विद्युतीय सवारीसाधन बाहेक आयात नै गर्न नपाउने नियम अवलम्बन गर्न सुझाव

वरिष्ठ कलाकार हरिवंश आचार्यले सरकारले अब विद्युतीय सवारीसाधन बाहेकका सवारीसाधन आयात नै गर्न नपाउने नियम अवलम्बन गर्नुपर्ने बताएका छन् ।
शुक्रबार नेपाल विद्युत् प्राधिकरणले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विद्युतीय सवारीको भन्सार घट्यो भने कर्मचारीहरूलाई तलब दिने पैसा हुँदैन भन्ने सोचेर सरकारले विद्यतीय सवारीको कर बढाइरहेको बताए । उनले विद्युतीय सवारीसाधनको कर बढाउँदा आफूले विद्युतीय सवारी चढ्न नपाएको गुनासो गरे ।
उनले सरकारले विद्युतीय सवारीको कर बढाएकै कारण आफ्नो विद्युतीय सवारी किनेर चढ्ने सपना पूरा हुन नसकेको र घरमा पनि श्रीमतीले हरेक दिन सरकारले भन्सार घटाएन भन्ने प्रश्न गरिरहेको भन्दै व्यंग्य गरे । वरिष्ठ कलाकार आचार्यले सरकारले विद्युतीय गाडीको भन्सार घटाइ डिजेल र पेट्रोलको खपतलाई कम गर्न आवश्यक रहेको बताए । उनले देश विकासका लागि सरकारले दीर्घकालीन योजना बनाउन आवश्यक रहेको पनि बताए । वरिष्ठ कलाकार आचार्यले सार्वजनिक यातायात पूर्णतया विद्युतीयकरण हुनसके मात्रै खर्बौं रकम विदेश जानबाट रोकिने दाबी गरे ।
वरिष्ठ कलाकार आचार्यले नेपालले युवाको ऊर्जा बेचेर नभइ विद्युतीय ऊर्जा व्यापार गरेर देशलाई समृद्धिको दिशामा अघि बढाउने कुरामा जोड दिनुपर्ने बताए । उनले नेपालको निर्यात र आयातको स्थिति राजमार्ग हेरेर थाहा हुने व्यंग्य गर्दै देब्रे तिरको बाटोभन्दा दायाँ तिरको बाटोमा खाल्डो पर्ने गरेर निर्यात गर्न जरुरी रहेको बताए । उनले पछिल्लो समय विद्युतको माध्यमबाट नेपालमा शुभ संकेत देखिन थालेको भन्दै बिजुलीको विकाससँगै नेपालको औद्योगिक विकास पनि शुरु हुने विश्वास पलाएको बताए । वरिष्ठ कलाकार आचार्यले देशको विकासका लागि विद्युत्को व्यपार बाहेकको विकल्प नरहेको भन्दै ठूला जलविद्युत बनाउनु हुँदैन भन्ने कुराको भ्रममा नपर्न आग्रह गरे । उनले आफ्नै देशमा भएको विद्युत खपत बढाएर देशलाई संसारको सबैभन्दा विकसित देशको दाँजोमा उभ्याउन सक्नुपर्ने बताए ।
फरक प्रशंगमा उनले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई प्राधिकरणमा पुन: नियुक्ति गर्दा अहिले नेपालले विद्युत व्यपार गरिरहेको र उनको काम प्रशंसायोग्य रहेको बताए । उनले विद्युतको क्षेत्रमा भएको उपलब्धि घिसिङका कारण सम्भव भएको भन्दै राम्रो व्यक्तिलाई सबैले आफूतिर लैजाने गरेको बताए । उनले नेकपा (माओवादी केन्द्र) ले काठमाडौंबाट आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बनाउन लागेको भन्ने चर्चाप्रति इंगित गर्दै राम्रो मान्छेलाई लैजाने भन्ने हल्ला सुनेको छु, भन्दै शुभकामना व्यक्त गरे ।
वरिष्ठ कलाकार आचार्यले दशौं लाख युवाहरूलाई हामीले विदेशमा निर्यात गरेर आएको रेमिटेन्सबाट देशको अर्थतन्त्र अघि बढाउने परिपाटीको अन्त्य हुन आवश्यक रहेको बताए ।