नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेको दावी «

नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेको दावी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालले उड्डयन सुरक्षाको क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताएका छन् ।
नेपाल हवाई यातायात नियन्त्रक संघको २१औं वार्षिक साधारणसभामा मन्त्री श्रेष्ठले नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेकाले युरोपियन युनियन (ईयू) को हवाई प्रतिबन्ध सूचीबाट छिट्टै हट्ने विश्वास व्यक्त गरे । नेपालको हवाई सुरक्षा मापदण्ड कार्यान्वयनबारे अन्तर्राष्ट्रिय प्रतिवेदनमा ‘विश्वको औसतभन्दा राम्रो’ अवस्था देखिएको चर्चा गर्दै मन्त्री श्रेष्ठले ईयूले आफ्नो निर्णयबारे पुनर्विचार गर्ने बताए ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)को परीक्षणमा नेपालको उड्डयन सुरक्षा मापदण्ड कार्यन्वयनको औसत दर ७०.१ प्रतिशत देखिएको थियो । ईयूको प्रतिनिधिमण्डल छिट्टै नेपाल आएर स्थलगत अनुगमन गरी हवाई प्रतिबन्ध सूचीसम्वन्धि निर्णय पुनर्विचार गर्ने मन्त्री श्रेष्ठको दावी छ । ईयूको हवाई प्रतिबन्ध सूचीमा रहनु नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठासँग जोडिएको विषय रहेको भन्दै मन्त्री श्रेष्ठले प्रतिबन्ध फुकुवासँगै नेपाली विमान युरोपको आकाशमा उड्न पाउने बताए ।
सन् २०१३ यता ईयूले हवाई प्रतिबन्ध सूचीमा नेपाललाई राखेको छ भने आईकाओले सन् २०१७ देखि प्रतिबन्ध फुकुवा गरेको छ । मन्त्री श्रेष्ठले हवाई सेवालाई सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउन सरोकारवाला सबै जिम्मेबार हुनुपर्ने बताए ।
हवाई उड्डयन क्षेत्र प्राविधिक र विशिष्ट प्रकृतिको भएकाले हवाई यातायात नियन्त्रकको भूमिका महत्वपूर्ण हुने मन्त्री श्रेष्ठको भनाइ छ । कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरलगायतलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्