भीमसेन थापा गाउँपालिकाको सय दिने उपलब्धि सार्वजनिक

गोरखाको भीमसेन थापा गाउँपालिकाले सय दिने कार्यकालका उपलब्धि सार्वजनिक गरेको छ । पालिकाले एक औपचारिक कार्यक्रमको आयोजना गरी सय दिने उपलब्धि सार्वजनिक गरेको हो ।
यो अवधिमा गरिएको कार्यसम्पादनबाट भएका उपलब्धिलाई पालिकाले ६१ बुँदामा समेटेर सार्वजनिक गरेको हो । जसअनुसार ज्येष्ठ तथा अशक्त नागरिकको स्वास्थ्य परीक्षणका लागि घरदैलोमार्फत मासिक रूपमा स्वास्थ्यकर्मी परिचालन, बूढिगण्डकी वृद्धाश्रमका वृद्धवृद्धाका लागि हरेक शनिबार स्वास्थ्य सेवा प्रदान, ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रममार्फत आठवटै वडामा गर्भवती महिलाका लागि नि:शुल्क भिडियो एक्सरे सेवा प्रदान, स्वास्थ्यकर्मीलाई तालिम दिइएको उल्लेख छ ।
यस्तै, सामुदायिक विद्यालयका छात्रालाई सेनटरी प्याड वितरण, ६८ वर्ष पुगेकालाई स्वास्थ्य बिमामा नाम दर्ताका लागि सहयोगी परिचालन, बैंकसँगको सहकार्यमा वडागत रूपमा भत्ता वितरण, विद्युतीय प्रणालीबाट भुक्तानी सुरु गरिएको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जराले जानकारी दिए । गाउँपालिकालाई स्वच्छ तथा हरियाली बनाउन खान्चोकदेखि घ्याम्पेशालसम्म सडक किनारमा वृक्षरोपणलगायतका कार्यक्रम गरिएको छ । पालिकाभित्र स्थायी र अस्थायी रूपमा बसोबास गर्दै आएका कोभिड–१९ अतिप्रभावित विपन्न ४ सय ५३ परिवारलाई १० हजार रुपैयाँका दरले ४५ लाख ३० हजार रुपैयाँ उपलब्ध गराइएको, अश्राङ स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १० शैयाको आधारभूत अस्पताल सञ्चालनका लागि २२ जना कर्मचारीको दरबन्दी स्वीकृत गरिएको, जनताका सवालजवाफ र गुनासो सुनुवाइ गर्न गुनासो चौतारी नाममा कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष बञ्जाराले जानकारी दिए ।