श्रमिक मृत्युको कारण खोज्न कतार असफल
श्रम शोषणकै बीच कतार विश्वकप: एम्नेष्टी

विश्वकप फुटबल सुरु हुन एक महिना बाँकी रहँदा मानवअधिकार संस्थाहरुले फिफा र कतारलाई घरेलु र सुरक्षा क्षेत्रमा कार्यरत धेरै विदेशी श्रमिकमाथि हुने शोषण अन्त्य नभएको जनाएका छन् ।
एम्नेस्टी इन्टरनेसनलले पछिल्लो प्रतिवेदन सार्वजानिक गर्दै नेपाल लगायतका दुव्यवहारमा परेका विदेशी श्रमिकको क्षतिपूर्तिका लागि कोष स्थापना गर्न पुन: आह्वान गरेको छ । नेपाल लगायत अन्य देशका श्रमिकमाथि हुने श्रम शोषण र त्यसको सुधारका लागि गरिएका प्रतिवद्धता पूरा नभएपछि एम्नेस्टी इन्टरनेसनलले सुधार गर्न अनुरोध गरेको हो । सन् २०१७ देखि कतारले आफ्नो श्रम प्रणालीमा ल्याएको परिमार्जनले देशका २० लाख आप्रवासी श्रमिकका लागि केही देखिने उल्लेखनीय सुधारहरू ल्याएको देखिएपनि थप सुधार गर्न बाँकी रहेको जनाएको हो । “सबै परियोजनाका हजारौं श्रमिकहरूले अझै पनि तलब नपाउने वा ढिला गरी पाउने, आरामका लागि छुट्टी नपाउने, असुरक्षित अवस्थामा काम गर्नुपर्ने, काम परिवर्तन गर्नमा अवरोध गरिने र न्यायमा सीमित पहुँचको सामना गरिरहेका छन्” एम्नेष्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “अर्कोतिर हजारौं श्रमिकको मृत्युको अनुसन्धान हुन सकेको छैन ।”
पछिल्ला पाँच वर्षमा कतारले श्रम अधिकारमा महत्वपूर्ण काम भएपनि थप सुधार गर्नुपर्ने काम धेरै रहेको मानव अधिकारवादी संस्थाले दाबी गर्दै आएका छन् । एम्नेस्टी इन्टरनेसनलका आर्थिक र सामाजिक न्याय प्रमुख स्टिभ ककबर्नले कानुनमा भएका छिद्रहरू तथा कानुनको अपर्याप्त कार्यान्वयनका कारण हजारौं श्रमिकहरू अझै शोषण र दुव्यवहारको परिचित चक्रमा फसिरहेको बताएका छन् ।
“विश्वकप नजिकिँदै गर्दा, आप्रवासी श्रमिकलाई शोषणबाट जोगाउने कार्य आधा मात्र पूरा भएको छ भने दुव्यवहार भोगेकालाई क्षतिपूर्ति दिने कार्यको केबल सुरूवात मात्र भएको छ” ककबर्नले भने, “दीर्घकालमा शोषणको अवस्थाको सुधारका लागि कतार प्रतिबद्ध हुनुपर्ने अत्यावश्यक छ । विश्वकपको प्रचार प्रसार र प्रसारण दोहाबाट सकिएपछि पनि त्यहाँ सुरू गरिएका प्रगतिहरू रोकिनु हुँदैन ।”
कतारले सन् २०१७ देखि लागू गरेका सुधारहरूमा घरमै बस्ने घरेलु श्रमिकका लागि काम गर्ने अवस्था नियमन गर्ने कानुन, न्यायमा पहुँच सहज गर्नका लागि श्रम न्यायधिकरण, तिर्न बाँकी ज्यालाको भुक्तानीलाई सहयोग गर्न एक कोष र न्यूनतम पारिश्रमिकका विषयमा सुधार गरेको थियो । कतारले मानवअधिकारका दुईवटा प्रमुख अन्तर्राष्ट्रिय महासन्धिलाई अनुमोदन पनि आप्रवासी श्रमिकहरूको ट्रेड युनियनमा सामेल हुने अधिकारलाई भने मान्यता दिएको छैन ।
जबर्जस्ती श्रम र रहस्यमय मृत्यु
कतारमा विश्वकप र गैर–विश्वकपसँग सम्बन्धित परियोजनामा आप्रवासी श्रमिकहरूले उल्लेखनीय रूपमा दुव्यवहारको सामना गरिरहेको पनि एम्नेष्टीले दाबी गरेको छ । विशेष गरेर घरेलु र सुरक्षा क्षेत्रमा धेरै श्रमिकहरू अझै पनि जबर्जस्ती श्रमकै अवस्थामा रहेको जनाइएको छ । घरेलु श्रमिकहरू अझै पनि सामान्यतया: दिनको १४ देखि १८ घण्टासम्म हप्ताको एक दिन पनि बिदा नलिई निजी आवासहरूमा एक्लिएर काम गर्न बाध्य भएको जनाइएको छ ।
सुरक्षा गार्डहरूलाई बारम्बार आफ्नो आरामको लागि छुट्टीको सुविधाबाट वञ्चित गरिएको र तलब काट्ने वा कहिलेकाहीँ राहदानी नै जफत गर्ने जस्ता शोषणमा गर्ने गरेको एम्नेष्टीको दावी छ । विगतको एक दशकमा विश्वकपसँग सम्बन्धित परियोजना र अन्य कार्यक्षेत्रमा भएका हजारौं आप्रवासी श्रमिकको मृत्युका कारण अझै अस्पष्ट रहेको उल्लेख छ । यी मध्येका सयौं श्रमिकको मृत्युको कारण अत्यधिक गर्मीमा काम गर्दाको भएको बताइएको छ ।
२० अक्टोबर सन् २०२० यता सरकारले तीन लाख आप्रवासी श्रमिकको काम स्थानान्तरण गर्ने आवेदनलाई अनुमोदन गरेको दाबी गरे पनि कामका बारेमा गुनासो गरेका वा काम परिवर्तन गर्न खोजेका श्रमिकलाई शोषण गर्न र कारबाही गर्न रोजगारदाताले आफ्नो शक्ति प्रयोग गरी भिसा रद्द गरेको जनाइएको छ ।