Logo

मानव मलमुत्रीय प्रशोधन केन्द्र स्थापना गरिने

मेचीनगर नगरपालिका–१४ मा ८ करोड रूपैयाँको लागतमा ‘मानव मलमुत्रीय व्यवस्थापन केन्द्र’ निर्माण गरिने भएको छ । असार अन्तिम सातादेखि प्रशोधन केन्द्र सञ्चालनमा आउने साना सहरी, खानेपानी तथा सरसफाई उपभोक्ता समिति चारआलीका अध्यक्ष लालबहादुर थेबेले जानकारी दिए । २ विगाह ५ कठ्ठा जमिनमा निर्माण हुँदै गरेको प्रशोधन केन्द्रबाट प्राङ्गारिक मल उत्पादन हुने थेबेले बताए । समितिले २७ घनमिटरका ५६ वटा मुख्य प्लान्ट निर्माण गरेर संकलित मलमुत्र भण्डारण गर्ने जनाएको छ । निर्माणको ९५ प्रतिशत काम सकिएको छ । प्रथम चरणमा नाफामुखीभन्दा पनि सेवामुखी बनाउने र केही वर्षपछि आम्दानीसमेत लिने योजना स्थानीय तहले बनाएका छन् ।
सहरी क्षेत्रमा उत्पन्न हुने मानव मलमुत्र व्यवस्थापनका लागि झापामा अहिले सुरक्षित स्थान छैन । ढल तथा सेफ्टी ट्यांकी सरसफाइ व्यवसायी सहरमा उत्पन्न त्यस प्रकारको लेदो खोला–खोल्सा, खेत र बन क्षेत्रमा फाल्दै आएका छन् । जसका कारण पर्यावरण सन्तुलनमा असर पुग्नुका साथै रोगको प्रकोप फैलिने गरेको छ । एसियाली विकास बैंकले ८५ प्रतिशत लागत अनुदान र बाँकी १५ प्रतिशत स्थानीय तहको लगानी रहेको आयोजनाको ठूलो हिस्सा बिर्तामोड नगरपालिकाको रहने बिर्तामोड नगरपालिकाका प्रमुख धु्रबकुमार शिवाकोटीले बताए । बिर्तामोड नगरपालिकाले ५७ प्रतिशत, बुद्धशान्ति गाउँपालिकाको २९ र मेचीनगरले १४ प्रतिशत लगानी गरेर आयोजनाको निर्माण सम्पन्न हुन लागेको प्रमुख शिवाकोटीको भनाइ छ । मेचीनगरको आधा भूभाग मात्र आयोजनाले समेट्ने भएका कारण सो नगरपालिकाको लागत सहभागिता थोरै भएको बताइएको छ । अग्र्यानिक मल बनाएर किसानलाई बिक्री गर्ने लक्ष्य बनाइएको छ । फोहोर व्यवस्थापन कुन तरीकाले गर्ने भन्ने विषयमा ३ वटै स्थानीय तह बसेर निर्णय गर्ने प्रमुख शिवाकोटी बताउँछन् ।

प्रशोधन प्रक्रिया
लेदोलाई सबैभन्दा पहिले प्रशोधन केन्द्रको ‘स्क्रिनिङ चेम्बर’ मा हालिन्छ । त्यहाँबाट भल्बले कन्ट्रोल गर्दै ‘स्लच ड्राइङ बेड’मा पु¥याउँछ । ड्राईङ बेडमा लेदोलाई १८ महिना राख्नुपर्ने हुन्छ । त्यसपछि कम्पोष्ट यार्डमा एकमहिना राखेर भान्साबाट निस्कने कुहिने सागसब्जी लगायतसँग मिसाउनुपर्छ । लेदोको मात्रा ७० प्रतिशत र अन्य मलको मात्रा ३० प्रतिशत मिसाएर अरु एक महिना राखेपछि खेतबारीमा प्रयोग गर्नका लागि मल तयार हुन्छ । स्लच ड्राइङ बेडबाट निस्किएको पानी ‘एनारोबिक वेफल रिएक्टर’मा प्रशोधन हुन्छ । फेरी ‘प्लान्टेड ग्राभल फिल्टर्ड यार्ड’ हुँदै ‘पोलिसिङ पोण्ड’मा जम्मा हुन्छ । त्यहाँ जम्मा भएको पानी सफा हुने भएकाले खोलामा फ्याँक्न वा खेतबारीमा बिसर्जन गर्न सकिने आयोजनाका उपनिर्देशक रामकुमार श्रेष्ठले बताए । पोलिसिङ पोण्डमा जम्मा भएको पानी किटाणु, रंग र गन्धरहित हुने श्रेष्ठ बताउँछन् । उत्पन्न मलमा उर्वराशक्ति बढी हुने भएकाले बालीका लागि उपयुक्त हुने आयोजनाका परामर्शदाता केशवराज विष्टले बताए । कतिपय विकसित देशमा यस्तो मलको माग उच्च हुने गरेको जानकारी उनले दिए । रासायनिक मलको प्रयोग गरेर उर्वराशक्ति ह्रास भएको जमिनमा यो मल प्रभावकारी सावित हुने गरेको विष्टले बताए ।
प्रशोधन केन्द्रले अहिलेसम्म मलको व्यवसायिक कारोबारको विषयमा योजना नबनाएको साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था चारआलीका सचिव मधुसुधन निरौलाले बताए । मलमुत्रको व्यवस्थापन नहुँदा फैलिने रोगको प्रकोप नियन्त्रण गर्नसमेत सहयोग पुग्ने उनले बताए । बंगलादेशमा त्यस्तो मल एक केजीको १८ रूपैयाँ (टाका) पर्ने जानकारी अध्यक्ष थेबेले दिए । सञ्चालनको दुई वर्षपछि समितिले त्यही बमोजिमको मूल्य तोकेर बिक्री गर्ने लक्ष्य राखेको छ । मलको व्यवसायिक उत्पादन सुरु भएपछि झापाको कृषि उत्पादनमा उल्लेख्य योगदान पुग्ने दाबी थेबेको छ ।
बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनको आर्थिक सहयोग र एसियाली विकास बैंकसँगको साझेदारीमा झापाको मेचीनगर नगरपालिकामा ‘मानव मलमुत्रीय व्यवस्थापन केन्द्र’ निर्माण हुने भएको हो । बिर्तामोड नगरपालिका, बुद्धशान्ति गाउँपालिका र मेचीनगर नगरपालिकामा उत्पादन हुने मानव मलमुत्र प्रशोधन केन्द्र निर्माण हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्