नेशनल लाईफ इन्स्योरेन्सद्वारा लाभांश पारित

नेशनल लाईफ इन्स्योरेन्सको ३४औं वार्षिक साधारण सभाले १५ प्रतिशत बोनस शेयर र सो वोनस शेयर वापतको कर प्रयोजनको लागि ३ करोड १८ लाख ५६ हजार ५१२ रूपैयाँ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । ३४औं वार्षिक साधारण सभाले उक्त निर्णय गरेको छ । सो सभा मंसिर १८ गतेका दिन कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको हो ।
नियामक निकायले यहि चैत्र मसान्तसम्म जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब रूपैयाँ पुर्याउनु पर्ने वाध्यात्मक ब्यवस्था गरेकोमा हालको पारित भएको वोनस शेयर लाभांशबाट कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६४ करोड ४ लाख ३१ हजार ८७५ रूपैयाँ पुगेको छ र बाँकी रहने चुक्ता पूँजी आगामी दिनमा तोकिएको समय भित्र सहज रुपमा पुग्नेछ ।
सभामा अध्यक्षले विगतमा कोभिड-१९ को महामारी सबैको लागि चिन्ताको विषय भए पनि हाल आएर कोभिड १९ विरुद्धको विस्तृत खोप एव घट्दो महामारीको प्रकोपको कारणले अर्थतन्त्र सुधारको अवस्थामा पुगी राष्ट्रिय अर्थतन्त्र सकारात्मक दिशा तर्फ गएको बताइन् । नियामक निकायले लिएको विभिन्न कदमहरुका कारणले आ.व.२०७७/०७८ मा बीमाको पहुँचमा उल्लेखनीय बृद्धि भएको र नेपाल सरकार र नियामक निकायको सहयोगात्मक नीतिहरुका कारणले गर्दा बीमा बजार आउने दिनहरुमा थप फस्टाउने आशा गरिन् ।
लामो समय पश्चात बीमा ऐन २०७९ लागू भएकोमा अध्यक्षले खुशी व्यक्त गर्दै यसवाट नियामक निकायलाई बीमा क्षेत्र थप नियमन गर्न सहज हुने र बीमा क्षेत्र थप व्यवस्थित भइ बीमाको पहुँचमा अझ बृद्धि हुने विश्वास व्यक्त गरिन् । कम्पनीको कूल बीमाशुल्क ३५.१५ प्रतिशतले बृद्धि भइ १ हजार २५२.४६ करोड रूपैयाँ पुगेको छ । जीवन बीमा कोष २५.६३ प्रतिशतले बृद्धि भइ ४ हजार २०४ करोड रूपैयाँ पुगेको र कूल लगानी २३.२० प्रतिशतले बृद्धि भइ ३ हजार ९२४.७० करोड रूपैयाँ पुगेको छ ।
कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालीन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको वार्षिक औसत प्रतिफल सन्तोषजनक छ र सो आ.व.२०७७/०७८ मा ९.६७ प्रतिशत कायम रहेको छ । कम्पनीले नेपालगंज स्थित आफ्नो स्वामित्वमा रहेको जग्गामा भवन निर्माण कार्य शुरु गरेको छ र कम्पनीको अन्य शाखाहरुमा पनि यो प्रक्रिया शुरु गरिने छ । कम्पनीले आफ्नो अभिकर्ता सन्जाललाई थप व्यवसायीकरण गर्ने एवं सूचना प्रविधि क्षेत्रलाई अद्यावधिक गर्ने कार्यमा निरन्तर लगानी गर्नेछ ।
यसैगरी कम्पनीको आ.व.२०७७/०७८ को बीमाङ्कीय मूल्याङ्कन सन्तोषप्रद रहेको र नियामकीय निकायको निर्देशन अनुसार पर्याप्त फ्युचर बोनस प्रोभिजनिंग गरेर बीमितहरुलाई दिइ आएको वोनस दरमा यथावत निरन्तरता दिई बीमितहरुलाई उचित प्रतिफल दिन सफल भएको छ । कम्पनीले व्यवसायीक लक्ष्य र संस्थागत सामाजिक उत्तरदायित्व बीचको सन्तुलनलाई निरन्तरता दिई एक प्रतिष्ठित गैर सरकारी संस्था एक एक पाईलालाई सिन्धुपाल्चोकमा सामुदायिक अस्पताल स्थापना गरी सञ्चालन गर्न ३ वर्षको लागि वित्तिय सहयोग उपलब्ध गराउन समझदारी गरेको छ ।