हिजोआज सम्पूर्ण बिमा कम्पनी र जनचेतनामूलक कार्यक्रमहरू पनि डिजिटलाइजेसनमा गइसकेकाले यसको चेतना दिनानुदिन अभिवृद्धि हुँदै गएको छ ।
जीवन बिमा आवश्यकता कि बाध्यता ?

“बेलुका कार्यालय सकिएर घर फर्किंदै गर्दा बाटोमा एक जना स्कुल पढ्दाको साथी अचानक भेट भयो र धेरै समयपछि भेट भएकाले गफ गरौं न भनेर नजिकैको एक कफी सपमा छिरियो । कफी आउन केही समय लागेकाले वेटर भाइसँग साथीले वाइफाइ पासवर्ड माग्यो र एक सेल्फी खिचेर फेसबुकमा पोस्ट्यायो । त्यत्तिकैमा एक जनाको स्टोरी क्लिक भयो, टिकटक रहेछ । इन्स्योरेन्समा काम गर्ने मान्छेसँग भेट भयो भने जिउनुभन्दा पनि मर्नु बेस बनाइदिन्छन् भन्ने अभिनय गरिरहेको पाएँ । आफू पनि बिमा क्षेत्रमा काम गर्ने व्यक्ति भएकाले मुसुक्क हाँसें । त्यत्तिकैमा उसले थप्दै भन्यो, “हो यार, बिमामा काम गर्नेसँग भेट्यो भने वाक्क लगाउँछन्, बिमा भनेर ? बाँच्नुभन्दा मर्नु बेस बनाइदिन्छन् ।” तर, मरेपछि डुमै राजा, केको बिमा न सिमा.. भन्दै अर्को प्रश्न तेस्र्यायो, “साँच्ची यार, तँ केमा पो काम गर्छस् ?” अब, म अक्क न बक्क परें, फेरि मलाई पनि साथीले टिकटककै पात्र बुझ्ने हो कि भनेर टक्क रोकिएर उसको उत्तर त्यतिखेर नै फर्काइनँ । बरु ऊजस्तो शिक्षित वर्गले बिमाप्रतिको नकारात्मक भाव कसरी आत्मसात् गरेछ, पहिला त्यो जान्ने इच्छा जाग्यो ।
उसलाई मैंले प्रश्न गरे, “साथी, तिमीले बिमा गरेका छौ ?” उसले “अँ गरेको छु नि, २ लाख बिमांकको ।” उसले जोड्दै भन्यो, “एउटा छिमेकी दाइले बिमाका बारे जहिल्यै गर्नु–गर्नु भनेर किचकिच गर्यो, मैले २ लाखको गरिदिएँ । त्यस्तै १३ हजारजति वार्षिक बिमाबापतको प्रिमियम तिर्छु ।” उसलाई तिमी के गर्छौ भनेर मैले सोधें । उसले एउटा कन्स्ट्रक्सन कम्पनीमा साथीहरूसँग मिलेर व्यवसाय चलाएको रहेछ । बैंकमा ऋण व्यक्तिगत २ करोड रहेछ । दिनरात देशका विभिन्न भागमा ठेक्कापट्टाको कामले हिँडिराख्दो रहेछ । मासिक लगभग ४ लाखजति कमाइ पनि हुँदो रहेछ ।
मैले उसलाई भनें, “तिम्रो जीवनको मूल्य केवल २ लाख पो ? तिमीलाई तलमाथि केही परे जम्मा तिम्रो परिवारले दुर्घटना जोखिम सुविधाअनुसार ४ लाखसम्म पाउँदो रहेछ । अनि बैंकमा ऋण धरौटीमा घरजग्गा सबै राखेर लिएका छौ, भोलि केही भएमा ४ लाखले बैंकको ऋणभार तिर्न पुग्छ त ? पूरा परिवार त सडकमा आउँछन्, विचार गर त ?” मैले भनेपछि मुख मलिनो बनाउँदै ‘मलाई के हुन्छ र ?’ भन्दै स्वर अलिक ठूलो बनायो । हुन त कोचाहिँ बिहान घरबाट निस्कँदा आज दुर्घटनामा परिन्छ होला ? आज दुर्घटनामा परें भने तलमाथि हुन सक्छ भनेर को निस्कन्छ होला र ? त्यत्तिकैमा दुई दिनअघि युट्युबमा भेटेको रोचक जानकारीले पुनर्ताजगी अभिवृद्धि गरायो । संसारमा वार्षिक लगभग १४ लाख मानिस दुर्घटनाको कारण मृत्यु हँुदो रहेछ । अनि नेपालमा हरेक दिन लगभग १० जना मानिसको दुर्घटनाबाट ज्यान जाँदो रहेछ । मृत्युको कारण हेर्ने हो भने लगभग ४ नम्बरमा चाहिँ सडक दुर्घटनाको कारण हुँदो रहेछ । त्यससँगै पनि सडक दुर्घटनाबाट पूर्ण अशक्त भएर जीवन जिउनेको संख्या उल्लेख्य रहेछ । तर, मुख्य चुरो कुरोचाहिँ यसरी दुर्घटनामा परी पूर्ण अशक्त भएमा मासिक भत्ता १० वर्षसम्म बिमा कम्पनीले दिने गरेका छन् र बिमितको बिमा शुल्क बाँकी अवधिमा नि:शुल्क गरिदिन्छन् भन्ने यसका सुविधाहरूले दुर्घटनाबाट हुने वित्तीय क्षतिपूर्तिको न्यूनीकरणलाई सहयोग पुर्याउन सकिन्छ नि भन्ने जुक्ति पनि सम्झायो ।
गफैगफमा कफी आइपुग्यो, माहोल अलिक भावुकतामा चलिरहेको थियो । बिमा मरेपछि मात्र होइन साथी, हिजोआज क्यान्सर, ओपन हर्ट सर्जरी, हृदयाघातजस्ता मानिसहरूमा देखिने धेरै घातक रोग लागेमा उपचार खर्च बिमाले दिन्छ भनेर सम्झाएँ । दुर्घटनाबाट मृत्यु नभई दुर्घटनाको कारण पूर्ण अशक्त भएमा अशक्त भत्ता सुविधा भनेर बिमा कम्पनीहरूले दिने गरेका छन् । त्यति मात्र कहाँ हो र ? कुनै–कुनै कम्पनीले त व्यक्तिगत दुर्घटना भएमा त्यसबापतको हस्पिटल खर्च सुविधा पनि दिन्छन् नि । ऊ अचम्म पर्दै मतिर फर्किएर भन्यो, “यति धेरै सुविधा हुँदा रहेछन्, मलाई त केवल बिमा गर्दा डबल आउँछ अनि मरेपछि डबल आउँछ छिमेकी दाइले भन्नुभयो । मैले साथीलाई त्यतिबेला नै रोकें, हेर साथी, यदि कसैले बिमा गर्दा डबल, त्रेबल भनेर भन्छ भने सबै गफ हो । बिमाको प्रतिफल, बोनस यसको बोनस दर र बिमा अवधिले निर्धारण गर्छ । तसर्थ, कम्पनीको बोनस यसको नाफासँग जोडिएको हुन्छ । विगतका कामको आधारमा नाफा/नोक्सान भन्न सकिन्छ, तर भविष्यबारे भन्न सकिन्न । तसर्थ, कसैले ठोकुवा भन्छ भनेचाहिँ त्यो मानिस कि जोतिषी हो, कि भगवान् । किनभने आज हामीले हाम्रो १ कठ्ठा जमिनमा १ सय मन धान फलायौं भने अर्को वर्ष १ सय मन नै फल्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । १ सय मनभन्दा कम वा बेसी हुन सक्छ । तसर्थ, बिमाको बोनसदर पनि कम्पनीले आर्जन गर्ने प्रत्येक वर्षको नाफा/नोक्सानको फरकले भिन्न हुन सक्छ । तर, बिमा समितिबाट स्वीकृति लिई निश्चित बोनस दर दिने र कम्पनीको अन्य नाफा/नोक्सानीमा सहभागिता नजनाउने प्रोडक्ट केही कम्पनीले सार्वजनिक गरेका पनि छन् । साथी, बिमाप्रतिको ध्यानाकर्षण रहेकाले अझै थपें, बिमाबाट मैले यति तिरें, यतिउति पाउनेवाला छु वा पाउँछु भन्नुभन्दा पनि भविष्य अनिश्चित छ, अनिश्चिततामा रहेको जोखिमलाई निश्चिततामा बदली वित्तीय जोखिम हस्तान्तरण गर्ने एक उपयुक्त उपकरण भनेर बुझ्दा प्रभावकारी होला । घरमा आम्दानी वा आय आर्जन गर्ने व्यक्तिलाई तलमाथि परे ऊसँग आश्रित परिवारको समृद्धि परिकल्पना, वृद्ध अवस्थामा पुग्दा आजको बचतले भविष्यको पेन्सन अनि आवश्यकता परे तीन वर्षपछि बिनाझन्झट, बिना अतिरिक्त शुल्क नतिरी न्यून ब्याजदरमा तुरुन्त पाइने ऋणजस्ता सुविधाहरूको सम्मिश्रण भनेर नि बुझ्न सकिन्छ । यस्ता बिमाका कैयांै घतलाग्दा र जीवनोपयोगी विशेषताहरू छन् ।
