फूल खेतीमा रमाउँदै वडाध्यक्ष

जनताको कामको अलवा आफ्नो बारीमा बेमौसमी फूलखेती गरी व्यावसायिक कृषकको समेत परिचय बनाएपछि हेटौंडा–१२ नम्बर वडाका वडाध्यक्ष ललित घलानले धेरैको प्रशंसा बटुलेका छन् । फूलखेतीबाट उनले मनग्य आम्दानी पनि गरिरहेका छन् ।
गतवर्षदेखि व्यावसायिक फूलखेती सुरु गरेका घलानको बारीमा यसवर्ष पनि बेमौसमी सयपत्री फूलको ढकमक्क फुल्न थालेको छ । घलानलाई अहिले हेटौंडाका विभिन्न सभा समारोहमा फूलको माला पु¥याउन भ्याइनभ्याई छ । सभा समारोहमा फूलको माला चाहिए घलानलाई नै सम्पर्क गर्ने गर्दछन् । चैतमा सयपत्री फूलका बिरुवा रोपेका अध्यक्ष घलानको बारीमा अहिले फूल बिक्रीका लागि तयार भएको छ । गर्तवर्ष सात कठ्ठामा फूलखेती गरी दुई लाख ५० हजार आम्दानी गरेका घलानले यसपटक १० कठ्ठामा फूल रोपेका छन् ।
“अघिल्लो वर्ष सिजनकै बेला फूलखेती गरेर राम्रै आम्दानी गरेको थिएँ, यसपाला पनि फूल रोपेको तीन महिना नपुग्दै तीन सयभन्दा बढी माला बेचिसकेको छु,” घलानले भने । यसवर्ष सयपत्री खेतीमा एक लाख रुपैयाँ लगानी गरेको उनले सुनाए । उनले प्रतिमाला ८० रुपैयाँदेखि एक सय रुपैयाँ मूल्य निर्धारण गरेका छन् ।
“सयपत्री फूल दसैं तिहारमा मात्रै नभई पूजाआजा, विभिन्न कार्यक्रम, विवाह व्रतबन्धजस्ता विभिन्न कार्यक्रमका लागि सधैं आवश्यक पर्छ । तर, हामीकहाँ व्यावसायिक फूलखेती गर्नेहरू धेरै कम छन्, चाहिएको बेला भारतबाट माला ल्याउनुपर्ने बाध्यता छ, मैले चाहिँ अब सबै मौसममा फूल उत्पादन गरी बजारको आवश्यकता पूर्ति गर्ने प्रयास गरिरहेको छु,” उनले भने । उनका अनुसार रोपेको सयदेखि एक सय २० दिनमा सयपत्री तयार हुन्छ । गतवर्ष हेटौंडालगायत काठमाडौंसम्म पनि फूलको माला निर्यात गरेका घलानले यसवर्ष भने हेटौंडामा नै सबै माला खपत हुने विश्वास व्यक्त गरे । हाल घलान परिवारले दैनिक सयवटासम्म माला बिक्री गरिरहेका छन् । बुधबार विश्व वातावरण दिवसको दिनमात्रै करिब डेढ सयवटा माला खपत भएको उनले सुनाए ।
वडाध्यक्ष घलानले फूलखेतीबाट मनग्य आम्दानी गर्न थालेपछि धेरैले खेती गर्ने तरिकाको बारेमा चासो राख्न थालेका छन् । घलानको फूलबारीमा दैनिकजसो अवलोकनकर्ता पुग्ने गरेका छन् । सहकारीकर्मी, राजनीतिज्ञलगायत सर्वसाधारण पनि उनको फूलबारीको अवलोकन गरी खेतीबारे चासो राख्ने गरेका छन् । “धेरैले मलाई चासो राखेर फूलखेती कसरी गर्ने भन्नेबारेमा सोध्न आउने गरेका छन्, मैले उहाँहरूलाई आफूले जानेको ज्ञान बाँड्ने गरेको छु,” घलानले भने ।
फूलखेतीबाट मनग्य आम्दानी भइरहे पनि समयमा फूलको माला समयमा नै बिक्री नभए घाटा हुने जोखिम पनि हुने उनले सुनाए । “अहिलेसम्म त्यस्तो परेको भने छैन तर, समयमा नै फूलको माग आएन भने त सुकेर जान्छ, घाटा लाग्ने सम्भावना पनि छ,” घलानले भने । फूलखेतीबाट राम्रो चर्चा र आम्दानी दुवै पाएका घलान अब तरकारी खेती पनि गर्ने सोचमा छन् । उनले पदमपोखरीमा नै रहेको जग्गामा टनेल बनाएर तरकारी खेती गर्ने योजना बनाएको बताए ।