Logo

स्याङ्जाको भीरकोटमा बसपार्क सञ्चालन

स्याङ्जाको भीरकोट नगरपालिकाले बसपार्क सञ्चालनमा ल्याएको छ । भीरकोट–१ सिसौघारीमा १० वर्षको लागि जग्गा भाडामा लिएर नगरपालिकाले सानाठुला गरी झण्नै २ सय सवारी पार्किङ क्षमताको बसपार्क सञ्चालनमा ल्याएको हो ।बसपार्कको शुभारम्भ गर्दै भीरकोट नगरप्रमुख छायाँराम खनालले सभ्यता सिकेर अंगिकार गर्दै सभ्य समाज तथा समृद्ध नगर निर्माणमा लाग्नुपर्ने बताए । बढ्दो बजारीकरणसँगै बजारलाई व्यवस्थित गर्न बसपार्कको आवश्यकता रहेको भन्दै नगरले भाडामा बसपार्क सञ्चालनमा ल्याएको प्रमुख खनालले बताए ।
“साँघुरो सडकमा सडकको दायाँबायाँ पार्किङ गर्दा दुर्घटनाको जोखिम, बजारको सुन्दरता नरहने, बजार व्यवस्थित नहुँने भिन्नभिन्न समस्याको समाधान स्वरुप बसपार्क सञ्चालनमा ल्याउन सफल भएको छौँ ।” उनले भने, “बसपार्कको सही सदुपयोग गरी सुन्दर र नमुना भीरकोट निर्माणका लागि सरोकारवाला सबैले सहयोग आवश्यक छ ।”
प्रत्येक आर्थिक वर्षमा प्रतिरोपनी १५ हजार भाडा दिने गरी झन्डै १५ रोपनी जग्गा भाडामा लिएर सञ्चालनमा ल्याइएको बसपार्क ११ लाख २० हजारको लागतमा निर्माण सम्पन्न भएको नगरपालिकाका प्रशासकिय अधिकृत धर्मराज ढुङ्गानाले जानकारी दिए ।
सञ्चालनमा आएको बसपार्कमा पार्किङ दररेट कायम गरिएको नगरपालिकाले जनाएको छ । स्काभेटर, लोडर, डोजर प्रतिघण्टा ४०, प्रतिदिन १ सय ५० र प्रतिमहिना ४ हजार, बस, ट्रक, टिप्पर, ट्र्याक्टर प्रतिघण्टा ३०, प्रतिदिन १ सय २० र एक महिनाका लागि ३ हजार, जिप, कार, भ्यान, टेम्पो प्रतिघण्टा २०, प्रतिदिन १ सय र प्रतिमहिना २ हजार रुपैयाँ कायम गरिएको छ ।  –प्रकाश डोटेल

प्रतिक्रिया दिनुहोस्