हवाई मार्गले जोडेको गन्तव्यमा उडान ठप्प

सडक पहुँच नभएको हुम्लादेखि हिमाली जिल्लामा हवाइ मार्गले नै जोड्दै आएको छ । हवाई मार्ग भारी रकम भुक्तान गरेर पनि जान र आउन फलामको चिउरा चपाए झैँ हुँदै आएको छ ।
सडक यातायातको सहज पहुँच नभएको डोल्पामा जाने र आउने अधिकांश यात्रुले हवाई सेवा प्रयोग गर्दै आएका छन् । कर्णालीमा हवाई यात्रा विदेशी मुलुकमा जाने रकम भन्दा बढी कायम हुँदै आएको छ । जुम्ला, मुगु र हुम्लामा समेत हवाई यातायातको उस्तै समस्या छ । कर्णालीमा उडान भर्दै आएका निजी प्रदायक कम्पनीका हवाइ जहाजहरूले पूर्वतिर उडान भरेपछि यत्ता समस्या परेको हो । डोल्पाा ठूलीभेरी नगरपालिकाकी भीमा केसीले कर्णालीमा हवाई जहाज उडान भर्नका लागि पर्यटनमन्त्रीले ध्यान दिनुपर्ने सामाजिक सञ्जालमा पीडा पोखेकी छन् ।
लामो समयपछि नेपाल वायु सेवा निगमको जहाजले डोल्पामा सोमबार एक पटक मात्र उडान भरेको छ । कर्णालीमा सीता, तारा, समिट र नेपाल एयरलाइन्सले उडान भर्छन् । चाडबाडका बेला जहाज नै उपलब्ध नहुँदा यात्रुलाई सास्ती हुने गरेको छ ।
नेपाल एयरलाइन्सले पनि नियमित तालिका अनुसार उडान नगरिदिँदा यात्रुहरूले सास्ती भोग्नु परेको स्थानीयको गुनासो छ । जुम्ला सडक यातायातको पहुँचमा रहेपनि कर्णाली राजमार्गको स्तरोन्नति नहुँदा हवाइ यतायातकै बढी प्रयोग हुने गरेको छ । हरेक चाडबाडका बेला र पर्यटक आउने सिजनमा नेपाल एयरलाइन्सले पनि नियमित सेवा दिएको छैन । विशेषगरी निजी हवाइ कम्पनीका जहाज पनि दसैं तथा तिहारका बेला जुम्लामा उडान गर्दैनन् । जहाजहरू पर्यटक ओसार्ने भन्दै पूर्वतिर सारेपछि कर्णालीका जनता सेवाबाट वञ्चित भएका हुन् ।
हप्ता दिनअघि मात्र जुम्लास्थित जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले भने संस्कृति पर्यटन तथा यातायात मन्त्रीलाई कर्णालीमा नियमित उडान गर्नका लागि पहल गर्न माग गरिएको बताए । भौगोलिक रुपमा अत्यन्तै कठिन र सहज यातायात नभएको कर्णालीका हिमाली जिल्लाहरूको एक मात्र विकल्प हवाई यातायात सेवालाई लिइन्छ । यसैले पनि हवाई सेवा नियमित गर्नुपर्ने स्थानीय अगुवाहरूको माग छ ।