‘वाह ! अलैंची’ अभियान सफल पार्ने प्रतिवद्धता

नेपाल अलैंची व्यवसायी महासंघले कृषि मन्त्रालय, प्रदेश–१ र स्वीस सरकार विकास सहयोग (एसडिसी) को सहयोग र, होटल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा सुरु गरेको वाह अलैंची अभियान सफल बनाउन सबै एकजुट हुने प्रतिवद्धता जनाइएको छ ।
झापाको बिर्तामोडमा नेपाल अलैंची व्यवसायी महासंघले आयोजना गरेको वाह अलैंची अभियानबारे अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताले अभियान सफल बनाउने प्रतिवद्धता जनाएका हुन् ।
नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष भट्टराईले पूर्वी नेपालको पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङलगायत दर्जनौँ जिल्लामा अलैंचीको उत्पादन हुँदै आएपनि नेपालमै खपत कम भएपछि घरेलु तथा व्यावसायिक उपभोक्तामा नेपाली अलैंचीको प्रयोग र उपभोगमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले वाह अलैंची अभियान सुरु गरिएको बताए ।
प्रदेश–१ का कृषि मन्त्री झलकसिंह दर्लामीले नेपाली अलैंचीलाई घरेलु बजारमा प्रवद्र्धन गर्नका लागि आफू लागिपर्ने बताउँदै प्रदेश सरकारले यसका लागि बजेटसमेत विनियोजन गरेको जानकारी दिए ।
त्यस्तै प्रदेश –१ कृषि मन्त्रालयका सचिव मेघनाथ तिम्सिनाले नेपाली अलैंचीको आन्तरिक खपत बढाउन विशेष कार्यक्रम ल्याइने बताए । नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष टीकाराज ढकालले भारतलगायत अन्य मुलुकबाट शतप्रतिशत आयात हुने सुकमेलको आयात रोकेर नेपाली अलैंचीको प्रयोग घरेलु बजारमा बढाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा ‘वाह अलैंची’ अभियानका ‘ब्रान्ड एम्बेसडर’ मास्टर सेफ सन्तोष साहले पूर्वी नेपालको पहाडी जिल्लाका कृषकको आम्दानीको मुख्य स्रोत अलैंची भएपनि बहुउपयोगी अलैंचीको घरेलु उपभोग र बजार प्रवद्र्धन हुन नसकेको बताए । खानेकुरालाई स्वस्थ र स्वादिलो बनाउन अलैंचीको विश्वभर प्रयोग भइरहेपनि नेपालमै यसको उपभोग न्यून भएकाले अलैंचीको घरेलु खपत बढाउन ‘वाह अलैंची’ अभियानमा आफू जोडिएको उनले बताए ।
‘वाह अलैंची’ अभियानका ‘ब्रान्ड एम्बेसडर’ भएपछि आफूले झापा र इलामका अलैँची कृषक, व्यवसायी र होटलका कुकहरूसँग भेटघाट र अलैंची खेती अवलोकन समेत गरेको बताए ।
चिया, खाना, तरकारी, मासु, माछालगायत भान्साका हरेक वस्तुमा अलैंचीको प्रयोग गर्न सकिने हुँदा घरेलु बजार प्रवद्र्धनका लागि वाह अलैँची नामक किताब प्रकाशन गर्ने, अलैंची प्रयोग गरिएको खानेकुरा प्रदर्शनी गर्ने र होटलका कुकसँग अन्तरक्रिया गर्ने कार्यक्रम अघि बढाएको उनले जानकारी दिए । साहले नेपाली अलैंचीलाई घरेलु बजारमा प्रबर्द्धन गर्न नेपाली अलैंचीलाई नयाँ तरिकाले प्रयोग गरी विशेष परिकार रेसिपीहरू पनि तयार गर्ने जानकारी दिए ।
नेपाल अलैंची व्यवसायी महासंघका संस्थापक अध्यक्ष राजेन्द्रप्रसाद घिमिरेले अलैंचीको घरेलु खपत बढाउन ‘वाह अलैंची’ अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै अभियानले नेपाली अलैंचीको परम्परागत मूल्य र नेपाली परिकारमा यसको प्रयोगलाई महत्वपूर्ण सामग्रीका रूपमा बढाउने मात्र नभएर आर्थिक गतिविधिसमेत बढाउने विश्वास व्यक्त गरे ।
स्वीस सरकारको सहज प्रोजेक्टका टीम लिडर रिक भेन्टर क्याम्पले नेपाली अलैंचीको घरेलु खपत बढाउन आफूहरुले ‘वाह अलैंची’ अभियानका ‘ब्रान्ड एम्बेसडर’ मास्टर सेफ सन्तोष साहमार्फत विभिन्न कार्यक्रम सञ्चालन गरिने बताए । नेपाली अलैंचीको आफ्रनै ब्राण्ड बनाएर विश्व वजारमा बजारीकरण गर्न आफूहरुले सहयोग गर्ने उनले बताए ।