Logo

नेपालले श्रम क्षेत्रमा गरेका प्रयास उल्लेख्यः आईएलओ उपमहानिर्देशक तोमोको

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का उपमहानिर्देशक तथा एसिया प्रशान्त क्षेत्रका निर्देशक तोमोको निशिमोतोेले नेपालको सामाजिक, आर्थिक तथा श्रम बजारमा भएका सुधारहरूको प्रशंसा गरेकी छिन् ।
सामाजिक न्याय र मर्यादित कामको वकालत गर्ने अग्रणी संयुक्त राष्ट्रसंघको विशिष्टीकृत संस्था आईएलओले सय वर्षगाँठ मनाउने क्रममा आफ्नो चार दिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार बैंकक प्रस्थान गर्नुअघि सो धारणा व्यक्त गरेकी हुन् । भविष्यमा कामका स्वरूपलाई मानव केन्द्रित बनाउनुपर्ने विषयमा जोड दिँदै आईएलओले सरकार, रोजगारदाताहरू तथा श्रमिकहरूका संघसंगठनहरूलगायत अन्य सरोकारवालासँग मिलेर आफ्नो शताब्दीवर्ष मनाइरहेको छ ।
प्रविधिहरूले रोजगारीमा ल्याएका परिवर्तनहरूले गर्दा नयाँ सीपहरूको खाँचो बढेको, कतिपय अवस्थामा परम्परागत रोजगारीहरू विस्तापित हुँदै गएको परिपेक्षमा सबैका लागि सामाजिक न्याय र मयादित कामको सुनिश्चितताका लागि असामान्य मेहनत आवश्यक रहेको निशिमोताले बताइन् ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको शिष्टाचार भेटघाटमा उनले उज्वल भविष्यका लागि काम विषयमा विज्ञहरू सम्मिलित अन्तर्राष्ट्रिय आयोगले प्रतिवेदन दिएको र आगामी जुनमा जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनले त्यसमा बृहत् बहस गर्ने जानकारी दिइन् । यसैगरी प्रधानमन्त्री ओलीले नेपालले न्यूनतम ज्याला वृद्धि गरेको, योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रमको थालनी गरेको र श्रम बजारलाई जनमुखी बनाउन नयाँ कानुनहरू ल्याएकाबारे अवगत गराए ।
यसैगरी निशिमोतोले अर्थमन्त्री युवराज खतिवडा र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँगको छुट्टाछुट्टै भेटघाटमा नेपालको श्रम बजार, सामाजिक सुरक्षा, रोजगारी सिर्जनालगायत श्रम प्रशासनको सशक्तीकरणबारे छलफल गरिन् । आसियान मुलुकहरूले मर्यादित काम र रोजगारीमा गरेको प्रगतिबारे पनि उनले उल्लेख गरिन् । नेपाल सरकारसँग मिलेर रोजगार प्रवद्र्धनका क्षेत्रमा थप प्राविधिक सहयोग गर्न आईएलओ तयार रहेको पनि निशिमोतोले बताइन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव महेशप्रसाद दाहालले वरिष्ठ आईएलओ अधिकारीलाई नेपालको सन्दर्भमा महत्व राख्ने आर्र्ईएलओका केही महासन्धि अनुमोदन गर्ने सम्भावना रहेको जानकारी दिए ।
आईएलओका उपमहानिर्देशक तथा एसिया प्रशान्त क्षेत्रका निर्देशक, निशिमोतोले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणालगायत विभिन्न ट्रेड युनियनका प्रतिनिधिहरूसँग श्रम, रोजगार सिर्जना र चुनौतीहरूबारे छलफल गरेका थिए । आफ्नो १०० वर्षगाँठ मनाउने क्रममा आईएलओले काठमाडौंमा सोमबार कार्यक्रम गर्दै सामाजिक न्याय र मर्यादित कामका लागि सबै पक्षको थप सहयोग रहेको औंल्यायो ।

 

प्रतिक्रिया दिनुहोस्