Logo

आर्थिक समृद्धिको आधार तयार भएको दाबी

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नयाँ संविधान कार्यान्वयनमा आइसकेपछि आर्थिक समृद्धिका महत्वपूर्ण आधार तयार भएको बताएकी छन् । वाम–लोकतान्त्रिक गठबन्धनले ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ऊर्जा उत्पादनमा नेपाल आत्मनिर्भरतातर्फ अगाडि बढेको दाबी गरिन् ।
“स्वच्छ ऊर्जाको निर्यात गर्ने अवस्थामा हामी पुगेका छौं, भौतिक पूर्वाधार, शैक्षिक एवं स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन भई जनताको जीवनस्तरमा केही सुधार आएको छ,” उनले भनिन्, “यस्ता कार्यक्रमलाई अझ प्रभावकारी एवं गुणस्तरीय तुल्याई आर्थिक आधार सबल गर्नु हामी सबैको दायित्व हो ।”
समृद्ध मुलुक, सम्पन्न नेपालीको सपना साकार गर्ने साझा लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन जरुरी रहेको जनाउँदै उनले प्राप्त उपलब्धिको संरक्षणका लागि निरन्तर संयुक्त संघर्ष जारी तथा समुन्नत आर्थिक–सामाजिक विकासको महाअभियान सञ्चालन गर्नुपर्ने बताइन् ।
“सामाजिक न्यायसहितको संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको चरणमा छ, नागरिकको मौलिक अधिकार पनि सुनिश्चित हुने क्रममा छ,” उनले भनिन्, “प्राप्त उपलब्धिको रक्षा र सवलीकरण गर्नुपर्ने अबको दायित्वलाई अझ प्रभावकारी तवरले अगाडि बढाउनुपर्नेछ ।” ललितपुर क्षेत्र नं ३ का उम्मेदवारसमेत रहेकी मन्त्री भुसालले ललितपुरवासीका लागि कला, सम्पदा, संस्कृति र परम्पराको प्रवद्र्धन समृद्धिको महत्वपूर्ण आधार रहेको बताइन । उनले कला, सम्पदा, संस्कृति र परम्परालाई यहाँका हरेक घरपरिवारको आर्थिक उपार्जनसँग जोडनुपर्ने उनको भनाइ थियो ।
“व्यवस्थित एवं आधुनिक कृषि कर्मको प्रवद्र्धन गर्दै यहाँ उपलब्ध खेतीयोग्य जमिनको संरक्षण गरी कृषि पर्यटनको अवधारणा लागू गर्नुपर्दछ,” उनले भनिन्, “त्यसका लागि आवश्यक पर्ने नीतिगत व्यवस्था, प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्न आवश्यक छ ।”

रोल्पाका ग्रामीण सडक अझै खुल्न सकेनन्
रोल्पा, १ कात्तिक (रासस): रोल्पाका ग्रामीण भेगका सडक अझै खुल्न सकेका छैनन् । वर्षायाम सुरु भएसँगै अवरुद्ध भएका अधिकांश सडक खुलेका छैनन् । सडकको माथि र मुनिबाट पहिरो खसेपछि स्थानीयलाई हिँडडुल गर्न समस्या भएको छ । पहिरोका कारण हिँडडुल गर्न समस्या भएको रोल्पा नगरपालिकाका–९ का दलबहादुर खत्रीले बताए । “वर्षामा आएको पानीले पुरै बाटो बिग्रेर ठप्प छ,” खत्रीले भने ।
पहिरो नखसेको ठाउँसमेतमा सडक चिरा चिरा परेर आवातजावतमा कठिनाइ भएको बताइएको छ । सडकमा पहिरो खसेकाले दसैं मनाउन घर जाँदा सारै सास्ती भोग्नुपरेको परिवर्तन गाउँपालिकाका लोकेन्द्र चन्दले दुखेसो पोखे । “धेरैजसो ठाउँमा सडक अवरुद्ध छ सबै हिँडेर जानुपर्ने बाध्यता छ,” चन्दले भने । जिल्लाको सदरमुकाम लिवाङसँग सबै वडा सडक सञ्जालसँग जोडिएको भए तापनि मापदण्डविपरीत खनिएका सडकमा पहिरो खसेपछि अवरुद्ध भएका हुन् ।
सम्बन्धित निकायले ध्यान नदिँदा यात्रु भए पनि सवारी चलाउन मुस्किल भएको यातायात व्यवसायीले गुनासो गरेका छन् । मापदण्डविपरीतका सडक खन्दा वर्षायाममा बाढी पहिरो जाने गरेको स्थानीयवासीको भनाइ छ । वर्षा सकिएर चाडवाडको समय सुरु भए पनि गाउँँगाउँँ पुग्ने सडक नखुल्दा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ ।
रोल्पाको सदरमुकाम लिवाङदेखि सहिद मार्ग हुँदै थवाङ जाने सडक खण्ड र सनिलस्मृति गाउँपालिकाको सुलिचौर हँुदै सुनछहरी गाउँपालिका जाने सडक खण्डको विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । एक नगरपालिका र नौ गाउँँपालिका रहेको रोल्पामा ७२ वडा छन् ।

प्रतिक्रिया दिनुहोस्