लामाबगर सुरुङमार्ग डिजाइन तयार भएको ५ वर्षपछि अध्ययन

सरकारले तिब्बत सिमाना जोड्ने सडकको लामाबगरमा सुरुङमार्गको विस्तृत अध्ययन गरी निर्माण कार्य अघि बढाउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार बजेट प्रस्तुत गर्दै यसका लागि बजेटको व्यवस्था गरेका हुन् ।
अर्थमन्त्रीले प्रस्तुत गरेको बजेट वक्तव्यको पेज नं. ४३ को बुँदा नं. १८३ मा लामाबगर–उत्तरी सिमा सडकमा सुरुङमार्ग निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अघि बढाउन बजेट व्यवस्था गरेको उल्लेख छ । उक्त बजेटमा लामाबगरसहित सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकको सिद्धबाबा खण्ड सुरुङमार्ग निर्माण सुरु गर्ने उल्लेख छ । त्यसैगरी सम्भाव्यता अध्ययनका लागि टोखा–छहरे–गर्जेभञ्ज्याङ, खुर्कोट–चियाबारी, विपीनगर–खुटिया–दिपायल खण्ड, थानकाुट–चित्लाङखण्डका बारेमा उल्लेख छ । यी सुरुङमार्गका बारेमा अघिल्लो वर्षको बजेटमा पनि उल्लेख थियो ।
विस्तृत अध्ययन गरी डिजाइन तयार भएको ५ वर्षपछि सरकारको बजेटमा समावेस भएपछि लामाबगरमा सुरुङमार्ग बन्नेमा आशा बढेको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँधस्थल प्रभावित क्षेत्रमा बाहिरी सतहबाट सडक निर्माण जटिल भएपछि सुरुङमार्गको डिजाइन भएको हो ।
आयोजनाको बाँध क्षेत्रमा ९ सय मिटर सुरुङ बनाउनुपर्ने देखिएपछि त्यसको आयोजना आफैंले सडक विभागसँग समन्वय गरी सडकमा सी आधारमा सुरुङमार्ग निर्माण गर्ने गरी डिजाइन तयार गरी २०७१ को मंसिरमै प्रतिवेदन तत्कालिन भौतिक योजना तथा निर्माण मन्त्रालयमा बुझाएको थियो । तत्कालिन अवस्थामा ९ सय मिटर सुरुङमार्गका लागि २१ करोड रूपैयाँ लागत अनुमान गरिएको थियो । तर त्यो फाइल मन्त्रालयबाटै हराएपछि यो योजना अलपत्र थियो ।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको समन्वयमा सडक विभागले आयोजनाको निर्माण कम्पनी चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनमार्फत विस्तृत अध्ययन गराएको थियो । सडक अन्तर्राष्ट्रियस्तरको राजमार्ग हुने भएकाले त्यहीअनुसारको ट्राफिक सिग्नलसहितको दोहोरो गाडी चल्न सक्ने गरी सुरुङमार्ग निर्माणका लागि २१ करोड रूपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।
पछिल्लो पटक पुनः माथिल्लो तामाकोसी आयोजनासहित सरोकारवालाहरूले पुरानो डिजाइनलाई पुनरावलोकन गरी मन्त्रालयमा बुझाएको डिभिजन सडक कार्यालय दोलखाका प्रमुख धर्मेन्द्रकुमार झाले जानकारी दिए । पछिल्लो लागत अनुमान ५० करोडको भएको उनले बताए । बजेट व्यवस्थापन गरे तत्कालै सुरुङमार्ग निर्माण गर्न सकिने उनले बताए ।
भौगोलिक कठिनाइका कारण सडक निर्माण जोखिमपूर्ण भएपछि माथिल्लो तामाकोसी प्रभावित क्षेत्रको सडक आयोजनामार्फत नै सुरुङमार्ग निर्माण प्रक्रिया अघि बढाएको हो । आयोजनाको बाँध निर्माणको काम अहिले पूरा भएको छ । आयोजनाले सुरुदेखि नै बाँध क्षेत्रको सडकको ट्रयाक चाँडो खोल्न ७ वर्ष अघिदेखि सरोकारवाला निकायलाई आग्रह गर्दै आएको छ । बाँधमा पानी भरिएर आयोजना सञ्चालन भएपछि बाँध प्रभावित क्षेत्रमा सडक निर्माण जटिल हुने र त्यसले आयोजनाको बाँधलाई नै असर पार्ने आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।
चीन र भारतसँग छोटो दुरीमा जोड्ने तिब्बत सिमानादेखि भारतको भित्तामोठसम्मको यो सडक सबैभन्दा छोटो पर्नेछ । भारतीय सिमानादेखि लामाबगरसम्म पक्की सडक तयार भएर गाडी चलिरहे पनि लामाबगरदेखि चिनियाँ सिमानासम्मको सडकको ट्रयाक मात्र खोल्न बाँकी छ । फलाकसम्मको सडक १२ किलोमिटर तयार गरे तिब्बत सिमा पुग्न सकिन्छ ।
लामाबगरबाट तिब्बती सिमानासम्म १२ किलोमिटर दुरी छ । डिभिजन सडक कार्यालय चरिकोटले ठेक्का लगाएर ३ किलोमिटरको ट्रयाक खोलिसकेको छ । सुरुङमार्ग तयार भए त्यसभन्दामाथिको सडकको कामले पनि गति लिने डिभिजन प्रमुख झाले बताए । तिब्बतको फलाकसम्म यो सडक जोडिए भारतको भिट्टामोडसम्म २१० किलोमिटरमा चीन र भारत जोड्ने उत्तर दक्षिण लोकमार्ग तयार हुने छ ।
लामाबगरको कठिन भूगोलको सडक पूरा भए त्यसभन्दा माथि साँढे ३ सय मेगावाटका आधा दर्जन जलविद्युत् आयोजनाको काम पनि अघि बढ्ने छ । तिब्बत सिमानामा २ सय मेगावाटका २ वटा जलविद्युत् आयोजनाको प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) गरेर पनि सडककै कारण पूर्वाधारको काम गर्न सकेका छैनन् । डेढ सय मेगावाटका ३ वटा आयोजनाको पनि विस्तृत अध्ययन भइरहेको छ ।