मुस्लिम आयोगले दियो दसैंको शुभकामना

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेपालमा हिन्दु–मुस्लिमबीचको द्वन्द्व चर्काउने प्रयास भइरहेको बताए ।
बिहीवार मुस्लिम आयोगको केन्द्रीय कार्यलयमा नै एक कार्यक्रमको आयोजना गरी आयोगले नेपालीहरूको महान चाड बडा दसैं एवं शुभ दीपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष अन्सारीले नेपालका केही जिल्लाहरूमा हिन्दु–मुस्लिमको सुमधुर सम्बन्ध र धार्मिक सहिष्णुतालाई खलल पुर्याउने प्रयास भइरहेको भन्दै यसबाट बच्न जरुरी रहेको बताए ।
उनले हिन्दु–मुस्लिमबीच झगडा नभइ प्रतिगामी तत्वहरूले धार्मिक सहिष्णुतालाई खलल पुर्याउन अवाञ्छनीय गतिविधि गरिरहेको आरोप लगाए । उनले मुस्लिम आयोगद्वारा शुभकामना आदानप्रदान कार्यक्रमले छुट्टै भिन्नता रहेको र यसले दुई धर्मबीचको सामाजिक सद्भाव, धार्मिक सहिष्णुतामा सहयोग पुग्ने बताए ।
अध्यक्ष अन्सारीले नेपाल हुभाषी, बहुजाति, बहुभाषि र बहु सांस्कृतिक देश भएकाले सबैले मिलेर समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई पूरा गर्नुपर्ने बताउनु भयो । आयोगले पहिलो पटक आयोगमा नै कार्यक्रम राखेर नेपालीहरूको महान चाड विजयादशमी, शुभदीपावलीको अवसरमा शुभकामना दिनु धार्मिक सहिष्णुताको उदाहरण भएको सहभागीहरूले बताए । कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, नेपाल प्रहरीका प्रतिनिधि, मानव अधिकार आयोगका प्रतिनिधि, राष्ट्रिय दलित आयोगका प्रतिनिधिहरूको उपस्थिति थियो ।