५९ लाख लगानीमा ‘एक घर एक धारा’ «

५९ लाख लगानीमा ‘एक घर एक धारा’

तिला गाउँपालिका–८ जुम्लाकोटमा खानेपानीको समस्या चुलिँदै गएको थियो । पानीको स्रोत सुक्दै जानुका साथै २०५९ सालमा बनेको एक मात्र धारा जीर्ण बनेपछि जुम्लाकोटमा खानेपानीको हाहाकार थियो । एक गाग्री पानी भर्न पनि घण्टांै लाइन कुर्नुपर्ने, कहिले रित्तै घर फर्किनु पर्ने र पानीकै लागि आपसमा विवादसम्म हुन्थ्यो । सरसफाइ त परै जावस जुम्लाकोटबासीलाई ढुक्कले पिउन तथा खाना पकाउने पानीसमेत पुर्‍याउन कठिन थियो ।
आधारभूत आवश्यकता मानिने खानेपानीको अभाव वर्षांैदेखि झेल्दै आएको जुम्लाकोटबासीको तीतो अनुभव छ । कतिपय दिन बिहानदेखि बेलुकासम्म धाराकै बास हुन्थ्यो । जुम्लाकोटका स्थानीय धनलाल बस्नेत भन्छन्, “गाउँमा जनसंख्या बढ्दै गयो । पानीको स्रोत घट्दै गयो । भएको एउटा धारो पनि जीर्ण हुनुका साथै धारामा निकै सानो पानी आउँथ्यो । पानीलाई पनि तेलसरी प्रयोग गर्नुपर्ने हाम्रो बाध्यता थियो भने कहिलेकाहीं त आपसमा भरेको पानी बाँडेर गुजारा चलाउनु पर्ने अवस्था हुन्थ्यो ।”

१७२ घरमा खानेपानी धारा
संघीयतापछि आधारभूत आवश्यकता खानेपानीको पहुँचमा नपुगेको जुम्लाकोटमा वर्षौंपछि शुद्ध खानेपानी धारा घरघरमा छर्किएका छन् । १ सय ७२ घरधुरी रहेको जुम्लाकोट गाउँका सबै घरमा ‘एक घर एक धारा’ निर्माण भएका छन् ।
स्थानीयको समस्यालाई मध्यनजर गर्दै पेस नेपाल जुम्लाद्वारा सञ्चालित (क्याप्स) कर्णाली परियोजनामार्फत जुम्लाकोट गाउँमा ‘एक घर एक धारा’ निर्माण गरिएको पेस नेपाल जुम्लाका अध्यक्ष किशोर न्यौपानेले बताए ।
उनले भने, “पानीको चरम अभाव भोगेको जुम्लाकोट गाउँमा १ सय ७२ घरमा ‘एक घर एक धारा’ निर्माणपछि स्थानीय खुुसी छन् । घरघरमा मिटरसहितका धारा निर्माण भएका छन् । अहिले खानेपानीकै लागि गाग्री प्रदर्शन गर्नुपर्ने, घण्टांै लाइन कुर्नुपर्ने अवस्था छैन ।”
साथै ६९ लाख ९२ हजार रुपैयाँको लगानीमा ‘एक घर एक धारा’ निर्माण गरिएको छ भने २० घनमिटरका दुईवटा पानी ट्यांकीसमेत निर्माण भएका छन् । अब जुम्लाकोटका नागरिकले चौबिसै घण्टा शुद्ध खानेपानी घरमै पाउने छन् ।
अध्यक्ष न्यौपानेले थपे, “नजिक पानीको स्रोतनै नभएकाले मुस्किलले पानी गाउँमा पुर्‍याइएको छ । करिब १९ सय मिटरमाथिबाट खोलामा पानी झारेर १८ सय मिटर उकालो चढाएर जुम्लाकोट गाउँमा पानी पुर्‍याइएको हो । कसैले नचिताएको कामलाई कठिन परिस्थितिमा नागरिकलाई पानी खुवाउन सफल भएका छांै ।”
अहिले जुम्लाकोटका सबै १ सय ७२ वटै घरमा खानेपानीका धारा छन् । सबै धारामा चौबिसै घण्टा पानी आइरहन्छ । झन्डै दुई दशकसम्म भोगिरहेको खानेपानी समस्या बल्ल समाधान भयो । स्थानीय महिला सरस्वती बस्नेतले भनिन्, “अब खानेपानीका लागि गर्नुपर्ने दु:ख अन्त्य भयो । समयको पनि बचत हुने । पिउन, सरसफाइ गर्नुका साथै करेसाबारीमा सिँचाइसमेत हुने भयो । सबै मिलेर पानीको मुहान र धारा संरक्षणमा जुट्ने बेला आएको छ ।”
‘एक घर एक धारा’को अनुगमनका क्रममा खानेपानी घरघरमा पुगेपछि स्थानीयले राहत महसुस गरेको तिला गाउँपालिकाकी उपाध्यक्ष गोरीकला बुढाले बताइन् । विकास साझेदार संस्था पेस नेपालले खानेपानी निर्माणका लागि गरेको योगदानको प्रशंसासमेत गरिन् ।

प्रतिक्रिया दिनुहोस्