्न प्रोत्साहन गरिने बताए । विद्युतीय उपकरणको बढ्दो प्रयोगले आगलागीका घटना बढ्न सक्ने भन्दै महानगरले सर्तकता बढाएको बताए ।

२ सय खरका छाना हटाइँदै
भरतपुर महानगरले यही असारभित्र २ सय खरका छाना हटाउने तयारी गरेको छ । खरका छाना हटाएर जस्तापाता लगाउने काम गर्दैछ । सघन सहरी विकास कार्यक्रमअन्तर्गतको बजेटबाट खरमुक्त छाना बनाउन लागेको हो । “२० देखि २९ नम्बर वडाका खरका छाना हटाइनेछ,” विपद् व्यवस्थापन शाखाका श्रेष्ठले भने, “आवेदन मागेका थियौं, ती आवेदनबाट २ सय छनोटमा परेका छन्, छिटै काम सुरु हुन्छ ।” उनका अनुसार १ हजार ४१ घरले आवेदन दिएका थिए । असार २५ गतेभित्र २ घरका छानाका खर हटाएर जस्तापाता लगाइनेछ । “ती घरलाई आवश्यक जस्तापाता दिनेछौं,” उनले भने, “छाना छाउने काम घरधनीले नै गर्नेछन् ।”

प्रतिक्रिया दिनुहोस्