साथीले एक्कासि भन्यो, “यति धेरै सुविधा रहेछन्, मेरो लागि त बिमा धेरै जरुरी रहेछ । मैले बिमा त मेरो जीवनको मूल्यअनुसार गरेको पो रहेनछु । अनि, केही हुनैपर्छ भन्ने रहेनछ नि !” यो एक अनुशासनरूपी बचत पो रहेछ भनेर उसले बिमाको मुख्य मर्मस्पर्शी वाक्य भन्यो । मैले त्यसमा फेरि थपें, “साथी, मरेपछि पनि हाम्रो संस्कारमा पितृ कार्य गर्न धन सम्पत्ति चाहिन्छ नि । आफ्नो परिवारको लालपोषणको जिम्मेवारी चाहिन्छ नि ।” त्यत्तिकैमा उसले निधारमा लगाएको पहेंलो टीका हेरेर मुस्कुराउँदै भनें, “साथी, सोर्ह सरादचाहिँ मरेपछि नै गर्छन् है, मरेपछि पनि पुण्यका काम बाँकी हुन्छन् । तसर्थ, मरेपछि डुमै राजाचाहिँ भनिहाल्नु हुँदैन ।”
अब, ऊ बिमा गराउने सोचमा रह्यो । मैले भनें, तिम्रो टिकटको एक रमाइलो मात्र हो । मैले आफ्नो पेसागत परिचय दिएँ, म पनि जीवन बिमा कम्पनीमै काम गर्छु । साथीले हाँस्दै भन्यो, अघि नै किन नभनेको ? मैले भनें, यतिबेलासम्म तँलाई बिमाबारे चेतना जगाउन ।
यी र यस्ता घटनाहरू हाम्रो समाजमा घटेका पाइन्छन् । बिमाबारे नकारात्मक प्रचार र भ्रमले समग्र बिमा क्षेत्रमा वितृष्णा जगाइदिन्छ । तसर्थ, बिमाबारे डबल, त्रिबलजस्ता शब्दहरूभन्दा वित्तीय व्यवस्थापनको उपयुक्त उपकरण अनि वित्तीय जोखिमको हस्तान्तरणभन्दा उपयुक्त होला । बिमाबारे सत्य र यथार्थ जानकारी बिमा गर्ने बेलामै नगराइँदा र बिमित स्वयंको पनि सजगताको लापरबाहीले बिमाबापत प्राप्त हुने सुविधा उपभोग गर्दा दुवैको बुझ्ने र बुझाउने अनभिज्ञताले यसले बिमाप्रतिको छवि केही धमिलो बनाएको चाहिँ पक्कै थियो । तर, हिजोआज सम्पूर्ण बिमा कम्पनी र जनचेतनामूलक कार्यक्रमहरू पनि डिजिटलाइजेसनमा गइसकेकाले यसको चेतना दिनानुदिन अभिवृद्धि हुँदै गएको छ ।
तसर्थ, बिमा साथीले गर भन्दैमा गर्ने र नगर भन्दैमा पनि नगर्नेजस्तो करकापमा भन्दा पनि प्राप्त हुने सुविधाहरूबारे बुझेर गर्नु उपयुक्त हुन्छ । अझै पनि बिमा गर्ने ग्राहकहरू आफूले गरेको बिमा प्रोडक्ट के हो ? केके सुविधा उपभोग गर्न सकिन्छ, त्यसबारे अनभिज्ञता संख्या पनि धेरै छन् कि भन्ने लाग्छ । यसका लागि आफूले गरेका बिमा प्रोडक्टबारे प्रस्ट नभए बिमा कम्पनी जानेको संख्या नेपालमा धेरै कम छ भन्दा फरक नपर्ला ।
अन्त्यमा, बिमा एक वित्तीय व्यवस्थापनको सबैभन्दा राम्रो, उपयुक्त उपकरण भएकाले वास्तवमा बिमा एक अनिवार्य आवश्यकताबाहेक अरू केही हुन सक्दैन भन्ने बुझिन्छ । त्यही भएर ‘एक घर एक बिमा’ अवधारणा हाम्रो समाजको मुख्य आवश्यकता हो ।
(लेखक नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी, प्रदेश–१, विराटनगरका सचिव हुन् ।)