‘तीन वर्षमा मुलुक विद्युतमा आत्मनिर्भर’ «

‘तीन वर्षमा मुलुक विद्युतमा आत्मनिर्भर’

ऊर्जा जलस्रोत तथा सिंँचाइमन्त्री पम्फा भुसालले आगामी तीन वर्षमा मुलुक पूर्णरूपमा विद्युतमा आत्मनिर्भर हुने बताएकी छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले जलविद्युतको विषयमा उठाएका प्रश्नको संसदमा जवाफ दिँदै मन्त्री भुसालले पछिल्लो समय तीव्ररुपमा जलविद्युतको विकास भइरहेकाले आगामी तीन वर्षमा मुलुक पूर्णरुपमा विद्युतमा आत्मनिर्भर हुने बताएकी हुन् । उनले चालू आर्थिक वर्षमा नेपालमा विद्युत आयातभन्दा विद्युत निर्यात बढी भई नेपाल खुद विद्युत निर्यातकर्ता देश बन्ने अवस्थामा पुगेको दाबी गरिन् । मन्त्री भुसालले नेपालले भारतको इनर्जी एक्सेन्ज बजारमार्र्फत ३ सय ६४ मेगावटसम्मको विद्युत खरिद बिक्री गर्ने गरेको बताइन् । उनले विद्युत प्राधिकरणले भारतमा निर्यात हुने विद्युत भारु पाँच रुपैयाँ ७१ पैसा प्रतियुनिटमा बेचिरहेको बताइन् । मन्त्री भुसालले विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा भारतमा तीन अर्ब ८४ करोडको विद्युत निर्यात गरेको भन्दै चालू आर्थिक वर्षको अन्त्यसम्म १६ अर्बको विद्युत निर्यात हुने प्रक्षेपण गरिएको बताइन् । उनले चालू आर्थिक वर्षको साउन महिनामा १ अर्ब ८४ करोड विद्युत निर्यात गरेको बताउनु भयो । मन्त्री भुसालले विद्युत निर्यातले भारतसँगको व्यापार घाटा कम गर्ने र नेपालीको विदेशी मुद्रा सञ्चितिमा थप योगदान पुग्ने बताइन् ।
मन्त्री भुसालले नेपालले वार्षिक रूपमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने राष्ट्रिय लक्ष्य पूरा गर्न पाँच वर्षमात्रै बाँकी रहेको बताइन् । उनले अहिलेसम्म विद्युत खरिद बिक्री सम्झौता र विद्युत उत्पादनको अवस्था हेर्दा पाँच वर्षमा उक्त लक्ष्य पूरा गर्न कठिन रहेको पनि बताइन् । उनले मुलुकमा विद्युत जडित क्षमता दुई हजार दुई सय मेगावाट पुगेको बताइन् । मन्त्री भुसालले गत आर्थिक वर्षमा सात सय मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको भन्दै चालू आर्थिक वर्षमा करिब आठ सय मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने प्रक्षेपण गरिएको बताइन् । मन्त्री भुसालले जलविद्युत उत्पादनलाई तीव्रता नदिने हो भने जलविद्युत उत्पादनको लक्ष्य पूरा गर्न नसकिने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्