Logo

दक्षिण कोरियाले दुई अर्ब अनुदान दिने

दक्षिण कोरियाले आप्रवासी कामदारहरूको पुन:एकीकरणका लागि साइबर ब्यूरो स्थापना गर्न अनुदान उपलब्ध गराउने भएको छ ।
कोरियाबाट नेपाल फर्कने आप्रवासी कामदारहरूको स्थिर पुन:एकीकरणका लागि चरणबद्ध सहयोग प्रणाली सुदृढ गर्ने र नेपाल प्रहरीको क्षमता अभिवृद्धि सहितको साइबर ब्यूरोको स्थापना गर्न सो अनुदान प्रयोग हुने अर्थ मन्त्रालयले जनाएको छ ।
दुईवटै आयोजना कार्यान्वयनसम्बन्धी समझदारी पत्रमा अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत चोङ–सुक पार्कले हस्ताक्षर गरेका छन् ।
दुवै आयोजनाका लागि ८० लाख अमेरिकी डलरका दरले कोरिया सरकारले नेपाललाई करिब दुई अर्ब रुपैयाँ अनुदान सहायता उपलब्ध गराउनेछ । कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्थाले सम्बन्धित मन्त्रालय र अन्य सरकारी निकायहरूसँगको सहकार्य र समन्वयमा आयोजना कार्यान्वयन गर्ने सम्झौतामा उल्लेख छ ।
कोरियाबाट फर्कने आप्रवासीलाई सहयोग गर्ने उक्त आयोजनाले नेपालको सामाजिक–आर्थिक विकासमा योगदान पुर्‍याउने र कोरियाबाट फर्केका आप्रवासीको स्थिर पुन:एकीकरण र उनीहरूको उद्यमशीलता क्षमता अभिवृद्धि गरी रोजगारी वृद्धि गर्ने लक्ष्य राखेको छ । आयोजनाले नेपालमा कोरियाबाट फर्केका आप्रवासीको सूचनाको पहुँचमा वृद्धि गर्न र कृषि विकास बैंकमार्फत आर्थिक सहयोगमा पहुँच बढाउनका लागि एक सकारात्मक चक्र र सहयोग प्रणाली पनि सिर्जना गर्ने बताइएको छ ।
यस्तै साइबर ब्यूरो परियोजनाको मुख्य उद्देश्य नेपाल प्रहरीको साइबर अपराधविरुद्धको क्षमतालाई सुदृढ गर्नु रहेको छ । जसमा साइबर ब्यूरोको अत्याधुनिक भवन निर्माण, साइबर अपराध अनुसन्धानसँग सम्बन्धित उपकरण र डिजिटल फरेन्सिक ल्याब उपलब्ध गराउने र नेपाल प्रहरीको सम्बन्धित जनशक्तिको क्षमता अभिवृद्धि गर्ने योजना जनाइएको छ ।
अनुदान सम्झौता कार्यक्रममा अर्थ सचिव पुष्करले साइबर अपराधका बढ्दो घटना नियन्त्रण गर्न साइबर ब्यूरोलाई सक्षम र प्रविधि तथा स्रोतसाधन सम्पन्न बनाउनुका साथै कोरियाबाट फर्केका आप्रवासी कामदारलाई आफ्नो समाजमा स्थापित गर्न र नेपालमा रोजगारी बढाउनका लागि दुई परियोजना महत्वपूर्ण हुने बताए ।
राजदूत चोङसुक पार्कले विश्वभर बढ्दै गएको साइबर अपराधको दरप्रति चिन्ता व्यक्त गर्दै साइबर अपराध नियन्त्रण गर्न नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्न साइबर अपराध नियन्त्रण आयोजना महत्वपूर्ण सहयोग हुने बताए । उनले कोरियाबाट फर्किएका आप्रवासी सम्बन्धी आयोजनामार्फत ठूलो संख्यामा कोरियाबाट फर्किएकाले आफ्नो सीपलाई उपयोग गरी उद्यम स्थापनमार्फत रोजगारी सिर्जना गरी देशको आर्थिक वृद्धिमा योगदान पुर्‍याउन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्