डीपीआरविपरीत ६ लेन सडकमा जतासुकै लिंक खुला «

डीपीआरविपरीत ६ लेन सडकमा जतासुकै लिंक खुला

पथलैया–वीरगन्ज व्यापारिक मार्ग आयोजनाले व्यक्तिगत तथा व्यावसायिक प्रभावमा परी ६ लेन सडकको हाइवेमा डीपीआरविपरीत सडक लिंक खोलेको छ ।
डीपीआरमा तोकिएबाहेक आयोजनाको मिलोमतोमा ५७ स्थानमा व्यक्तिको घर, जग्गा, व्यावसायिक स्थानको अगाडि ६ लेन सडकको हाइवेमा लिंक खोलिएको हो । डीपीआरले निश्चित गरेको स्थानबाहेक जताततै सडक लिंक खोलेपछि हाइवेमा जोखिम बढेको छ ।
जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुदर्शन थापाले हाइवेमा लिंक सडक खोलिएका होटल, पम्प, निजी कलेज, पसल, गोदामबाट निस्कने सवारी र हाइवेमा कुदेका सवारीबीच दुर्घटना तथा मानवीय क्षति हुने खतरा बढेकोे बताए ।
पैसा र पहँुच हुनेको हकमा आयोजनाले लिंक खोल्न अनुमति दिएको तर आवश्यक स्थानमा सामान्य व्यापार गर्नेको हकमा लिंक नखोलेको भन्दै यसअघि जनप्रतिनिधि तथा स्थानीयले विरोध गरेका थिए । आयोजनाको डीपीआरमा प्रत्येक दुई किलोमिटरमा ६ लेन सडकबाट सर्भिस लेन हँुदै निस्कने एकमात्रै लिंक छ ।
अन्तिम चरणमा रहेको आयोजनाको उक्त सडक खण्ड नेपालकै आर्थिक राजधानी वीरगन्ज नाकाबाट दैनिक दुई हजार बढी नेपाली तथा भारतीय ठूला मालवाहक सवारीले प्रयोग गर्नेछन् ।
आयोजनाका प्रवक्ता इन्जिनियर संजीवकुमार गुप्ताले आवश्यकबाहेकका स्थानमा खोलिएको लिंक अनुमति नलिएरै बनाएको हुँदा सबै बन्द गरिने बताए ।
दुई वर्षमा सम्पन्न गर्ने गरी ६ वर्षअघि नेपाल सरकारले सडक विभागलाई जिम्मा लगाएको आयोजना कर्मचारीकै कारण पटकपटक विवादित बन्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्