तातोपानी नाका सञ्चालनमा सडक नै बाधक «

तातोपानी नाका सञ्चालनमा सडक नै बाधक

चीनसँगको तातोपानी नाका यही साताभित्र सञ्चालन हुने भएको छ । जेठ १७ गतेबाट नाका सञ्चालन हुने भएपछि स्थानीयस्तरमा चहल–पहल सुरु भएको छ ।
नाका सञ्चालनका लागि दुवैदेशको सिमा मितेरी पुलको पुनर्निर्माणको काम अन्तिम अवस्थामा पुगेको छ । नाकासम्मको सबैभन्दा बढी क्षति भएको सडक सुधारका लागि नेपाल र चीनको दुवै देशका सरकार मिलेर काम गरिरहेका छन् ।
नाका सञ्चालन हुने भएपछि सुरक्षा अवस्थाका लागि सरकारको माथिल्लो निकायबाटै भ्रमण भएको छ । गृहमन्त्री रामबहादुर थापा आफैंले स्थलगत भ्रमण गरी फर्केका छन् । नेपाल पट्टीको सडक मर्मत तथा पहिरो रोकथाम तत्कालका लागि अन्तिम चरणमा पुगेको छ ।
२०७२ सालको विनाशकारी भूकम्पले क्षति पु¥याएको अरनिको राजमार्गअन्तर्गत दोलालघाटदेखि कोदारीसम्मको ५९ किलोमिटर सडकका विभिन्न खण्डमा मर्मत तथा पहिरो रोकथामको काम सुरु गरेको डिभिजन सडक कार्यालय चरिकोटले गरिरहेको छ । सुख्खा बन्दरगाह पनि तयार भएको छ ।
अब यो नाका अत्याधुनिक रूपमा सञ्चालन गर्न लागिएको हो । नाका सञ्चालनका लागि जति उत्साह छाएको देखिएको तर त्यो भन्दा बढी तातोपानीसम्मको सडक हेरेर फर्केपछि भने निराश हुनुपर्ने अवस्था देखिन्छ । यसले तत्काल सञ्चालन गरिए पनि यो नाका वर्षायामसम्मका लागि मात्र हो कि भन्ने आशंका देखिन्छ ।
काठमाडौंदेखि ९० किलोमिटर (लार्चा) सम्मको सडक सडक विभागले गर्ने र त्यसभन्दा माथि २४ किलोमिटर चिनियाँ पक्षले मर्मत गर्ने सहमति अनुसार काम भयो । तर अहिले लार्चाभन्दा माथिको सडकमा पहिरो पन्छाएर ट्रयाक खोल्नेबाहेकको काम नभएको डिभिजन सडक कार्यालय चरिकोटका इन्जिनियर गागलकुमार भण्डारीले बताए । “लार्चा पुलसम्मको सडक डिभिजन सडक कार्यालय चरिकोटले गर्ने र त्यसभन्दा माथि सिमासम्मको सडक चिनियाँ टोलीले नै गर्ने मन्त्रालय तहमा कुरा भएको हो,” उनले भने, “हामीले पनि लार्चासम्म मात्र काम ग¥र्यौं, अहिले उतापट्टी हेर्दा काम खासै भएको देखिएन ।” उतापट्टीको सडक यही अवस्थामा रहने हो भने वर्षामा गाडि चल्न मुस्किल हुने उनले बताए ।
डिभिजन सडक कार्यालय चरिकोटले लार्चासम्मको कामका लागि तीन प्याकेजमा ठेक्का लगाएर काम सुरु गरेको छ । गत माघबाट सुरु भएको ठेक्का सम्झौता ३ महिनाभित्र काम पूरा गर्ने गरी फाष्ट ट्रयाकमा काम भएको थियो । पहिरो रोकथामका लागि १२÷१२ करोडका तीन प्याकेजमा ठेक्का लगाइएको थियो । भण्डारीले भने, “सडक डिभिजनले हेरेकोतिर कालोपत्रेको कामसमेत सुरु भइसकेको छ ।”
२०७१ सालको जुरेको पहिरो र २०७२ सालको विनाशकारी भूकम्पपछि अरनिको राजमार्गको जुरे, कोठे, बलेफी, जम्बु, सकुवा, डाक्लाङलगायतको सडक खण्डमा पहिरो तथा बाढीले क्षति पु¥याएको थियो । विनाशकारी भूकम्पका कारण नेपाल पट्टी सिन्धुपाल्चोकको बाह्रविसे, तातोपानीलगायतका क्षेत्र र चीनको लिपिङ, खासामा समेत ठूलो क्षति पुगेपछि तातोपानी नाका बन्द भएको थियो । २०७३ साउनमा आएको बाढीले तातोपानी क्षेत्रमा झन् ठूलो क्षति पु¥याएको छ ।
डिभिजन प्रमुख धर्मेन्द्र झाले नाका खोल्ने सरकारको तयारीअनुसार उच्च प्राथमिकता दिएरै काम गरेको बताए । अरु समस्या विस्तारै समाधान हुँदै जाने भए पनि अहिलेलाई नाका सञ्चालन हुनु नै सबैभन्दा ठूलो उपलब्धि भएको उनले बताए ।
अहिले पनि फुलपिङकट्टी (लार्चा) खोलामा बेलिब्रिज पुल राखेर सडक सुचारु भएपछि वर्खामा पनि खासै समस्या नहुने उनले बताए । लार्चादेखि लिपिङसम्म सडक सबैभन्दा बढी क्षति पुगेको थियो ।
भूकम्प जानुअघिसम्म १४ अर्बको लागतमा धुलिखेलदेखि कोदारीसम्मको सडक विस्तारको काम पनि चीन सरकारले नै गर्ने समझदारी भएको थियो । उक्त सडक नाका बन्द भएसँगै स्थगित भएको छ । तर काम कहिलेदेखि सुरु हुने भन्ने जानकारी नआएको सडक डिभिजन कार्यालय दोलखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्