Logo

सिसाको पुलसहित साइकल मार्ग निर्माण गरिने

पर्यटकीय नगरीका रुपमा विकास हुँदै गरेको इलामको सूर्योदय नगरपालिकामा नयाँ साइकल मार्ग निर्माण हुने भएको छ । नगरपालिकाले सिसाको पुलसहितको साइकल मार्ग निर्माण गर्ने भएको हो ।
नगरपालिकाको ७ करोड ५० लाख, प्रदेश–१ सरकारको नवप्रवद्र्धन साझेदारी कोषको १ करोड ५० लाख, वित्तीय हस्तान्तरणअन्तर्गत समपुरक अनुदानको १ करोड लागतमा कूल १० करोडमा निर्माण हुनेछ । ११ जेठमा नगरपालिका र नवप्रद्र्धन साझेदारी कोषबीच सम्झौता भएपछि मार्गको प्रारम्भिक काम सुरु भएको सूर्योदय नगरपालिकाका आर्किटेक तथा सो कार्यक्रमका फोकल पर्सन सिजन गदालले जानकारी दिए ।
सूर्योदय नगरपालिकाको कन्यामस्थित डुँडे गैरादेखि ऐतिहासिक खलंगा रहेको पूर्णे डाँडासम्म साइकल मार्ग निर्माण हुने कार्यपालिका सदस्य तथा प्रवक्ता ख्याम भुजेलले जानकारी दिए । उनका अनुसार सुरुमा परियोजनाको कूल लागत ७ करोड ५५ लाख अनुमान गरेपनि (ग्लास व्रिज) को लागत बढ्ने भएपछि परियोजनाको लागत १० करोड पुग्ने छ । सो मार्गले स्थानीय ४ हजार ८७५ परिवारको आयआर्जनमा सहयोग पुग्ने बताइएको छ ।
एक वर्षभित्रमा सञ्चालमा आउने सो मार्ग निर्माण भएपछि देशभरका साइकलयात्रीले इलामको सौन्दर्य हेर्दै नागवेली पथमा यात्रा गर्न पाउने छन् । साइकल मार्ग १२ किलोमिटर लामो हुने छ । कन्याम हाल पनि निकै पर्यटक आउने गन्ब्यका रुपमा परिचित छ । हाल यहाँ हजारौं पर्यटकहरु आइरहेका छन् । थप साइकल मार्ग भएपछि अन्य पर्यटकको समेत वृद्धि हुने अपेक्षा लिएको छ ।
नयाँ पर्यटकीय गन्तब्यका रुपमा नगरलाई विकास गर्न नयाँ कार्यको सुरुवात भएको प्रवक्ता भुजेलको भनाइ छ । यस मार्गमा नेपालका मात्र नभएर सिमा पारीका पर्यटकहरु आउने विश्वास लिइएको छ । सूर्योदय नगरपालिका भारतसँग सीमा जोडिएको नगरपालिका पर्दछ । सोही कारण हाल भारतका धेरै पर्यटक यहाँ आवज जावत गरिरहेका छन् । साइकलका सौखिनहरु यहाँ आउने भएकाले पनि साइकल मार्ग निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
परियोजनाअन्तर्गत नगरपालिकाको मानेडाँडामा एक सय ५० मिटर लामो ग्लास ब्रिज निर्माण निर्माण गरिने बताइएको छ । सो क्षेत्र लोपउन्मुख लेप्चा समुदायको बसोबास रहेको क्षेत्र हो । लेप्चाहरुको बसोबास भएकाले धेरै यहाँ सो समुदाय सम्बन्धी खोज तथा अनुसन्धानका लागि यहाँ आउने गरेका छन् । सोही कारण परियोजना अन्तर्गत लोपोन्मुख लेप्चा जातिको संग्राहालयसमेत स्थापना गरिने छ । परियोजनाले मन्यूमेन्ट पार्क, हेल्थ पार्क, चारवटा शौचालय निर्माण गर्ने योजना रहेको छ ।
साइकल मार्गको सौन्दर्यका लागि बीचमा सिसाको पुल निर्माण गरिने छ । सो यस क्षेत्रकै नयाँ र नौलो भएकाले पनि सो क्षेत्रमा रमाउन पर्यटकहरु आउने बताइएको छ । सूर्योदयमा धेरै साइकल यात्रीहरु छन् ।
१२ महिना नै यातायात सञ्चालन हुनेगरीको सडक निर्माण गर्नुपर्ने भएपनि यस्ता कार्यले जनताको जिवनस्तर नउकास्ने तर्क गर्दै आएका छन् । तर साइकल पदमार्गसँगै यहाँ नयाँ साइकलयात्री मात्र नभएर नगरपाकिा भित्र नै पर्यटकको वृद्धि हुने भएकाले यस्ता कार्यको विरोध गर्न नहुने एक स्थानीयको बुझाइ छ ।
साइकल मार्ग जिल्लाकै नयाँ परियोजना भएको बताइएको छ । जिल्लामै पर्यटकका लागि नयाँ प्रोडक्टको रूपमा विकास गर्न सकिने यो कार्यक्रमलाई नगरपालिकाले नै सञ्चालन गर्ने बताइएको छ । यो साइकलमार्ग निर्माण भएपछि नेपाली साइकल यात्री नभएर बिदेशबाट समेत पर्यटक आउने बताइएको छ । यो परियोजना सँगै पर्यटकीय क्षेत्रमा अन्य नयाँ कार्यक्रमहसमेत सञ्चालन गर्दै लैजाने नगरको योजना रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्