मजदुरका गुनासा सुन्न कल सेन्टरमा श्रममन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रालयको कल सेन्टरमा बसेर ६ जना श्रमिकहरुको गुनासो सुनेका छन् ।
श्रममन्त्री कुँवरले प्रत्येक आइतबार प्रत्यक्ष रुपमा श्रमिकहरूको गुनासो सुन्ने कार्ययोजना अनुसार पहिलो दिन ६ जना श्रमिकको गुनासो सुनेका छन् । उनले विदेशमा श्रम गर्न गएका श्रमिकको विदेशमा नै मृत्यु भएर ल्याउन नसकेको, मलेसिया तथा अन्य देशमा जान म्यानपावरहरुले लाखौं रकम लिएको लगायतका गुनासो प्रत्यक्ष रुपमा सुनेका छन् ।
मन्त्री कुँवरले अब प्रत्येक आइतबार बिहान १ बजेदेखि १२ बजेसम्म प्रत्यक्षरूपमा स्वदेश विदेशमा रहेका श्रमिकसँग कुरा गरेर उनीहरुको चासो, गुनासो, समस्या र सुझाव सुन्ने बताए । उनले श्रमिकको गुनासो सुन्दै विदेश जाने श्रमिकलाई ठगी गर्नेलाई पीडितले प्रमाणसहित ल्याए तत्काल कानून अनुसार कारबाही गर्ने बताए । उनले १० वर्ष अगाडि ठगी गर्नेसमेत पक्राउ गर्ने काम भएको भन्दै ठगी गर्ने क्षणिक समयको लागि राम्रो भएपनि अन्त्यमा कानूनको कठघरामा ल्याउने अश्वासन दिए ।
मन्त्री कुँवरले मन्त्रालयको कल सेन्टरमा बसेर काठमाडौं भन्दा बाहिर नगएको अवस्थामा निरन्तर रुपमा गुनासो सुन्ने बताए । उनले कुनै कामको थालनी अन्त्य गर्नको लागि नभइ जनतालाई सहज र निरन्तरता दिनको लागि सुरुवात गरिने दाबी गरे । उनले मन्त्रालयले विदेशमा जाने श्रमिकको गुनासो सुन्न र आएका उजुरी समाधान गर्ने गरेको बताए । उनले धेरै श्रमिकका उजुरीहरु सम्बोधन गर्ने काम भएको र थोरै मात्र बाँकी रहेको बताए । मन्त्री कुँवरले श्रम स्वीकृत नगरी विदेशमा पुगेका, विदेशमा नै मृत्यु भएकालाई नेपाल ल्याउन केही कानूनी जटिलता रहेको बताए । उनले त्यो जटिलता समाधान गर्न मन्त्रालय कानून निर्माणमा पनि लागेको बताए ।
मन्त्रालयका सचिव एकनारायण अर्यालले मन्त्रालयको कल सेन्टरमा दैनिक स्वदेश तथा विदेशबाट २०० वटा उजुरी आउने गरेको बताए । उनले मन्त्रालयले उजुरी छनोट गरेर प्रहरी र विभिन्न विभागमा सम्बोधनको लागि पठाउने गरेको बताए । उनले कल सेन्टरमा आएका उजुरीको आधारमा पछिल्लो चार महिनामा ३० करोड रुपैयाँ असुल गरेको दाबी गरे ।